न्याय माग्न ५०० किलोमिटर हिँडेर काठमाडौंमा
फरकधार / २३ असोज, २०७८

सवारी साधनको विकास नहुँदा मानिसहरू महिनौंसम्म हिँडेर एक ठाउँबाट अर्को ठाउँ जान्थे । तर, अचेल सहज र सर्वसुलभ रूपमा सवारी पाइने हुनाले मानिसहरू धेरै हिँड्न मान्दैनन् र सक्दैनन् पनि । थोरै समय हिँड्न पनि अचेल मानिसलाई धाैधाै पर्छ ।
 
यदि कोही मानिस ५०० किलोमिटर हिँडेर पुग्यो भन्दा पत्याउन गाह्रो पर्छ । हो, साँच्चै न्याय खोज्न बाँकेबाट ५०० किलोमिटर हिँडेर एक समूह काठमाडौं पुगेको छ । त्यो पनि २० दिनमा । बाँके जानकी गाउँपालिका-२ की नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि असोज १ गते हिँडेको १६ जनाको टोली असोज २१ गते काठमाडौं आइपुगेको हो ।




 
१३ जना महिला र ३ जना पुरुषसहितको टोली यतिबेला सिंहदरबारको सरकारलाई झकझकाउन माइतीघर मण्डलामा रिले अनसनमा बसेको छ । राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष रुबी खानको नेतृत्वमा आएको टोलीले दुई जनाले न्याय नपाउँदासम्म रिले अनसन नतोड्ने निर्णयमा पुगेको छ । 

२० दिनको अवधिमा उनीहरूले राम्रोसँग ५ दिन मात्र खाना खान पाए । यात्राको क्रममा उनीहरूले निकै पीडा र समस्या भोगे । २४ घण्टामा उनीहरू तीनदेखि चार घण्टामात्र आराम गर्थे । न रातमा राम्रोसँग सुत्न पाए, न त दिनमा पेटभरि खान पाए । तर, उनीहरूले आफ्नो यात्राको गति भने घटाएनन् । किनकि उनीहरूलाई नन्कुन्नी र निर्मलाले भोगेको पीडा सिंहदरबारलाई सुनाउनु थियो । सिंहदरबारका शासकहरूलाई बाँके प्रहरीको ज्यादती र ठूलाबडाले कसरी कानून किन्न सक्छन् भन्ने देखाउनु थियो । त्यसैले त उनीहरूले आफ्नो पीडालाई भुलेर रातदिन हिँडिरहे ।
 
काठमाडौं आउने क्रममा यतिसम्म भयो कि उनीहरूको साथमा रहेको मोबाइल फोनसमेत चोरी भयो । यतिमात्र नभएर बाटोमा प्यास लागेको समयमा खानलाई भनेर बोकेको पानीसमेत लुटेर लगे । तर पनि उनीहरूको न पाइलाको चाल कम भयो, न त राज्यप्रतिको आक्रोश मर्‍याे । जति धेरै पीडा खेप्दै गए त्यतिधेरै साहस र उर्जा थपिन्थ्यो । हिँड्ने क्रममा धेरै महिला बिरामी समेत भए । ज्यानमाथिको अस्वस्थतालाई बिर्सेर उनीहरू काठमाडौंसम्म आइपुगे । 

टाेलीका राहुल सेक भन्छन्,- ‘हिँड्ने क्रममा निकै दुःख पाइयो । हामीले पाएको दुःखभन्दा पनि निर्मला र नन्कुन्नीको न्याय हाम्रो लागि ठूलो थियो । आफ्नो पीडाको प्रवाह नगरेर काठमाडौं पुगियो । अब त न्याय पाउँछ कि भन्ने आस पलाएको छ ।’



यात्राको क्रममा कहिले सडकको पेटीमा रात बिताए भने कहिले मठ मन्दिरमा । उनीहरू दिनमा ३५ किलोमिटरदेखि ४५ किलोमिटरसम्म हिँड्दथे । उनीहरूले हिँडेकाे ५ दिन पुगिसकेको थियो । त्यहीं बेला बाँके प्रहरीले ‘नन्कुन्नीका श्रीमान र उनका जेठाजुलाई हिरासतमा लियौं’ भन्दै फोन गर्‍याे । त्यसपछि खानले प्रश्न गरिन्,-‘यत्रो समय आन्दोलन गर्दा हिरासतमा लिन सक्नुभएन । अहिले आएर कसरी पक्राउ गर्न सक्नुभयो ?’

के हो घटना ? 

नेपालगञ्जको जानकी गाउँपालिका-२ की ३८ वर्षीया नन्कुन्नीको २०७८ साउन ५ गते मृत्यु भयो । नन्कुन्नीका श्रीमान रामकुमार धोबीले उनको माइती पक्षलाई आत्महत्या गरेको भन्ने जानकारी गराए।
 
दोस्रो दिन बिहान घरमा पुग्दा नन्कुन्नीको आत्महत्या नभएर हत्याजस्तो देखियो । दाइजोको निहुँमा उनका श्रीमान रामकुमार धोबी र उनको घरपरिवारले उनीमाथि पटक-पटक कुटपिट गर्ने, अपमान गर्ने गर्दै आएको थियो । उनको हत्या नै भएको दाबीसहित भाइ माताप्रसाद धोबीले उनका श्रीमान ४० वर्षीय रामकुमार धोबी, रामकुमारका दाजु ४५ वर्षीय इतवारी धोबी, ससुरा आधी धोबी लगायतविरुद्ध जाहेरी दिन खोजे । तर, प्रहरीले उनले आत्महत्या गरेको दाबी गर्दै जाहेरी नै दर्ता गर्न मानेन ।
 
यतिसम्म कि प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी र प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जाहेरी दर्ता नगरेर फाइल नै फ्याँकिदिए । जाहेरी दर्ता गर्नुको साटो जाहेरी लिएर जाने पीडित परिवारलाई नै थुनिदिन्छु, मुद्दा लगाइदिन्छु भनेर एसपी न्यौपानेले धम्की दिएको उनका भाइ माता प्रसादले बताए ।
 
प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित परिवारसहित महिला अधिकारकर्मीहरू जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसे । धर्नामा बसेको आठौं दिनमा प्रहरीले जाहेरी दर्ता गर्‍याे । तर, मृतकका श्रीमान रामकुमार र जेठाजु एतवारीविरुद्ध मात्र । घटनामा ससुरासहित ६ जनाको संलग्नता रहेको दाबीसहित जाहेरी दिन खोजेका थिए । प्रहरीले दुई जनाको मात्र जाहेरी दर्ता गराएको माता प्रसादको भनाइ छ ।
 
हत्याजस्तो जघन्य अपराधलाई प्रहरीले आत्महत्या गरेको भन्दै घटनालाई एकदमै हलुका रूपमा लियो । 

निर्मलाको अपहरणपछि हत्या

२०७७ पुस १६ गते नेपालगञ्ज उपमहानगरपालिका-१७ की निर्मला कुर्मी २०७५ माघ २५ गते राति १० बजेतिर बेपत्ता भइन् । लामो समयसम्म सम्पर्कविहीन बनेकी निर्मला पुष १४ गते हत्या गरिएको अवस्थामा फेला परिन् ।
 
एकल महिलासमेत रहेकी निर्मलाको स्थानीय बादशाह कुर्मीले अपहरण गरेका थिए । अपहरण गरेको दुई वर्षपछि उनको उनको कर्तव्य गरी हत्या गरेको जानकारी प्रहरीले दिएको थियो । उनका श्रीमान महालु कुर्मीको २०६० सालमा मृत्यु भएको थियो । २०६६ कात्तिकमा दुई जना छोराको समेत मृत्यु भयो । छोराहरूलाई बादशाहले नै विष सेवन गराएर हत्या गरेको दाबीसहित निर्मला न्यायको लडाइँमा थिइन् । उनका दुई छोराको एक साताकै बीचमा मृत्यु भएको थियो । जुन मृत्यु कालगतिले नभई बादशाहले विष सेवन गराएर हत्या गरेको निर्मलाको दाबी थियो । तर, प्रहरीले उक्त घटनाको अनुसन्धान गर्न जाहेरी समेत मानिरहेको थिएन । 

निर्मलाले आफ्नो छोराहरूलाई विष सेवन गराएर बादशाहले नै हत्या गरेको दाबी गर्दै आएकी थिइन् । सम्पत्ति हडप्ने उद्देश्यले यसरी योजनासहित नै बादशाहले हत्या गरेको दाबी निर्मलाको थियो ।  

मृत्युपछि बादशाहले छोराहरूको पोस्टमार्टमसमेत गर्न दिएन । छोराहरूको मुखसमेत हेर्न नदिएर चौरीमा लगेर जलाइदिएको भन्दै निर्मलाले न्यायका लागि ठूलो संघर्ष गरेकी थिइन् । उक्त मुद्दाको जाहेरी दर्ताका लागि संघर्ष गरिरहेकी निर्मलाको अपहरण गरी २०७७ पुस १६ गते हत्या भयो ।  

५० करोड रुपैयाँभन्दा माथिको सम्पत्ति बादशाहले आफ्नो नाममा गराएका थिए । कुर्मीलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिँदा जाहेरी समेत दर्ता गर्न प्रहरीले मानेन । त्यसपछि महिला अधिकारकर्मी खानसहित धर्नामा बसेपछि प्रहरीले २०७८ भदौ १० गते जाहेरी दर्ता गरेको थियो । 

तर, कुर्मीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्नेमा त्यसो नगरी पक्राउ गरिएको भनेर झुटा कागज प्रहरीले तयार गरेर सरकारी वकिलको कार्यालयमा बयान गराएर उक्त मुद्दालाई अहिले मुल्तबीमा राखिएको खानको भनाइ छ । 

यसरी हत्याको घटनामा बाँकेको प्रहरी प्रशासनले अनुसन्धान नै नगरेको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायतको ध्यानाकर्षण गराउन काठमाडौं आइपुगेको उनले बताइन् । 

‘बाँकेमा धर्ना, विरोध प्रदर्शन, जुलुस गर्दा प्रहरी प्रशासनको कान खुलेन । महिला नै राष्ट्रपति भएको देशमा यसरी महिलाले न्याय नपाउनु निकै दुःखको कुरा हो भनेर हामी उहाँको नै ध्यानाकर्षण गराउन हिँडेरै काठमाडौं आएका हौं’, खानले भनिन् । 

जबसम्म निर्मला र नन्कुन्नीका हत्याराले दोषी पाउँदैनन् तबसम्म काठमाडौंको आन्दोलन नरोकिने उनको भनाइ छ । 

नन्कुन्नीका भाइ माताप्रसादले आफ्नी दिदीको हत्यारालाई कारवाही नहुँदासम्म आफूहरू लडिरहने बताए । 

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १२:५१:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया