ओलीको अनुकूलताका लागि मन्त्रिपरिषद् बैठक पनि बालुवाटारमा

काठमाडौं– आज बिहान साढे १० बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । 

विगत दुई दिनदेखि रुघाखोकीले सताएपछि प्रधानमन्त्री ओली निवासमा आराम गरिरहेका छन् । दसैं, तिहार तथा छठको उपलक्ष्यमा सत्तारुढ नेकपाले आयोजना गरेको चियापानमा पनि उनी सरिक हुन सकेका थिएनन् । 

चियापानमा उनी ३ बजे आउने बताइएको भए पनि अन्तिम समयमा उनले महासचिव विष्णु पौडेलमार्फत चियापानमा आउन नसक्ने जानकारी गराएका थिए । 

प्रधानमन्त्री सचिवालयका अनुसार उनलाई डाक्टरले भीडभाडमा सरिक नहुन सुझाएका कारण चियापानमा सरिक नभएका हुन् । संयोजक अधिकारीका अनुसार उनको स्वास्थ्यमा केही सुधार आएको छ । 

फरक धारसँगको कुराकानीमा उनले भने, ‘उहाँको स्वास्थ्यमा सुधार आएको छ । बिहान साढे १० बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक दिउँसो साढे २ बजे बालुवाटारमा बोलाइएको छ ।’ 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएरै बालुवाटारमा बैठक बोलाइएको हो भन्ने फरक धारको प्रश्नमा अधिकारीले भने, ‘मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको अनुकूलतामा बस्ने बैठक हो । उहाँको स्वास्थ्य सुधारोन्मुख भएकाले नै बैठक बस्न लागिएको हो । उहाँको अनुकूलताका लागि बालुवाटारमा बैकठ बोलाइएको हो । अरु केही होइन ।’



प्रधानमन्त्रीको सचिवालयले आधिकारीक रुपमा उनको स्वास्थ्यको जानकारी भने दिएको छैन ।
 



  • प्रकाशित मिति : कात्तिक ११, २०७५ आइतबार १२:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया