गत फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम भुक्तानी गरेर रोकिएको १० लाख डोज कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । भारतमा विगत सात महिनादेखि रोकिएको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए ।
सरकारले भारतको सेरम इन्स्टिच्युटले २० लाख डोज खोप खरिदका लागि अग्रिम भुक्तानी लिएको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप आउन सकेको थिएन । भारतमा देखिएको दोस्रो लहरको महामारीपछि भारत सरकारले खोप निर्यातमा रोक लगाएको थियो । जसले गर्दा नेपालले सात महिनादेखि खोप ल्याउन सकेको थिएन ।
त्रिभुवन विमानस्थलसम्म जहाजमा ल्याइएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राख्न लागिएको छ । त्यहाँबाट सातवटै प्रदेशमा पठाइने महाशाखा प्रमुख ढुंगानाले बताए ।
खरिद गरेर ल्याएको खोप एस्ट्राजेनेका को पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने गरी तयारी भइरहेको उनले बताए । कोभिशिल्ड थप खोप नआउँदा पहिलो डोज लगाएका १३ लाख ४८ हजार भन्दा बढीले लामो समय दोस्रो डोज लगाउन पाएका थिएनन् । पछि जापान र भुटानले अस्ट्राजेनिका खोप उपलब्ध गराएपछि दोस्रो डोजको रूपमा अस्ट्राजेनिका खोप लगाइएको थियो ।
अब भारतबाट आएको उक्त खोप अस्ट्राजेनिकाको पहिलो मात्रा लगाएका र बाँकी यसअघिको उमेर समूह अनुसार नै खोप लगाइने प्रमुख ढुंगानाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।