प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकले उपेन्द्र यादवको पुत्ला जलाए

वीरगन्जमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको उनकै कार्यकर्ताले पुत्ला जलाएका छन् । जसपाबाट पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा वीरगन्जमा प्रदर्शन गरिएको हो । 

मन्त्रीहरुको सूचीमा सांसद यादवको नाम नराखिएपछि (जसपा) पर्सामा खैलाबैला मच्चिएको छ । जानधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक भएको भन्दै प्रदर्शन गरिएको हो । मधेस आन्दोलनको उद्गमस्थल वीरगन्ज भएको र विद्रोहको विगुल फुक्ने तथा आन्दोलनको आँधिबेहरी ल्याउने स्थानलाई नजरअन्दाज गरिएको र किनारा लगाइएको भन्दै सांसद यादवका समर्थकले आक्रोश व्यक्त गर्दै पुत्ला जलाएका हुन् ।
 
सांसद यादवका समर्थकले वीरगन्जको घण्टाघरमा जसपाका अध्यक्ष यादवको पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पर्सा जिल्लालाई घात गर्न पाइँदैन, उपेन्द्र यादव मुर्दावाद, काला नाग मुर्दावाद, जसपाका शान प्रदीप यादव जिन्दावाद, नेता कस्तो प्रदीप यादवजस्तो  लगायत चर्को नारा लगाएका छन् । 

कालो झण्डासहित निकालिएको विरोध र्याली घण्टाघरमा पुगेर कोणसभामा परिणत गरिएको थियो । कोणसभाकै क्रममा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो । 

देउवा सरकारमा जसपाले चार मन्त्रालय पाएको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, भौतिक पूर्वाधार विकासमन्त्रीमा रेणु यादव, वनमन्त्रीमा बाराबाट रामसहाय प्रसाद यादव र कृषि मन्त्रीमा महेन्द्र राय यादवलाई सरकारमा पठाएपछि जसपा पर्साका नेता–कार्यकर्ता असन्तुष्ट बनेका हुन्। 

सांसद प्रदीप यादवले गत ०७४ को तीन तहकै चुनावमा पर्सामा महत्वपूर्ण योगदान दिएको, तर पार्टीले उनको योगदानको कदर नगरेको नेताहरुले प्रतिक्रिया दिएका छन् । यो विषयलाई लिएर उनका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुत्ला जलाएका हुन्।





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १५:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया