पितृसत्तात्मक भएकाले हाम्रो समाजमा महिलाहरु लामो समयदेखि शारीरिक, मानसिक तथा यौन शोषणका शिकार हुन बाध्य छन् । यही समयमा विश्वमा अहिले चर्चामा रहेको छ– मिटू अभियान । दुव्र्यवहारविरुद्ध बोल्न चाहनेका लागि यो सबैभन्दा बलियो अभियान भएको छ ।
आफू काम गर्ने ठाउँमा होस् या अन्यत्र पनि किन नहोस्, यदि विभिन्न लोभ देखाएर यौन वा अन्य शारीरिक उत्पीडनको प्रस्ताव राखिने प्रचलन हाम्रो समाजमा पनि नभएको होइन । कतिपय अवस्थामा महिलाहरु यस्तो समस्यामाथि बोल्न सक्दैनन् । हिजो बोल्न नसकेपनि आज हिजोका दुव्र्यवहारविरुद्ध बोल्न र समाजलाई सचेत बनाउन मिटू अभियानले प्रभावकारी भूमिका खेलेको छ । हाम्रो जस्तो समाजमा यसको त्यसैले पनि निकै धेरै आवश्यकता छ ।
अभियानकै कारण वर्षौअघिदेखि बोल्न नसकेका महिलालाई अहिले साहस मिलेको छ, बोलेर पनि हिजो न्याय नपाएकाहरुलाई अब न्याय पाउने एउटा माध्यम यो अभियान हुन सकेको छ । किनकि यो अभियानले समूहमा आवाज उठाउन र संगठित भएर अधिकारका लागि लड्न सिकाएको छ । यो अभियानको सबैभन्दा सुन्दर पक्ष पनि यही हो, यसले मानिसलाई संगठित भएर आफ्नो हक–अधिकारका लागि अगाडि बढ्न साहस प्रदान गरेको छ ।
हाम्रो जस्तो समाजमा सानो हुँदा धेरैले दुव्र्यवहार भोगेका हुन्छन् तर मानसिकरुपमा अपरिपक्व भएकाले वा कतिपय सन्दर्भमा त्यो उचित हो भन्ने थाहा नपाएकाले पनि त्यसबारे नबोलिएको हुनसक्छ । विगतका ती कुरालाई सम्झिएर र आफूमाथि भएका हिंसाबारे अहिले सबैभन्दा सहज रुपमा प्रस्तुत गर्न मिटू अभियानले सहयोग गरेको छ । चाहे हलिउडमा होस् या बलिउडमा अहिले यो अभियानले निकै राम्रा नतिजाहरु दिएको छ । नेपालमा पनि विस्तारै यो अभियान सुरु भएको छ र यसले महिला तथा पीडित व्यक्तिहरुलाई सहयोग गर्ने निश्चित छ ।
र, नेपालमा पनि यसले सकारात्मक प्रभाव पार्नेमा विश्वस्त हुनसकिन्छ । उदाहरणका लागि रश्मिला महर्जनलाई लिन सकिन्छ । उनले तत्कालीन मेयर तथा अहिलेका प्रदेश ३ का मन्त्री केशव स्थापितले आफूमाथि गरेको दुव्र्यवहारबारे आवाज उठाएकी छिन् । अब त्यो विषयमाथि छानबिन हुन जरुरी छ । र, स्थापितले गलत गरेको प्रमाणित हुँदा उनलाई कारवाही गरिनुपर्छ । यसअघि पनि उनले यो कुरा उठाएकी थिइन् तर कसैले पनि त्यसलाई वास्ता गरेको थिएन । अब चाहिँ उनको आवाज लार्जर सर्कलमा सुनिएको छ, यो सब हुनुको कारण अहिलेको मिटू अभियान नै हो ।
मिटू अभियानले नयाँ संस्कारको पनि थालनी गरिदिएको छ । अब काम गर्ने ठाउँहरुमा यसबारे विमर्श हुन थालेको छ, यसबारे कुरा हुन थालेको छ । कुरा हुनु वा विमर्श हुनुले समाजलाई उन्नत नै बनाउँछ । त्यसैले पनि यो महत्वपूर्ण छ ।
धेरै सकारात्मक पक्षमा विचार र विमर्श गरिए पनि मिटू अभियानबारे नकारात्मक टिकाटिप्पणी पनि भइरहेका छन् । तर, एउटा गम्भीर अभियान केही नकारात्मक टिप्पणीका कारण रोकिनु हुँदैन, त्यसलाई निरन्तरता दिन जे गर्नुपर्छ, त्यो गर्नै पर्ने हुन्छ ।
अर्को बिर्सन नहुने कुरा के हो भने यो अभियान कुनै एउटा जेन्डर विशेष अभियान होइन । यो त दुव्र्यवहारमा परेका सबैको आवाजलाई बाहिर ल्याइदिने अभियान हो । त्यसैले यो महिलाको मात्र अभियान हो भनेर सोच्नु हुँदैन, यो सबैका लागि आवश्यक अभियान हो, सबैले यसमा समर्थन गर्न पर्ने हुन्छ ।
फरक के भने हाम्रो समाजमा पुरुषभन्दा महिलामाथि धेरै अन्याय भएको छ, महिलामाथि विभिन्न दुव्र्यवहार भएका छन् । त्यसैले यसबारे भ्रम छ– यो महिलाको मात्र अभियान हो । हामीले यो भ्रम जतिसक्दो छिटो चिर्नु आवश्यक छ ।
किनकि यो त एउटा यस्तो अभियान हो जसले हाम्रो समाजलाई दुव्र्यवहारमुक्त बनाउँदै अगाडि लैजान्छ, हामीलाई झन् समुन्नत बनाउँछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।