‘जियरा’ कथाफाँटकाे उत्कृष्ट कृति हाे
विशाल बाबु बस्नेत
फरकधार / २३ असोज, २०७८

नेपाली साहित्यमा करिब चार दशकयता निरन्तर साधनारतः एक प्रखर नाम हो-नयनराज पाण्डे । उनका अब्बल कृतिहरूमा लघुउपन्यास उलारदेखि घामकिरी, लू र सल्लीपीर आदि हुन् । उनले  गैर-आख्यानात्मक कृति यार पनि पस्केका छन् । नयनराज पाण्डेको उलार एउटा यस्तो कृति हो जसमा तराई(मधेशको राजनीतिक अवस्था, मतदाता र नेताको सम्बन्ध अनि गरिबी र असहायपनको यथार्थवादी चित्रण प्रतिध्वनित भएको छ । तथापि उनकै भाषामा यस कृतिले आफूलाई स्थापित गराउन बीस वर्ष कुर्नुपरेको थियो । कुनै-कुनै कृतिले सही समय र पाठक पाउन पनि दशकौं लाग्नसक्छ भन्ने दृष्टान्त हो यो लघुउपन्यास ।



यसपटक नयनराज पाण्डेले कथा संग्रह ‘जियरा’ पस्किए । यस संग्रहमार्फत् उनले आफ्नै परम्परागत लेखन शैलीलाई तोडे । फाइन प्रिन्टको प्रकाशन रहेको जियराभित्र १३ कथाहरू छन् । कथालेखनको यथार्थवादी धारबाट फुत्किए पनि उनी आफ्नो विज्ञता र अनुसन्धानको दायराभित्रै रहेकाले धेरै हदसम्म सफल देखिएका छन् । जियरालाई खोल्नासाथ विषयसूचीमै आकर्षण गर्ने पक्ष कथाहरूका शीर्षकहरू हुन् । तिनीहरू आफैंमा विशेष छन् । शीर्षकको चयनमा सधैंझैँ मोहक देखिएका छन् कथाकार । 

जियराभित्र पात्रनिर्माण, पात्रका भाषा, रहनसहन र भोगाइहरूमार्फत् आञ्चलिकता प्रकट भएको छ । नेपालगञ्ज र यसकै सेरोफेरोका कथाहरू छन् । सबैजसो कथाले ग्रामीण परिवेशका अनुभवहरू र समस्याहरूलाई अभिव्यक्त गरेको पाइन्छ । 

उनका कथाहरू उनको आफ्नै पुरानो यथार्थवादी शैलीबाट फुत्किएर जादुयी यथार्थवाद अथवा अतियथार्थवादतिर केन्द्रित भएका छन् । तर यस क्रममा कहिलेकाहीं कथाहरूको गति तीव्र भएको छ । उदाहारणका लागि हिन्दू-मुस्लिम द्वन्द र यसको चपेटामा परेको प्रेमलाई कथावस्तु बनाएको कथामा जमेन्ती नफिसामा रूपान्तरण र पूनरूपान्तरण ज्यादै छिटो भएको छ । यस कथाको कथावस्तु बलियो भए पनि पाठकलाई निरन्तर आकृष्ट गर्न असक्षम रहेको छ किनभने कथाभित्र केही संयोगहरू जस्तो कि कुम्भमा जमेन्ती र दुर्गालालका मातापिता एकसाथ डुबेकोजस्ता प्रसंगहरू अति संयोग भइदिएका छन् । अपेक्षाअनुसार पाण्डेले निर्माण गर्ने कथाबनोट मिहीन, सरल र संयोगविहीन हुने गरेकाले पनि यस्तो खल्लोपन आएको हुन सक्दछ ।



कुनै कथाहरू हेर्दा छोटा नै हुन् तर कथाभित्र उपन्यासलेखनको छाप परेजसरी पनि १४( १५ अङ्कसम्मको विभाजन देख्न सकिन्छ । कथाकै समग्र वातावरणमा यस्तो विभाजनले खासै असर नगरे पनि अङ्कपरिवर्तनपश्चात् पाठकको मनमा उब्जने पृथकताको अपेक्षा र कौतुहललाई केही खजमजाएको अनुभूत गर्न सकिन्छ ।

कथाहरूमा कतै न कतै सत्तालोलुपता, जनघात, भ्रष्टाचारमा निर्लिप्त शासकहरूविरुद्ध एउटा विद्रोह प्रकट भएको पाइन्छ । तर, ठाउँ ठाउँमा कारण र तर्क खोज्ने पाठकले यस्ता प्रश्नहरू उभ्याएर स्पष्टोक्ति माग्न सक्दछन् । उदाहारणका लागि ‘मैलो कमिजको एकालाप’ कथामा प्रम किन गायब भए ? अनि भुस्याहा कुकुरले मात्रै कसरी देख्यो ? कसरी मैलो कमिजवाला व्यक्ति नै आरोपित भयो जस्ता प्रश्नहरू राम्ररी निप्ट्याइएको छैन ।

‘रार’ कथामा ईश्वरहरूलाई पात्र बनाएर मृदु सुरुवात गरिएको छ । यसभित्र प्रकट भएका छन् सामाजिक समस्या, गरिबी, भोक अलौकिक रूपमा । ईश्वरभन्दा कर्म र मानिस नै उपयोगी भएको सन्देश दिएर नजिकको भूत र टाढाको देउता भनेझैँ छिमेकीहरू नै काममा आएको प्रसंग उल्लिखित छ । कथाको विशेषता फेरि पनि भाषाका रूपमा, पर्वका रूपमा र चलनका रूपमा आञ्चलिकता नै हो । 

‘कबै अर्घ्यालो नथाप्नू’ कथाको सुरुवातदेखि नै फेरि नयनराज पाण्डेको पुरानो ढाँचा सबलीकृत रूपमा आएको छ । यो स्वादिलो कथा यसैले पनि भएको छ । राणाकालीन घटना वर्णनमा तत समयको भाषाहरू प्रयोग हुनु अवश्य मिठासयुक्त छ । तर, फेरि ‘लघु शंका’,‘रिपोर्ट’जस्ता आजभोलिका शब्दहरू घुसेकाले फिक्का हुन पुगेको छ । यो एकदमै दमदार कथा हो । उत्पीडित वर्गको इतिहास भ्रमित छ, लुप्त छ र विजेताहरू महिमामण्डित छन् । इतिहासको पूनर्लेखन नै गर्नुपर्ने पो हो कि भन्ने आह्वान कथामा पाइन्छ ।

लू र उलारमा केवल पीडा, वेदना र उत्पीडनको मिहीन वर्णन थियो भने जियराभित्र अझ एक कदम अगाडि बढेर विद्रोही चेत मुखरित भएको पाइन्छ । यसपटक मात्रै समस्या देखाउँदैनन् उनी । समाधानका कठिन तर अलौकिक उपायहरू प्रस्तुत गर्दछन् । कथाहरूमा ‘अब चूप लागेर हुन्न’ भन्ने टुङ्ग्याइ राख्छन् । यो एक खालको फरक कथान्त्य सबैजसो कथामा देख्न पाइन्छ । 

केही कथाहरू कथाभन्दा पनि निबन्धात्मक पनि छन् । जस्तो कि ‘मैलो कमिजको एकालाप’, ‘फिस फ्राइ’, ‘सोअत हिये’ आदि । यी कथाहरूमा कथानकभन्दा पनि विषयवस्तुको व्याख्या समाचारीय ढंगले भएको अनुभव हुन्छ । 

प्रयोगात्मक हुने चक्करमा ब्राकेटभित्र र ब्राकेटबाहिरको कथा भनेर शैलीमा परीक्षण गरिएको कथाशीर्षकथा हो । तर यसको ब्राकेट खासै उपयोगी साबित भएको देखिन्न । साधारणतः प्रस्तुत गरिएको भए पनि हुने देखिन्छ । परम्परागत धारबाट पृथक हुने यो जमर्कोलाई सम्मान भने गर्नैपर्दछ । ब्राकेटभित्र समालोचक र लेखकबीचमा द्वन्द छ भने बाहिर गुडिया गाउँको कथा छ । यो शीर्षकथाले तराई क्षेत्रमा व्याप्त पीडा सँगसँगै बुहारी जलाउने-कुट्ने आदि महिला हिंसाको सन्दर्भमा भानुभक्तीय बधुशिक्षाको केही भागसमेत राखेर विद्रोहको आह्वान गरेको छ । यस खण्डमा तीन ओटा कथाहरूलाई एकै धारका भनी कथाकार स्वयंले उल्लेख गरेका छन् । 

‘सलमा सितारा’ कथामा नग्न भई उत्तेजित लिंग देखाई ताण्डव नृत्यरतः युवकको परिकल्पना बेजोड छ । यस कथामा एक तहभित्र अर्को तह खाँदिएको भेटिन्छ । कथालेखनमा प्रयुक्त यो शैली पनि आम पाठकहरूका लागि नयाँ हुन सक्दछ र यसले पृथक अनुभूति गराउन सक्दछ । यी समानधारी कथाहरूमा नारी दमनको पाटोलाई मुखरित गर्दै कथाकार लेख्छन् -गुडियाहरू बोल्दैनन् ।

‘सोअत हिये’ कथामा ‘नीलकण्ठ तुम नील रहियो’जस्ता कविता वा लोकगान हुनुले यस कथाको रचनागर्भमा यी गानाहरू कतै प्रयुक्त भएका वा किंवदन्तीका रूपमा रहेका हुन् कि भन्ने जिज्ञासा उत्पन्न गराउँदछ । कथाकारले यसबारे कुनै निबन्ध लेखिदिए पाठकहरूलाई यस्ता कथाहरूको रचनागर्भबारे पनि जानकारी हुन सक्दथ्यो । यसै कथामा बहुरूपियाको प्रसंगमा निबन्धात्मक शैलीमा कलाकार, साहित्यकार, उद्योगपति, प्रहरी, प्रशासक र न्यायकर्मीहरू सबैको दुई रूप हुने कटाक्ष गरिएको छ ।

कथासंग्रहमा विभिन्न कथाहरू राखिनुको अर्थ फरक धार र शैलीका अनेक खालका कथाहरू पढ्न पाइने फाइदाका लागि पनि हो । जियरालाई पढिसक्दा भने कतै एउटै उपन्यास पढेँ कि भन्ने अनुभव हुन सक्दछ । यसका सबै कथाहरूको साझा तत्व सामाजिक-राजनीतिक विभेदप्रतिको आक्रोश हो । सरसर्ती पढ्दै जाँदा सबै कथाहरूमा घुमीफिरी रुम्जाटारजसरी लालपूर्जा, नागरिकता र पहिचानकै कुराहरू आउँदा भने एकोहोरोपनको आभास नहोला भन्न सकिन्न । कथाहरूभित्र धेरै शब्दहरू कथा पढिरहँदा बुझिन्छन् तर यिनीहरूको खास अर्थ पनि संग्रहको अन्त्यमा राखिदिएको भए सुनमा सुगन्ध हुने थियो । यहाँ अकडबाइ, बिहाव, चरबाँक, घुसडु, झुक्का, चुपछिनाल, पुरखनगत, रुहअफ्जा, गौनाआदि स्थानीय शब्दहरूले कथाको गरिमा त बढाएका छन् तर आम पाठकलाई यी शब्दहरूको यकिन अर्थ पनि थाहा दिँदा अझ राम्रो होला भन्ने मेरो मत हो ।

मलाई मन छोएका कथाहरूमध्ये ‘सिरी उपमा जोगे’ र ‘दइमारा’ हुन् । यिनीहरू बान्की परेका, चिटिक्कका कथाहरू छन् । रहस्यले भरिएका, अलौकिकताको सही उपयोग भएका, कथानकदेखि अन्त्यसम्म मिठास भएका । 

यिनै कथाभित्र उद्धृत केही पङ्क्तिहरू :

अबदेखि सबै गरिबको ओठमा कलेटी परोस् । उनीहरूलाई हाँस्न गाह्रो होस् । हाँस्न खोज्यो भने उनीहरूको ओठ फुटून् र त्यसबाट रगत बगोस् ।

यहाँ साँपहरू मान्छे भएर बस्ता रहेछन् । तिनीहरूलाई बिन बजाएर बाहिर निकाल्न सकिन्न ।

समग्रमा कथाकारले तराई-मधेशका सीमान्तकृत मानिसहरूका कथा लेखेका छन् । पीडाको वर्णनमा मात्रै सीमित नभई विद्रोहको बिगुल फुक्ने चेतना प्रवाह गर्न खोजेका छन् पाण्डेले । कतै पूनरुक्ति र एकोहोरोपन भएजस्तो लागे पनि कथावस्तु फरक छन् । शैलीमा नयाँपन खोज्न अग्रसर कथाकारले जादुयी यथार्थवादको प्रयोग गर्ने सही चेष्टा गरेका छन् । एक खालको पाण्डेपन रुचाइरहेका पाठकका लागि असजिलो हुन सक्दछ । तर, पनि नेपाली साहित्यको कथा खण्डमा नेपाली आञ्चलिक भाष्य र मानक शब्दहरूकै प्रयोगमा पनि नयाँ शिल्पको प्रयोग गरी बुनिएको यस संग्रहले एक फरक स्थान अवश्य ओगट्नेछ । 

कथा संरचना र वाचनका दृष्टिले पनि बेग्लै धार बोकेर नेपाली माटोकै अनुभव र भोगाइहरू मुखरित गर्ने यस कथा संग्रहलाई थोरधेर समस्याहरू भए तापनि नेपाली  कथाफाँटकाे उत्कृष्ट कृति ठानेकाे छु । संसारका सबै लेखकका सबै कृति संधै सफल हुँदैनन् । जियराभित्रै कतै भनिएको छ यो ब्रह्माण्ड हल्लाहरूको विशाल तर अस्तव्यस्त लाइब्रेरी हो । त्यसैले मेरा कुराहरू पनि एक हल्ला नै त हुन् यस विशाल ब्रह्माण्डमा । तर यस्तो मजाको कथासंग्रह पढ्न पाउने अवसरका लागि कथाकारलाई धन्यवाद र जियरालाई धेरैधेरै शुभकामना । 


 

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार ९:५८:४२,   अन्तिम अपडेट : असोज २३, २०७८ शनिबार १०:६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया