सभापतिमा सघाउने शर्तमा आफू इतरकालाई मन्त्री बनाउँदै  देउवा

गठबन्धन सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने चर्चा छ । आजसम्ममा मन्त्री हुनेहरूको नाम टुंगो लगाउन उनले गठबन्धनका अन्य दलहरूलाई आग्रह पनि गरेका छन् ।

उनी नेतृत्वको कांग्रेसबाट पनि आजै मन्त्रीहरूको नाम टुंगिने सम्भावना रहेको नेता भीष्मराज आङदेम्बेले बताए । हालसम्म कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर खड्का, परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री उमेश श्रेष्ठ छन् । उनीहरू सबै देउवानिकट नै हुन् ।

थपिने मन्त्रीहरू पनि अधिकतम भए निकटका, नभए आगामी महाधिवेशनमा सहयोग गर्न प्रतिबद्ध सांसदहरू हुने अवस्था रहेको देखिन्छ । ‘महाधिवेशन आउन लागेकोले फेरि सभापति पदमा उहाँ (शेरबहादुर देउवा) को लड्ने चाहना छ, त्यही भएर महाधिवेशनमा पछि सहयोग गर्नुहोस्, मन्त्री बनाइदिउँला भनेर साथीहरूलाई भनेका रहेछन्’, संस्थापनइतर पक्षका एक सांसदले फरकधारलाई भने । 

कांग्रेसको भागमा आठ मन्त्रालय परेको छ । जसमध्ये रक्षा, उद्योग, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालयका लागि मन्त्री छान्नुपर्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ ।

पौडेल पक्षको बैठक जारी

मन्त्रालय आजै टुंगो लगाउने तयारीपछि पौडेल पक्षीय नेताहरू पौडेल निवास बोहराटारमा छलफलमा जुटेका छन् । नेता बलबहादुर केसीले पार्टीबाट हुने मन्त्रीलगायत विषयमा छलफल भइरहेको बताए ।



बैठकमा नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायत सहभागी छन् ।

पौडेल पक्षबाट मन्त्री हुँदा डा. रिजाल, दिलेन्द्रप्रसाद बडुलगायतको नाम मन्त्रीका लागि चर्चामा छ ।



सिटौला पक्षलाई एक मन्त्री

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट एक जनालाई मन्त्री बनाउने भएका छन् । उनले सांसद उमाकान्त चौधरीलाई मन्त्री बनाउने भएका हुन् । उनी पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री हुन् ।

सरकारमा मधेसको भूगोलबाट प्रतिनिधित्व गराउन पनि देउवाले चौधरीलाई मन्त्री बनाउन लागेका हुन् । सिटौला पक्षलाई कांग्रेसमा तेस्रो धार मानिन्छ । आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनमा सहयोग गर्न सक्ने भएपछि सिटौला पक्षलाई मन्त्रिपरिषदमा समावेश गर्न देउवा सकारात्मक भएको चर्चा छ ।

सिटौला पक्षबाट चौधरीसँगै भीमसेनदास प्रधानको पनि नाम मन्त्रीका लागि चर्चामा थियो । प्रधान पूर्व रक्षामन्त्री हुन् । पार्टीको १३ औँ महाधिवेशनको दोस्रो चरणमा सिटौलाले देउवालाई सहयोग गरेका थिए । पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि अन्तिममा सिटौलाको सहयोग देउवालाई भएको थियो । 

यसपटक पनि देउवा-सिटौला सरकारमा मात्रै नभइ पार्टी महाधिवेशनमा पनि सहयोग हुन सक्ने राजनीतिक विश्लेषक दुर्गा सुवेदी ठान्छन् । 

महिला तथा बालबालिका मन्त्रीमा भुसाल

कांग्रेस संघीय संसद्को सचेतक पुष्पा भुसाल पनि मन्त्री बन्दै छिन् । उनी संस्थापन अर्थात् सभापति देउवा पक्षबाट महिला तथा बालबालिका मन्त्री बन्ने भएकी हुन् । 

देउवा सरकारमा हाल नेकपा (माओवादी केन्द्र) बाट पम्फा भुसाल मन्त्री छिन् । समावेशी मन्त्रिमण्डलका लागि पनि उनले पुष्पालाई मन्त्री बनाउन चाहेको उनीनिकट स्रोतले बताउँछ । 

कानुन नेकपा (एस) लाई पर्दा ज्ञानेन्द्रको के होला?

२९ असारमा प्रधानमन्त्री देउवाले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर खड्का भए । 

हाल उनी सञ्चार तथा सूचनाप्रविधि मन्त्रीको भूमिकामा पनि छन् । तर, मंगलबार सत्तारुढ गठबन्धनका घटकहरूबीच मन्त्रालय भागबण्डा हुँदा उक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय नेकपा (एस)लाई पर्‍यो ।

यससँगै मन्त्री खड्कालाई देउवाले कुन मन्त्रालयको जिम्मेवारी देलान् भन्ने टुंगो लाग्न सकेकाे छैन । खड्का देउवाका विश्वाश पात्रमध्येका नेता हुन् । 
 

  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १६:११:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया