हाम्राे स्वास्थ्य
सरुवा राेग विशेषज्ञका सुझाव– जाडाे लाग्दै छ, यी राेगबाट यसरी सचेत रहनुस्
यसरी सतर्क रहनुहोस्

जाडो मौसमको सुरुवात भइसकेको छ । मौसम परिर्वतनसँगै मानिसलाई लाग्ने रोग पनि फरक हुने गर्छन् । मौसम परिवर्तनका कारण मानिसको शारीरिक स्थितिमा निकै परिवर्तन आउँछ । जसका कारण विभिन्न समस्या भोगिरहनुपरेको हुन्छ । मानिसले स्वास्थ्यमा ध्यान नपुर्याउँदा जाडो मौसममा रुघाखोकी, श्वासप्रश्वाससमबन्धी समस्या, झाडापखला, छालारोगलगायत समस्या उत्पन्न हुने बताउँछन्, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । बालबालिका, बुढाबुढी, दीर्घरोगी र गर्भवती महिलामा प्रतिरोधात्मक क्षमता कम हुने हुन्छ । त्यसैले यस्ता व्यक्तिको स्वस्थ्यमा विशेष ख्याल राख्नुपर्ने हुन्छ । 

रुघाखोकी 

साधारणतया मौसम परिवर्तनसँगै सबैजसो मानिसमा रुघाखोकी देखापर्दछ । त्यसो त यो सामान्यतया आफैँ पनि निको हुने रोग हो । कुनै संक्रमित व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा, बोल्दा, मुखबाट निस्किने तरल पदार्थका कणहरू हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । 

तर, स्वाइन फ्ल्, बर्ड फ्लुजस्ता भाइरसको संक्रमणका कारण लाग्ने रुघाखोकी जटिल रोग हो । डा. पुन भन्छन्, ‘सामान्य रुघाखोकीको दाँजोमा फ्लु कडा खालको रोग हो, जसका कारण ज्वरो आउने, टाउको धेरै दुख्ने, सुक्खा खोकी लाग्ने, शरीर धेरै सिथिल हुने गर्दछ ।’

रुघाखोकी सामान्य हो कि जटिल खालको फ्लु हो भनेर छुट्याउनको लागि र्याल, नाक वा घाँटीको श्राव ल्याबको परीक्षणबाट निक्र्याेल गर्नुपर्ने हुन्छ । यो रोग लाग्नुभन्दा पहिले नै सावधानी अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुन्छ । डा. पुन भन्छन्, ‘बढी भिडभाड भएको ठाँउमा जाँदा बढी संक्रमित भइने हुँदा नाक, मुखमा हात लैजान हुँदैन ।’ 

रुघाखोकीबाट बच्ने अर्को उपाय भनेको खोपको प्रयोग गर्नु हो । जुन खोप जताजतै पाइन्छ । खोपचाहिँ जाडो सिजन सुरु हुनुभन्दा दुई हप्तापहिले नै लगाउनुपर्छ । दीर्घरोगी, संक्रमित बिरामी वा बालबालिकालाई ध्यान दिनुपर्दछ । 



रुघाखोकी लाग्दा पटक–पटक साबुनपानीले हात धुने, नाक–मुख छोपेर हिँड्ने, नाक मुख पुछ्नुपर्दा रुमाल प्रयोग गर्ने, त्यसैैगरी संक्रमित व्यक्तिबाट टाढै रहनुपर्ने डा. पुनको सुझाब छ । 

डेंगु 



मौसम परिवर्तन सँगसँगै लामखुट्टेबाट लाग्ने डेंगु रोग पनि सक्रिय हुन्छ । जुन एसिड एजेप्टाई नामको प्रजाति हो । डा. पुन भन्छन्, ‘त्यस्तो लामखुट्टेले टोक्दा आँखा दुख्ने, अत्यधिक मात्रामा ज्वरो आउने, शरीरमा स–सना फोका आउने, जिउ दुख्ने, जोर्नी दुख्ने र रक्तस्राब हुने हुन्छ ।’

अहिलेसम्म डेंगुको कुनै त्यस्तो प्रभावकारी औषधि छैन । डेंगुयुक्त लामखुट्टे बिहान र सूर्यास्तको समयमा बढी सक्रिय हुने गर्दछ । यसबाट बच्नका लागि बिहान–बेलुका हातखुट्टा छोपिने कपडा लगाउने, घरवरिपरि पानी जम्न नदिनेजस्ता साबधानी अपनाउनुपर्छ । 

झाडापखाला 

बालकालिकालाई झाडापखलाले जाडो मौसममा बढी सताउने गर्दछ । यस मौसुममा बालबालिकामा लोटा भाइरस देखिने गर्दछ । जसको कारण बान्ता आउने र पखला लाग्ने हुन्छ । डा. पुनका अनुसार लोटा भाइरसको संक्रमणबाट बालबालिको मृत्युसमेत हुन सक्छ । तर, नेपालमा अहिलेसम्म यो रोगबारे बहस हुन नसकेको उनको भनाइ छ । यसको उपचारका लागि लोटा भाइरसविरुद्धको खोप लगाउनुपर्छ । झाडापखलाबाट बालबालिकालाई बचाउनका लागि घरमा नै झोलिलो खानेकुरा बनाएर खुवाउनुपर्छ । 

छालासम्बन्धी रोग

जाडो मौसममा छाला बढी नरम हुने गर्दछ । जसका कारण हातखुट्टा चिलाउने, अनुहारमा फुस्रोे दाग आउने, हातखुट्टा फुट्ने तथा ओठ फुट्ने समस्या धेरै देखिने गर्छ । 
छालासम्बन्धी समस्या हुन नदिनका लागि न्यानो कपडा लगाउनु नै बढी उपयोगी हुन्छ । 

दम, मुटुरोग 

जाडो मौसममा दीर्घरोगी बढी संक्रमित हुने गर्दछन् । जाडो मौसममा श्वासप्रश्वासका नली खुम्चिएका हुन्छन् । यस्तो अवस्थामा श्वास फेर्न गाहो हुन्छ । दीर्घरोगी र बालबालिकाका लागि जाडो मौसम अभिशाप हो ।

डा. पुन भन्छन्, ‘जाडो मौसमका कारण बालबालिका निमोनियाको सिकार हुने गरेका छन् । दम तथा मुटुरोगीहरूले पनि न्यानो कपडा लगाएर बस्नु नै उत्तम हुन्छ । जाडो मौसममा कम पानी पिउनाले अनेक समस्या आउने गर्छ । जुन स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने गर्छ । कम पानी पिउने गर्नाले पिसाबमा समस्या, मृगौलामा पत्थरी जस्ता समस्या देखिने गर्छ । 

जोडो मौसममा भिटामिन सी प्रप्त हुने खानेकुरा खानाले तपाईंको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ । त्यसले रुघाखोकी, ज्वरो र चिसोबाट बचाउँछ । 

 

  • प्रकाशित मिति : कात्तिक ११, २०७५ आइतबार १४:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया