एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करण अन्तर्गत बुधबार भएको एलिमिनेटरमा विजयी हुँदै भैरहवा ग्लाडियटर्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । उसले काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गरेको हो ।
भैरहवा दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १७२ मात्र बनाउन सक्यो । अशान प्रियन्जन उत्कृष्ट प्रदर्शन गरे पनि अन्य ब्याट्सम्यानको राम्रो साथ नपाउँदा काठमाडौं पराजित हुन पुगेको हो ।
१७ औँ ओभरको चौथो बलमा धम्मिका प्रसादले बोल्ड गराउनुअधि असानले ४८ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा ६८ रनको पारी खेले ।
जनक प्रकाशले २८, अमित श्रेष्ठले १९ र दिनेश अधिकारीले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भैरहवाका कुशल मल्ल, आरिफ शेख र धम्मिका प्रशादले २/२ विकेट हात पार्दा दुर्गेश गुप्ताले १ विकेट लिए । १ विकेट रनआउटका रूपमा प्राप्त भयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।
भैरहवाका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४९ रनको योगदान दिए । २० औँ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले अमरसिंह रउटेलाबाट क्याच गराउनुअघि उनले २० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे ।
प्रदीप ऐरीले ३९,उपुल थरंगाले ३५ र कुशल मल्लले ३२ रन बनाए । काठमाडौंका असान प्रियन्जन र सन्दीप लामिछानेले २/२ विकेट हात पार्दा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशको नाममा १/१ विकेट रह्यो । १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
भैरहवाले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । हारसँगै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।