एभरेस्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायरमा भैरहवाले पोखरा राइनोजलाई १२० रनको विजयी लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनायो ।
उसका लागि कप्तान शरद भेषवाकरले ३३ बलमा सर्वाधिक अविजित ३२ रन बनाए । आरिफ शेखले २४ बलमा एक छक्का र एक चौकाको सहयोगमा २७ रनको योगदान दिए । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले आज ओपनिङ गरेका छन् । उनले ओपनिङमा प्रदीप ऐरीलाई साथ दिए ।
१७ बलमा १८ रन जोड्दै पोखराले रोहित पौडेल (१८ रन) लाई क्याच आउट गर्दै पहिलो सफलता हात पारेको थियो । त्यस्तै, दोस्रो सफलताको रूपमा पोखराले ऐरीलाई ११ रनमा आउट गर्न सफल भयो । किशोर महतोको बलमा रिर्चड लेभीको क्याचले गर्दा ओपनरद्वय ब्याट्सम्यान आउट भएका हुन् ।
नियमित ओपनर तमिम इकबाल चोटका कारण फिट नभएपछि रोहितले ओपनिङ गरेका थिए । तीव्र गतिका बलर किशोर महतोको पाँचौं ओभरको दोस्रो बलमा रोहित ठूलो सट खेल्ने धुनमा एज लागेर रिचर्ड लेभीबाट १८ रनमा क्याच आउट हुन पुगे । रोहितले १७ बलमा २ छक्का प्रहार गरे ।
पाँच ओभरमा २ विकेट लिँदै पोखराले लगातार दबाबमा राख्यो । चौथो ब्याट्सम्यानका रुपमा शार्विन मुनिअन्दी आएका हुन् । उनी ३ रनमा नै आउट भए । त्यस्तै पाँचौ ब्याट्स्म्यानका लागि आएका कुशल मल्ल १ रनमा समेटिए ।
उपुल थरंगालाई ऋतु गौतमले क्याच आउट गरे । उनी जम्मा १० रनमा नै समेटिए । थरंगा आउट भएपछि भने भैरहवाको टोली केही तनावमा देखिएको थियो ।
छैटौं विकेट गुमाएपछि भने भैरहवाले केही शान्त खेल्यो । रन रेटको आधारमा स्लो देखिए पनि कप्तान शरद भेषवाकरले सम्हालिएको ब्याटिङ गरे ।
पोखराका कप्तान विनोद भण्डारीले खेल अघि मिडीयासँग १४० मा समेट्ने लक्ष्य बताएका थिए । तर, पोखराले सोचेको भन्दा २० रन कममा नै भैरहवा रोकिएको छ ।
आजको क्वालिफारमा विजयी हुने टोलीले शनिबार फाइनलमा चितवन टाइगर्सको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।