एजेन्सी– कुनै पनि व्यवसाय गर्ने व्यक्तिको पहिलो लक्ष्य हुन्छ, पैसा कमाउने । यसका लागि एउटा टिमले नै व्यवसायलाई सपोर्ट गरिरहेको हुन्छ । तर, सबै व्यवसायी त्यो टिमलाई उत्तिकै ‘भ्यालु’ गर्दैनन् जति गुजरातका हिरा व्यापारी सावजी ढोलकिया गर्छन् ।
ढोलकिया त सबै व्यवसायीका लागि उदाहरण हुन् । किनकि उनी आफ्ना कर्मचारीलाई वर्षेनी बोनसका रुपमा कार र घर, गहना र अन्य बहुमूल्य सामान उपहारस्वरुप दिन्छन् । उनले यस्ता महङ्गा गिफ्ट विशेषगरि तिहारको समयमा दिन्छन् ।
हरिकृष्ण एक्सपोर्ट प्राइभेट लिमिटेडका अध्यक्ष सावजी ढोलकियाले यो वर्ष पनि तिहारमा ६ सय कर्मचारीलाई महङ्गा गाडी दिँदैछन् । सन् २०१५ मा पनि उनले ४ सय ९१ गाडी र २ सय फ्ल्याट आफ्ना कर्मचारीलाई दिएका थिए । त्यसअघिका वर्षमा पनि उनले करोडौँ रुपैयाँ कर्मचारीलाई गिफ्ट दिन बाँडेका थिए ।
अब यो वर्षका लागि उनले यति धेरै उपहार दिने कुरा गत बुधबार नै सार्वजनिक गरिसकेका छन् । यो घोषणा गर्ने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए । त्यही कार्यक्रममा उनले केही कर्मचारीलाई गाडीहरु पनि दिए ।
केही महिना अगाडि पनि ढोलकियाले हरिकृष्ण एक्सपोर्ट कम्पनीमा काम गरेका २५ वर्ष पुराना तीन कर्मचारीलाई मर्सिडिज कार उपहार दिएका थिए । कर्मचारीलाई प्रोत्साहित गर्न बहुमूल्य समान उपहार दिएको ढोलकिया बताउँछन् ।
‘जुन कर्मचारीसँग घर छैन उनीहरुलाई घर, जोसँग घर छ उनीहरुलाई गाडी र जोसँग दुवै छ उनीहरुलाई गहना वा अन्य सामान गिफ्ट दिने हो,’ ढोलकिया भन्छन्, ‘कर्मचारीको कार्यसम्पादनअनुसार उनीहरुलाई के उपहार दिने भन्ने तय गरिन्छ ।’
ढोलकियाले कम्पनीका लागि एउटा नियम बनाएका छन् । उनले सबै कर्मचारीलाई टार्गेट सेट गर्छन् । जसले टार्गेट पूरा गर्छ, ती कर्मचारीलाई प्रोत्साहनस्वरुप उनी केही न केही दिन्छन् । कति कर्मचारीलाई त उनले मुद्दती खातामा थुप्रै रकम जम्मा गरिदिएका छन्, कतिलाई जीवन विमा गराइदिएका छन् । उनी कम्पनीलाई आफ्नो मात्र नभएर कर्मचारीको हो भन्ने धारणा प्रस्तुत गर्छन्, कतिलाई सुरक्षित भविष्य बनाउन सहयोग गर्छन् ।
ढोलकियाको कम्पनीमा अहिले सात हजार कर्मचारी छन् । यो कम्पनीले वार्षिक आठ हजार करोड भारतीय रुपैयाँको कारोबार गर्छ । कम्पनीले भारतमा मात्र होइन, अन्य ८० देशमा पनि हिराको कारोबार गर्ने गरेको छ ।
यति ठूलो र सफल व्यवसाय चलाएका ढोलकिया चाहिँ पाँच कक्षामात्र पढेका हुन् । सन् १९६२ मा जन्मिएका उनी आफ्नो सफलताको श्रेय मेहनेतलाई दिन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।