'बेटी पढाउ, बेटी बचाउ' अभियान : पहिलो लटका साइकलमा ३ करोड ८९ लाख ५७ हजार घोटाला!
मुख्यमन्त्रीले प्रदेशसभामा प्रस्तुत गरेकोभन्दा कार्यालयको तथ्यांक फरक

प्रदेश २ सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेशका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८ का छात्राहरुलाई वितरण गरिएको साइकलमा प्रदेश सरकारले व्यापक अनियमितता गरेको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ। 

बुधबार बसेको प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री लालबाबु राउतले सदनलाई झुक्याउँदै आफ्नै हिसाबले साइकल वितरण अभियान सम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए । 

उनले सामाजिक सञ्जाल र अख्तियारले मुख्यमन्त्री कार्यालयमा गरेको छापामारी प्रति लक्षित गर्दै त्यसको कडा प्रतिवाद गर्दै साइकल वितरण अभियानमा कुनै किसिमको अनियमितता नभएको जिकिर समेत गरे ।

एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बेला सांसदहरुलाई थामथुम पार्न र प्रतिपक्षलाई चित बुझाउन प्रदेशसभालाई छक्याउँदै आफ्नै खालका तथ्यांक प्रस्तुत गरेको देखिएको छ । 

मुख्यमन्त्री राउतले सदनमा प्रस्तुत गरेको तथ्यांक र उनको कार्यालयले उपलब्ध गराएको तथ्यांक फरक–फरक पाइएको छ ।
 
गत आर्थिक वर्षमा प्रदेश सरकारले पहिलो लटमा १७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो । सो साइकल खरिद गर्दा करसहित साइकलको मूल्य ११ करोड १० लाख २९ हजार ९ सय ५८ रुपैयाँ सरकारले खर्च गर्‍यो । 

यस हिसाबले प्रति साइकलको मूल्य ६ हजार ४ सय ३२ रुपैयाँ हुन जान्छ ।



तर मुख्यमन्त्री राउतले सदनमा तथ्यांक प्रस्तुत गर्दा पहिलो लटमा १७ हजार २ सय ३८ थान साइकल रहेको जानकारी गराए । 

उनले सदनलाई जानकारी गराएको तथ्यांक अनुसार प्रति साइकलको मूल्य ६ हजार ४ सय ४३ हुन जान्छ ।



मुख्यमन्त्री राउतले सदनलाई जानकारी गराएको तथ्यांकलाई नै आधार मान्ने हो भने मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको तथ्यांकसँग मिलाउँदा २४ थान साइकलको संख्या फरक पर्न जान्छ । यसरी हेर्दा १ लाख ५४ हजार ६ सय ३७ रुपैयाँ स्पष्ट रुपमा फरक परेको देखिन्छ । 

जबकी मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार १७ हजार २ सय ६२ थान साइकलको भ्याटसहितको मूल्य ११ करोड १० लाख २९ हजार ५८ रुपैयाँ रहेको जनाएको छ ।

सदनमा मुख्यमन्त्री राउतले साइकल खरिद सम्बन्धी जानकारी गराउँदा १७ हजार २ सय ३८ थान साइकलको मूल्य बिना भ्याट १३ करोड २७ लाख ३२ हजार ६ सय रुपैयाँ रहेको बताए । 

उनले सदनमा प्रस्तुत गरेको तथ्यांकको हिसाबले यस रकमको भ्याट १ करोड ७२ लाख ५५ हजार २ सय ३२ रुपैयाँ हुन जान्छ । भ्याट रकमलाई समेत जोड्दा यो रकम १४ करोड ९९ लाख ८७ हजार ८ सय ३८ हुन जान्छ । 

यसरी मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री राउतले सदनमा प्रस्तुत गरेको तथ्यांकमा ३ करोड ८९ लाख ५७ हजार ८ सय ८० रुपैयाँको फरक छ ।

दोस्रो लटमा कक्षा ८ कै छात्राहरुका लागि प्रदेश सरकारले फेरि १० हजार साइकल खरिद गरेको थियो । दोस्रो लटको सम्बन्धमा सदनलाई जानकारी गराउँदा मुख्यमन्त्री राउतले कुनै गल्ती गरेनन् । 

दोस्रो लटमा १० हजार साइकल खरिद गर्दा कर सहितको मूल्य ८ करोड ४४ लाख ६७ हजार ५ सय रुपैयाँ पर्‍यो । दोस्रो लटमा खरिद गरिएको साइकलको मूल्य प्रति थान ८ हजार ४ सय ४६ रुपैयाँ हुन जान्छ । दुई पटकको खरिदमा प्रति साइकलको मूल्यमा २ हजार १४ रुपैयाँको फरक रहेको देखिन्छ । 

प्रतिपक्षी दलका सांसदहरुले यस हिसाबले साइकल खरिदमा व्यापक अनियमितता भएको दाबी गरिरहेका छन् ।

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १८:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया