कांग्रेस हाइकमाण्डको निर्देशनको बिरोधमा अधिकांश कांग्रेसकै प्रदेशसभा सदस्य

नेपाली कांग्रेसको ‘हाईकमाण्ड’ले प्रदेश १ को मुख्यमन्त्री दावी नगर्न नेपाली कांग्रेस संसदीय दललाई दवाव दिएपछि कांग्रेसभित्र खटपट सुरु भएको छ ।

ठूलो दलको हैसियतले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने सम्भावना हुँदाहुँदै समाजवादीलाई मुख्यमन्त्री दिन दवाव दिएपछि नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले केन्द्रको निर्णयको बिरोध गरेको छ ।

संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने सम्भावना हुँदाहुँदै पनि अन्य दललाई नेतृत्व दिन दवाव दिएकोमा बिरोध गरेको हो ।

बिहीबार साँझ बसेको बैठकमै सहभागी अधिकांश प्रदेशसभा सदस्यहरूले केन्द्रले दवाव र निर्देशन दिए पनि प्रदेश १ मा कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्नेमा जोड दिएका छन् ।

अधिकांश सांसदहरूले केन्द्रले गरेको निर्णयमा आपत्ति जनाएपछि प्रदेश १ संसदीय दलको बैठकले  आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि विपक्षी गठबन्धनसँग वार्ता गर्न समिति समेत गठन गरेको छ ।

समितिमा संसदीय दलका नेता  राजीव कोइराला, उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, संसदीय दलका सचिव चुमनारायण दवदार, सांसद शेखर थापा र बिन्दीया कार्की छन् ।



बैठकले  कांग्रेस नेतृत्वको सरकार बनाउने बारेमा सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको संसदीय दलका नेता राजिव कोइरालाले बताए ।

प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले नै लिनु पर्ने सबै सांसद एक मत देखिएका छन् ।



तर केन्द्रले भने नेतृत्व छाड्न दवाब दिएको कोइरालाले बताए । 

संसदीय दलको बैठकमा बोल्दै कोइरालाले भने, ‘बैठकमा सहभागी सांसदहरूले आफूहरूकै नेतृत्वमा सरकार बनाउनु पर्ने धारणा राखेका छन् ।’

प्रदेश १ मा एमालेपछि कांग्रेस दोस्रो ठूलो दलको रूपमा रहेको छ । कांग्रससँग २१ जना प्रदेश सभा सदस्य छन्  । 

ठूलो दलको हैसियतले आफूहरूले नै सरकार बनाउन पर्ने कांग्रेस सांसदको एक स्वर छ ।

‘सरकार बन्दै गर्दा सरकारको नेतृत्व कांग्रेसले पाउनु पर्ने निर्णय भएको छ, बैठकमा सहभागी एक सांसदले भने, ‘पहिलो चरणमा कांग्रेस नेतृत्वको सरकारको हुनु पर्ने त्यसो नहुँदा आलोपालोमा भएपनि हुनुपर्ने भन्ने बारेमा छलफल भएको छ ।’

नेपाली कांग्रेस संसदीय दलको बैठकमा एकल वा आलोपालोमा पनि कुरा नमिल्दा तेस्रो विकल्पको पनि खोजी हुन सक्ने ती सांसदको भनाइ छ । उनले एमालेले मुख्यमन्त्री दिए एमालेसँग पनि गठबन्धन हुन सक्ने कुरामा जोड दिए ।

कोइरालाले भने यस बारेमा निर्णय भइनसकेको जानकारी दिए ।  केन्द्रीय नेतृत्वको गठबन्धनले प्रदेश १ र बागमती प्रदेशको नेतृत्व नेकपा समाजवादीलाई दिने निर्णय भएको भन्दै नेतृत्व दावी नगर्न भनिएको संसदीय दलका नेता राजिब कोइरालाले बताए ।

हाइकमाण्डको निर्देशन समाजवादीलाई मुख्यमन्त्री दिन भनिएको भएपनि प्रदेशका अधिकांश सांसदहरूले भने आफूहकै नेतृत्वमा सरकार बनाउनु पर्ने धारणा राखेको कोइरालाले बताए । 

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १२:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया