चिहानमाथि खोपिएका अक्षर

मृत्यु छ र त जीवन प्रिय छ । लोकप्रचलित कुरा हो यो । साँच्चै हो पनि, मानिस अजम्बरी हुन्थ्यो यदि भने उसको अस्तित्व बाटोछेउमा पल्टिएको ढुंगोजस्तै हुने थियो । त्यसैले मृत्यु जीवनसँगै हिँडिरहेको हुन्छ । तर, एउटा गजबको कुराचाहिँ मृत्युको कारणले मात्रै जीवनको अर्थबोध भए पनि मान्छे यसलाई पटक्कै मन पराउँदैन । त्यसैले होला, मृत्यु, मलामी, मुर्दा, लाश, मसान, चिहान आदि अर्थबोध गराउने अवस्थाहरू सकेसम्म आफू र आफ्ना प्रियजनहरूमा आरोपित गरेर हेर्ने साहस कम्तीमा पनि आममान्छेमा हुँदै हुँदैन । किनकि, मान्छेलाई जीवन अतिप्रिय छ ।

हुन त मानिसहरूले यति प्यारो जीवनलाई गुमाउन तयार भएर साहसिक मृत्युवरण गरेको पनि देखिन्छ । अरूद्वारा दिइएको मृत्युलाई वरण गरेको अवस्थालाई हाँसीहाँसी बलिबेदीमा चढेका आहानहरू इतिहासचर्चित छन् । सहिदको मृत्युवरणबाहेक मृत्युलाई स्वयंवरण गर्ने अर्थात् आत्महत्या गर्नेहरूले पनि आफ्नो जीवनलाई सहजै गुमाउन तयार भएको देखिन्छ । तर, आममान्छे सामान्य अवस्थामा यी दुवै किसिमका मृत्युवरण गर्न सक्दैन । किनकि, मृत्युलाई स्वीकार्ने अवस्था जुनसुकै कुराको पनि अति र उत्कर्ष प्रतिकूलतामा मात्रै सम्भव हुने कुरा हो ।

प्राण त्यागका यी दुवै परिस्थितिका राजनीति, समाजशास्त्र र मनोविज्ञानका हिसाबले अलगअलग अर्थ लाग्न सक्लान् । तर, मलाई भने यसको रहस्य र मनोविज्ञान मान्छेको अस्तित्वसित जोडिएको हुन्छ जस्तो लाग्छ । शहादत जीवन र जीवनसित जोडिएको आस्थाको अमरत्वका खातिर हुन्छ भने आत्महत्या जीवनको अस्तित्वको निरर्थकताबोधको उपज हुन्छ । यी दुईमा उच्चता र हीनताबोधको मात्रै भेद हुन्छ जस्तो लाग्छ ।

मृत्युको दार्शनिक पाटोलाई छोडेर व्यावहारिकतामा जाऊँ । मृत्यु जस्तो प्रकारकै स्वाभाविक, अस्वाभाविक, महान् अथवा कायरतापूर्ण जुनसुकै प्रकारको भए पनि त्यसपछि डोहोरिनुपर्ने ठाउँ एकै किसिमको हुन्छ, चिहान वा मसान । यसो भनेर निरपेक्षरूपमा बडो आध्यात्मिक दार्शनिकता पोख्दै नश्वर जीवनको क्षणभंगूरताको भजन गाउन खोजिएको अवश्यै होइन, त्यसको अलग्गै पाटो छ । मृत्युलाई महान् बनाउने मान्छेहरू यस धरतीमा नजन्मिएका भए सायद मानवजातिको ऐतिहासिक यात्रा यति वरसम्म नआइपुग्न पनि सक्थ्यो । मानवजातिको गौरवमय वर्तमान इतिहासमा असंख्यकोे प्राणउत्सर्गको परिणाम पनि हो । 

चिहान वा मसानजस्ता शब्दले ममा एकखालको भावनात्मक ज्ञान दिन्छ । आध्यात्मिकता त नभनूँ, यी दुई शब्दसित गाँसिएर आउने परिवेशसित जबजब मेरो साक्षात्कार हुन पुग्छ, तब त्यसले ममा जीवनप्रतिको गजबको तटस्थ भाव दिन्छ । मानिसहरूले भन्ने वा दावी गर्ने जस्तो यस्ता ठाउँहरू पुग्दा, टेक्दा वा तिनलाई सामना गर्दा ममा अनित्य भनिएको संसारप्रतिको विराग पटक्कै जन्मिँदैन न त भौतिकताप्रतिको अनिच्छा नै जाग्छ । मलाईचाहिँ जीवनको झन्झन् माया लागेर आउँछ, आफ्नाहरूको माया लागेर आउँछ । थोरै भए पनि सकारात्मक र सिर्जनात्मक ऊर्जाको सञ्चार हुन्छ ।

मसानमा भन्दा चिहानघारीहरूमा म अपूर्व शान्ति महसुस गर्छु । सायद यसको प्रकृतिका कारण होला मसानमा अनेक किसिमका भावहरूको सम्मिश्रण घुलित हुन्छ । त्यहाँ शान्ति, शोक र करूणामा रौद्र र वीभत्सता पनि मिसिएको हुन सक्छ । तर, चिहानघारीमा स्थिर किसिमको शान्ति पाउँछु म । एक हिसाबले ध्यानस्थ शान्तिको अभ्युदय महसुस गर्छु त्यहाँ म ।



अहिले यति सहज महसुस हुने चिहान र मसानसँगको परिचय सुरूवातमा थोरै पनि सहज र सरल किसिमले हुन सकेन । संस्कार, संस्कृति र समाजले दिलाउने यसको अर्कै बिम्ब हुन्छ । केटाकेटीमा मात्र होइन अधिकांश मानिसहरूको जीवनपर्यन्त त्यही बिम्ब व्यावहारिक रूपमा पनि चलायमान भई नै रहन्छ । स्वाभाविक हो, जीवनको अन्त्यसित जोडिने ठाउँ रूचिकर हुन सक्ला, तर त्यो प्रिय बन्नचाहिँ सक्दैन । सामान्य मानवीय व्यावहारिकताबाट माथि उठेको मान्छेले त्यसलाई प्रिय बनाउन पनि सक्ला । तर, आममान्यतामा चिहान र मसानको बिम्ब वैराग्य हो ।

म वैरागी पटक्कै होइन । जीवनको अति मोह छ । मायामोहले लछप्पै भिजेको छ दैनिक व्यवहार र चिन्तन । आग्रह, पूर्वाग्रह, द्वेष, लोभ, ईर्ष्या, अहमजस्ता नकारात्मकता पनि कतिपय सकारात्मक व्यवहारहरूकै समानान्तर रूपमा छन् । तर, यो सत्य हो, चिहानघारी आसपासको अजीव शान्तिको सेवन मेरा निम्ति रूचिकर विषय हो । 



चिहानसितको यो किसिमको परिचय भने बिल्कुलै नयाँ हो । यसको सुरूवाती परिचय र सम्बन्ध भने अत्यन्तै डरलाग्दो थियो । त्यसै पनि केटाकेटीमा चिहान, मसान, मूर्दा, लाश आदिजस्ता शब्द र अवस्थाहरूसित करूणा र शोकभन्दा पनि भयका कालानीला आकृतिहरू मस्तिष्क र चेतनामा अत्यन्तै गहिरोसित गाडिएका हुन्छन् । केटाकेटीमा भूत नाउँको एउटा काल्पनिक डरले सिंगो चेतनालाई यति बलियोसित कब्जा गरेको हुन्थ्यो कि, संस्कारको अर्को डर भगवान्को भन्दा ठूलो आतंक त्यसको हुन्थ्यो । त्यसैले देवीथान, नागथान जस्ता स्थानीय ‘पवित्र भूमि’ को आसपास ऐनमौकामा दिशापिसाब पनि गरिन्थ्यो, तर मसान अथवा चिहानघारीको आसपास टेक्न पुग्नु समेत असाध्यै डरलाग्दो अवस्था हुन्थ्यो । त्यसो त ‘भगवान्’ को थानमा मलमूत्र विसर्जन गर्नुमा पनि स्वतन्त्र किसिमको आनन्द त कहाँ थियो र ! एकातिर ठूला मानिसहरूले देखेर तिघ्रामा सुम्ला उठ्ने गरी भाँटेकारवाही होला भन्ने डर । अर्कातिर नैतिक शिक्षामा वर्णन गरिने ‘सर्वव्यापी ईश्वर’ ले देखेर श्राप दिने डर !

सशरीर मान्छेले नदेखे पनि ‘शक्तिशाली’ ईश्वरले त पक्कै पक्रने नै थियो । तर, यसबाट बच्नलाई पनि कतैबाट एउटा मन्त्र पाइएको थियो । अर्थात्, सादृश्य ‘ईश्वरको पवित्र भूमि’ मा अथवा अज्ञात र शंकास्पद ठाउँ (गाउँघरमा हरेक टोल अझ कतिपय पारिवारिक पूजा गर्ने ठाउँहरू प्रशस्तै हुन्छन्, ती सबैको जानकारी पाउन नसकिने अवस्थामा) मा मलमूत्र विसर्जन गर्दा ‘बिराम बिराम मैले केही बिराएको छैन’ भनेर भट्याउने चलन थियो । मन्त्रदाता को हुन्थ्यो, तर यो जादूगरी मन्त्र पाठ गरिसकेपछि मन भने ढुक्कै हुन्थ्यो । यो सुनेपछि सम्बन्धित ‘भगवान्’ ले माफी दिन्थ्यो । 

तर, भूतसँग व्यवहार गर्नु भगवान्सँग जति सजिलो थिएन । भगवान् त रिसाइहाल्यो भने आफ्नो भूमि अपवित्र बनाइदिनेलाई जिउमा चिलाउने डाबरसम्म उठाइदिन्थ्यो, त्यो पनि ठूलाबाले अक्षता फालेर सुम्सुम्याएको एक–दुई घण्टामा बिसेक भइहाल्थ्यो । तर, भूतले चाहिँ ठाउँको ठाउँ नै मान्छेलाई मारिदिने सामथ्र्य राख्थ्यो । त्यसैले चिहान र मसानको छेऊ भएर बाटो पार गर्नु केटाकेटीका निम्ति अत्यन्तै दुस्साहसपूर्ण मानिन्थ्यो । 

मेरो मस्तिष्क र चेतनामा हजुरआमाले केटाकेटीमा बनाइदिनुभएको भूतको बिम्ब अद्यापि उस्तै ताजा छ । हजुरआमाको भूत अचेलका हरर फिल्म र उपन्यासहरूमा देखाइने जस्तो हेर्दै डर लाग्दो थिएन । त्यो मान्छेहरूको भीडमा मान्छेहरूकै स्वरूप बोकेर घुमिरहन्थ्यो । आवश्यकताअनुसार उसले भेष परिवर्तन पनि गर्थ्याे । मान्छेहरूको अदेखमा त्यो एकै फड्कोमा खोला तर्ने, पहाड नाघ्ने समेत गर्न सक्थ्यो । त्यसले मान्छेलाई सीधै आक्रमण गर्ने, मान्छेलाई विभत्सतापूर्वक आक्रमण गर्ने, मान्छेको मासु खाने पटक्कै गर्दैनथ्यो । उसको काम मान्छे मार्नेमात्रै हुन्थ्यो, त्यो पनि आक्रमण नगरी । त्यसले स्वाभाविक मानवीय बोलीमा सम्बन्धित पात्रको नाम लिई बोलाउँथ्यो र यदि नाम लिइएको त्यो मान्छेले ‘हँ’ या ‘हजुर’ मात्रै भनेको खण्डमा त्यो ठाउँको ठाउँ नै मरिदिन्थ्यो । बोलेन भने चाहिँ त्यसलाई केही पनि हुँदैनथ्यो । 

कहिलेकाहीँ भूतले पधेँरातिर गृहिणीलाई गाग्री बोक्दा धकेलिदिन्थ्यो, पाखाबारीतिर घाँसको भारी धकेलिदिन्थ्यो । यसरी भारी धकेलिएकाहरू कि त आँगनमा अथवा दैलाको ठेलामा आइपुगेपछि मर्ने गर्थे । यस्तो डर लाग्दो भूतबाट जोगिने उपाय केही थिएन । भगवान्बाट बच्न त मन्त्र थियो, तर भूतबाट बच्नका लागि भूतको भूमिमा अथवा एकान्तमा कसैले आफ्नो नाम लिई बोलाइहाल्यो भने पनि नबोल्ने अठोट गर्नु नै सबैभन्दा ठूलो हतियार थियो । तर, यो त्यति विश्वसनीय थिएन । केही गरी झुक्किएर बोलिइहाल्यो भने...! यो डरले सबैभन्दा बढी जकेड्थ्यो । कहिलेकाहीँ भूतहरूको क्षेत्रतिर उमेरदार मान्छेविना पुगियो भने सकेसम्म वैकल्पिक बाटोको खोजी गरिन्थ्यो, त्यो सम्भव भएन भनेचाहिँ हत्केलामा मुटु राखेर जीवनको अन्तिम युद्ध लडेको अनुभूतिमा कुदिन्थ्यो । यस्तो बेलामा त्यो काल्पनिक आकृतिले पछिपछि लखेट्दै आउँथ्यो, कहिलेकाहीँ कुद्दाकुद्दै हावाले कमिजको फेर कुनै झालतिर अल्झाइदियो भनेचाहिँ...! यस्ता स्मृति कति छन् कति ।

तर, चिहान र मसानसितको यो भयग्रस्त घृणा त्यति लामो समयसम्म भने रहिराखेन । माध्यमिक तह नटेक्दै वरिपरिको कम्युनिस्ट हावापानीको प्रभावमा यो ‘सामन्तीले फिँजाएको भ्रम’ का रूपमा परिणत भयो । विज्ञानका तर्क र ज्ञानहरू पनि यसमा जोडिँदै गए । पछिपछि त यो सामान्य र स्वाभाविक रूपमा वास्ता नगरिने एउटा विषय बन्यो । कहिलेकाहीँ मृत्युको शोकलाई नजिकबाट नियाल्दा भावनात्मक कुराहरू जोडिएर आउँथे पनि । त्यस्तो बेलामा मृत्युका अगाडि जीवनका सबै रङ फिका हुन् कि जस्तो भान पारिदिने शोकको वातावरणले लपेट्थ्यो पनि । किनकि, यस्ता ठाउँहरूमा जस्तै भोगी, लोभी र कपटी पनि आफ्नो अनुहारमा निरञ्जन निराकारको भाव पोतेर बडा भावुक अवस्थामा बसिरहेको भेटिन्छ भने सामान्य मानिस विचलित नहुने कुरै भएन । तर, यसको प्रभाव क्षणिक हुन जान्थ्यो ।

चिहान र मसानसित त्यस्तो आकर्षण, अनाकर्षण अथवा डर केही थिएन । तर, आठ वर्षअगाडि लन्डन आएपछि भने मेरो अन्तरचेत ‘चिहान’ शब्द र स्थानसित अनौठोसित गाँसियो । लन्डनको मेरो पहिलो बसाइ लन्डन सहरकोे उत्तरपूर्वी सीमामा पर्ने सुन्दर गाउँ एल्स ट्रिमा भयो, जहाँ मैले दुई वर्षभन्दा बढी समय बिताएँ । म बस्ने फ्ल्याटको छेवैमा सेन्ट निकोलस भनिने एउटा पुरानो चर्च थियो, जसको अगाडि–पछाडि पुराना चिहानहरू थिए । अलिकति तलतिर यहुदीहरूको सिमेट्री अर्थात् चिहानघारी थियो । टाढाबाट हेर्दा एकनासले गाडिएका सेता र चहकिला स्तम्भहरू सुन्दर देखिन्थे । तिनलाई मैले करिब अढाई वर्षसम्म टाढैबाट हेरेँ मात्रै । तर, सेन्ट निकोलस चर्चको चिहानघारी भने धेरै नै हिँडेँ । सानो केटोलाई स्कुल छोड्ने र लिन जाने क्रममा मैले यसलाई बीच पारेर हिँड्नुपथ्र्यो । पछिपछि त पुराना स्लेट वा मार्बलहरूका ती अग्ला–होचा स्तम्भहरूमा लेखिएका कतिपय नाम र अन्य सन्देशहरू समेत मलाई कन्ठ भइसकेका थिए । प्रायःजसोमा मृतकको जन्म-मृत्युमात्रै हुन्थ्यो, कुनैमा नाता खुलाइएको पनि हुन्थ्यो । अनि कुनैमा चाहिँ ‘फलाना यहाँ शान्तपूर्वक पल्टेको छ’ भनेर अलिकति मिठास दिइएको हुन्थ्यो । स्कुलबाट फर्कने बेलामा सानो केटो ती चिहानका स्तम्भहरूमा लुकामारी गर्दै कुद्न रुचाउँथ्यो । त्यही क्रममा एकदिन मैले एउटा सुन्दर मार्बल स्लेटमा लेखिएको थियो देखेँ- ‘मैले मेरा आँखा चिम्लिएँ र हजारौं मौन तरिकाले तिमीसित कुरा गरेँ- टोनी ।’

मृत्युलाई मानिसहरू कति कलात्मक किसिमले लिँदा रहेछन् ! आफ्नो हृदयको निकट रहेकाको मृत्यु पीडा संसारमा सार्वभौम पीडा हो । तर, मृत्युको पीडालाई भद्दा किसिमले अभिव्यक्त गर्नुभन्दा त्यसलाई कलात्मक स्वरूप दिन सक्नुले त्यो पीडाको गाम्भीर्यलाई अझै बढाउँदो रहेछ । साँच्चै भनेको सेन्ट निकोलस चिहानको कुनै ‘टोनी’ नामधारी सुतेको त्यो चिहानको स्तम्भमा खोपिएको यो सन्देश पढेर मेरा आँखा रसाए । त्यसले मलाई गहिरोसित छोयो । त्यसदिनदेखि मलाई लाग्यो, चिहानले जिन्दगीको अर्थ सिकाउँदो रहेछ, मान्छेका तमाम रागात्मक स्वार्थलाई पखालिदिँदो रहेछ । त्यही दिनदेखि मैले लन्डनमा रहेका धेरै चिहानहरू घुमेँ । चिहान यात्रालाई म ‘शान्तिको उत्खनन्’ भन्न रुचाउँछु । आफ्नो बसाइ आसपासका चिहानहरूबाट सुरू भएको ‘शान्तिको उत्खनन्’ पछिपछि विस्तारित हुँदै गएर विश्वचर्चित चिहानहरूसम्म पुग्यो ।

कार्ल मार्क्सकाे चिहान रहेको हाइगेट सेमेट्री अहिलेसम्म तीन चोटी पुगिसकेको छु । पहिलोपटक, कार्ल मार्क्सको चिहान भनेर उत्साही भइयो । टिकट काटेरमात्रै भित्र छिर्न पाइने यसको प्राकृतिक वातावरणले मलाई लोभ्याउँछ । लन्डनको अलिकति अग्लो भूभागमा रहेको यो ठाउँ । ह्याम्स्टेडको हरियालीको बीचबीच भएर ओरालो हाइगेटतिर झर्दा अर्कै आनन्द मिल्छ । भिरालो कान्लोमा उभिएर हेर्दा यो चमकधमकविनाको देखिन्छ । बाटोमाथि र बाटोमुनि दुई भागमा बाँडिएको यहाँ कार्ल मार्क्सकाे दम्पत्तिका चिहानको साथमा कतिपय इरानी र टर्किस कम्युनिस्ट नेताका चिहान पनि छन् । यहीँ गाडिएका छन् हवर्ट स्पेन्सर, जसको चिहान कार्ल मार्क्सकाे चिहानको ठीक अघिल्तिर छ । उनीहरूलाई सानो बाटोले छुट्याएको छ । बिल्कुलै विपरीत विचारका पक्षपाती दार्शनिक चिन्तनलाई यसरी आमनेसामने गाडिनु संयोग थियो या नियोजित यो त थाहा छैन, तर यसले जीवनमा नरूचाइएका र आफूले मन नपराएका अथवा आफूलाई विश्वास नभएका चीजहरूको पनि अस्तित्व छ है भनेर बताउँछ जस्तो लागेर म निकै भावुक पनि भएको थिएँ । 

चर्चित वैज्ञानिक माइकल फेराडे र उपन्यासकार जर्ज इलियट यहीँ समाधीस्थ छन् । जर्ज इलियटको चिहानमा पहिलोपटक पुग्दा उनको छिमेकी चिहानको ढुंगामाथि खिया लागेको एउटा उदास लालटिन ट्यास्स बसिरहेको देख्दा मलाई वैराग चलेको थियो । अनि त्यो चिहानको छातीमा पल्टिरहेको अपरिचित कालो चराको वेवारिस लाश र त्यसतिर आँखा लगाइरहेको कालो बिरालो म कहिल्यै बिर्सन सक्दिनँ । मानौं, चिहानको विभत्सता, रौद्रता अथवा भयावह अनि विरहको प्रतीकको ‘फूल प्याकेज’ हुन् ती । 

यहीँ देखेको रमाइलो कुराचाहिँ बीसौं शताब्दीको एउटा कुख्यात चोर ब्रूस रेनल्डसको चिहान । सेतो मार्बल स्मारकको खोपामा कालो रङको टाउको मात्रैको मूर्ति राखिएको यो चिहान देखेर म मुस्कुराएको थिएँ । रेनल्डस सन् १९६३ मा ग्लास्गोबाट लन्डन आउँदै गरेको ट्रेनबाट भएको ४९ मिलियन पाउन्डको चोरी काण्डका मास्टरमाइन्ड थिए । यहीँ कार्ल मार्क्स अनि यहीँ बिख्यात् चोर ! अहिले पनि मलाई रमाइलो लाग्छ सम्झिँदा । अनि त्यहीँ नजिकै डिआलको महिला र पुरूष आलिंगनबद्ध स्मारकको छेवैबाट एउटा सानो कान्लोमा असजिलोसित राखिएका छन् चर्चित् लेखक डगलस आडम । उनको चिहानमाथि सानो श्वेत र सादा मार्बल प्लेट गाडिएको छ, तर अघिल्तिर एउटा भाँडोमा कलमहरू राखिएको चाहिँ सुन्दर र अर्थपूर्ण लाग्छ । सायद उनका प्रशंसकहरू यहाँ आउँदा कलम राखिदिन्छन् । त्यहाँ प्लेटमाथि केही सिक्काहरू र एउटा सानो प्लास्टिकको चरा पनि राखिदिएको देख्छु । पछि वनहिल फिल्डस सेमेट्रीमा रहेको कवि विलियम ब्लेकको चिहानको स्तम्भमाथि पनि यसैगरी पैसा र अरू चीजहरू राखेको देखेँ ।  मानिसहरू के विश्वासले यस्तो गर्दा रहेछन् कुन्नि, मैले मेसो पाउन सकेको छैन । तर, यो देखेर मानिसको आस्था, विश्वासको भावानात्मक तह कति बलियो र गहिरो हुँदोरहेछ जस्तोचाहिँ लागिरह्यो ।

वनहिल चिहान टेक्दाचाहिँ खै किन हो तीर्थालु अनुभूति भएको थियो । आफूले पहिलोपटक अंग्रेजी पुस्तकको पठन सुरू गरेको किताब ‘रोबिन्सन क्रूसो’ का लेखक डेफोको चिहान भेटेर हो कि मनको आध्यात्मिकता जागरूक भएर आएको थियो त्यतिबेला । यहीँ छन् चर्चित कवि तथा चित्रकार विलियम ब्लेक । तर, यस्तै अनेक चर्चित हस्तीहरू गाडिएको वेस्टमिन्स्टर अवीमा भने चिहानको गन्ध पटक्कै मिल्दैन । डार्बिन, न्युटन, डिकेन्स आदि हस्तीहरूको अन्त्येष्टी गरिएको यो ठाउँ पुरानो म्युजियम जस्तो मात्रै लाग्छ । यस्तै झल्को मिलेथ्यो स्टार्डफोर्ड अपन एभन सहरको होली ट्रिनिटी चर्चमा सेक्सपियरको चिहान हेर्दा पनि । एउटा असाध्यै रहर गरेर जान नपाएको चिहान छ हाइड पार्कमा । त्यहाँ भिक्टोरियन समयको घरपालुवा जनावरहरूको सानो सिमेट्री छ भन्ने सुनेको छु । मलाई ती ससाना चिहानमाथि गाडिएका ससाना स्तम्भहरूमा आफूले मायाले पालेका जनावरहरूप्रतिका मानिसका प्रेमलाई पढ्ने असाध्यै धोको छ ।

कुनै चिहानमा ढुंगा, स्लेट वा मार्बलका प्लेटहरू गाडिएका मात्रै भेटिन्छन् । कुनै चिहानमा अग्ला र चुच्चे स्तम्भ बनाइएका हुन्छन् भने कतैचाहिँ अग्लाअग्ला कलात्मक स्मारकहरू पनि भेटिन्छन् । यो देख्दा बाँचुञ्जेलको मानिसको वर्ग पहिचान चिहानघारीमा पनि अस्तित्ववान् हुँदो रहेछ जस्तो पनि लाग्छ । मानिसको आर्थिक हैसियत मृत्युमा पनि प्रदर्शनीमा आएको महसुस हुँदा नरमाइलो लाग्दो रहेछ । ठूला र भव्य स्मारकहरूले ससाना, टुटेका, ढलेका वा घाँसपातले पुरिएका अथवा काइ परेर लेखिएका अक्षरहरू नै पुरिएका स्तम्भ वा प्लेटहरूलाई गिज्याएजस्तो, धम्क्याएजस्तो लाग्ने । कति परित्यक्ता चिहानहरूमाथिका स्तम्भ भाँचिएर पसारिएका देखिन्छन् । अनेक घाँस र लहराले जेलिएर कति त हरियै देखिन्छन् । यी परित्यक्त चिहानहरू देखेर मनै नरमाइलो हुने जति नरमाइलो साना केटाकेटीको चिहान देखेर हुन्छ । अरू त ठीकै हो ससाना सिक्री या फलामका डन्डीको बार लगाइएका चिहानहरू देख्दा अनौठो अनुभूति हुन्छ । चिहानमाथि ढुंगो या मार्बलको प्लेट गाडेर मान्छेले मृत प्रियजनको भौतिक अस्तित्वलाई त्यहीमुनि दबाइदिइसक्यो, तैपनि त्यसमाथि बार लगाएर किन सीमांकन गर्न खोज्दो रहेछ कुन्नि मान्छे ? 

चिहानमाथिका स्तम्भ वा स्मारकहरूमा अनेक किसिमका मूर्ति या अन्य चिन्ह–संकेतहरू भेटिन्छन् । यस्ता मूर्ति या चिन्हहरूले अनेक किसिमका प्रतीकात्मक अर्थ दिन्छन् भन्ने कुराचाहिँ केन्जल ग्रिन सेमेट्रीमा थाहा पाएको हुँ मैले । त्यहाँ एउटा गाइडले आफ्नो समूहमा भनिरहेको कुरा चोरेर सुनेको आधारमा यस्ता केही चिन्हहरूका संकेतलाई सामान्य अर्थ लगाउन सक्ने भएको छु । चिहानका स्मारक वा स्तम्भहरूमा राखिएका वस्तु, जनावर अथवा विभिन्न किसिमका धार्मिक पात्रहरूका मुखाकृति र भावाकृतिले चिहान वा स्मारकको भव्यतालाई बढाएका मात्रै नभई मृतकको अवस्थालाई पनि संकेत गर्दा रहेछन् । भेडाको पाठोको मूर्तिले त्यो केटाकेटीको चिहान भएको जनाउँदो रहेछ, पुतलीले कसैले बाँचेको छोटो जीवनको संकेत गर्दो रहेछ । त्यस्तै उल्लूले विद्वत्ता, साँढेले धैर्य, सिंहले निर्भय, खरायोले मिलनसारितालाई बुझाउँदो रहेछ । 

त्यस्तै, चिहानमा रोपिएका या चढाइएका फूलहरूले पनि त्यस्तै कुनै न कुनै अर्थलाई बोक्दा रहेछन् । गुलाफले सुन्दरता, लिलीले पवित्रता, डेजीले निर्दोषतालाई बुझाउँछन् । फरकफरक भावाकृतिका एन्जेलहरूका पनि अनेक अर्थ हुँदा रहेछन् । मौरीका चाकाका चिन्हले व्यापारी, उद्योगपतिलाई बुझाउनु, टुटेको सिक्रीले जीवनसँगको सम्बन्धबिच्छेदलाई देखाउनु पनि कम्ती प्रतीकात्मक छैन । नाभी या डुंगाचालकहरूको चिहानमा जहाजको लंगुरको संकेत राखिँदो रहेछ, फलामको काम गर्नेहरूका चिहानमा अचानोजस्तो संकेत राखिएको हुँदो रहेछ । यस्ता कुरा थाहा पाएर रमाइलो लाग्छ । अहो, मान्छेले मृत्युलाई पनि कति कलात्मक तरिकाले बेहोर्न चाहँदो रहेछ। 

केन्जल ग्रिनमा जति भव्य, कलात्मक र खान्दानी चिहान र स्मारकहरू मैले अन्त देखिनँ । न त अवनी पार्क सेमेट्रीको जस्तो चहलपहल नै । केन्जल ग्रिन त मलाई चिहानघारी भन्दा पनि प्राचीन बस्तीको भग्नावशेष जस्तो लाग्छ । अवनी पार्क भने जीवन्त चिहानघारी लाग्छ, पूर्णतः प्राकृतिक किसिमको । आफन्त अथवा आफ्ना नातेदार पूर्खाको चिहान सफा गरिरहेका अधबैंशे र बृद्धबृद्धाहरू, चिहान अघिल्तिर बसेर प्रार्थना गरिरहेकाहरू, गितार बजाएर गीत गाइरहेकाहरू अथवा कतै बेन्चीमा या स्मारकहरूकै आडमा टाँसिएर चुम्माचाम्मी गरिरहेका जोडीहरूका विविध सांसारिक रङहरू त्यहाँ देख्न पाउने सम्भावना प्रबल रहन्छ । त्यहाँ देखेको एउटा चिहान म यदाकदा भावुक भएर सम्झन पनि पुग्छु । आफ्ना दुई छोराको चिहानमास्तिर एउटी दुःखी आमाले लेखेर टाँसेको प्ले कार्ड यस्तो थियो-‘कृपया, मेरा फूलहरू चोर्ने काम बन्द गर । तिमी मलाई असाध्यै दुःखी बनाइरहेका छौ । डेभिड र टमकी आमा मार्गरेट ।’

जीवनका बारेमा जति चिन्तन गरिएका छन्, सायद मृत्युका बारेमा पनि त्यति नै । तर, जीवन–चिन्तन असाध्यै प्रिय र मोहक हुन्छ भलै जीवन जतिसुकै संघर्ष, कठिनाइ अथवा अप्ठ्याराहरूले झेलिएको होस् । तर, मृत्युचाहिँ सबैका लागि अप्रिय नै हुन्छ । अमूर्त मृत्युको मूर्त चित्र हाम्रा मस्तिष्कमा यति नराम्ररी टाँसिएको छ कि त्यसमा भय, शोक, करुणा र वीभत्सको रङ मात्रै देख्छौं हामी । चिहानका स्तम्भहरूमा लेखिएका गीत अथवा सन्देशहरू पढ्दै जाँदा ममा चाहिँ मृत्युले उज्यालो रङ पनि प्रकाशित गर्न सक्दो रहेछ भन्ने विश्वास हुन थालेको छ । त्यो उज्यालो रङमा करुणा, दयामाया र त्यागको स्वरूप भेट्न सकिन्छ, चिहानमाथि खोपिएका अक्षरहरूले मलाई यही सिकाएका छन् ।    
 

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार ८:०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया