सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि धनगढीमा सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । प्रदेश खेलकुद परिषद्को आयोजनामा ९ जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताए । ‘राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी गर्ने छैन,’ उनले भने, ‘सुदूरपश्चिम सरकारले खेलकुदको विकासका लागि कार्यकालको सुरुवातबाटै मुख्यमन्त्री कपको आयोजना गरेको थियो । त्यसपछि अहिले ८८ वटै स्थानीय तहमा खेलकुद परिषद्को संरचनाको कामलाई तीव्रता दिएको छ ।’
प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको मुख्यमन्त्री भट्टको दाबी छ ।
उद्घाटन समारोहमा प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन खेलकुद परिषद्लाई थप सक्रिय बनाउने काममा प्रदेश सरकार लागिपरेको बताए ।
प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार असोज २३ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ । प्रदेशका ९ वटा जिल्लाका टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद १ लाखसहित ट्रफी दिइने प्रदेश खेलकुद परिषद् सदस्य सचिव दीपकबहादुर सिंहले बताए ।
उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइनेछ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५–२५ हजार नगदसहित ट्रफी दिइनेछ भने विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।
टिम छनोटका लागि जिल्लाहरुलाई सुरुमा ५० हजार दिइएको थियो । प्रतियोगितामा सहभागी सबै टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले बहोेर्ने सदस्यसचिव सिंहले बताए ।
सुदूरपश्चिममै पहिलोपटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । उनले ती खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।