नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा व्यक्तिवाद हाबी भएको भन्दै सिंगो पार्टी नै कब्जामा राखेको आरोप लगाएका छन् ।
सुदूरपश्चिमका एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै नेपालले सो कुरा बताएका हुन् । साथै, उनले जोशीको नयाँ यात्रालाई ओली गुटले अवरोध सिर्जना गर्नसक्ने पनि बताए ।
‘नयाँ यात्रा प्रारम्भ गर्नुभएको छ । त्यो नयाँ यात्रामा पहिलो अवरोध केपी ओली गुटले सिर्जना गर्नेछ’, नेपालले भने, ‘ केपी ओली किन सबै हिसाबले कम्युनिस्ट आन्दोलनबाट, आदर्शबाट च्युत भइसके भन्ने सत्यतथ्य जानकारी गराउनुपर्नेछ । भ्रमलाई चिर्नुपर्ने र अवरोधहरुलाई हटाउनपर्नेछ । सम्पूर्ण रुपमा च्युत भएको औपचारिक रुपमा हेर्नमात्र बाँकी छ ।’
ओलीलाई सुधार्न नसकिने अवस्थामा आफूहरु पहिल्यै पुगेको बताउँदै नेपालले भने, ‘हामी पहिल्यैदेखि ओलीलाई सुधार्न सकिँदैन भन्ने ठाउँमा पुगेका थियौं । केपी ओलीमा व्यक्तिवाद चरम रुपमा विद्यमान भएको, गुटवाद चरम रुपमा विद्यमान भएको, निरकुंश शैली विद्यमान भएको, सबै हिसाबले वैचारिक विचलनको दिशामा अघि बढेको, राष्ट्रियताको मामिलामा आत्मसमर्पणको नीति लिएको, यी सबै कुराले गर्दा एमालेमा ठूलो अन्तसंघर्ष लामो समयसम्म चलेको थियो ।’
पार्टीको अन्तसंघर्ष सामना गर्न नसकेको भन्दै उनले अघि भने, ‘त्यसको सामना गर्ने आँट ओलीमा भएन । अनि उनले केन्द्रीय कमिटी नै विघटन गर्ने तहमा पुगे । सिंगो पार्टी नै कब्जामा राख्न पुगे । त्यहाँ सामूहिकता नामको कुनै चिज छैन, छलफल भन्ने छैन । एउटा व्यक्तिको प्राइभेट कम्पनीको रुपमा रुपान्तरित हुन थालेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।