दिदीको न्यायका लागि संघर्षरत भाइ भन्छन्– प्रहरीले मृत्युलाई मजाक बनायो

बाँकेको जानकी गाउँपालिका–२ बेलभारअन्तर्गतको नेवाजी गाउँकी ३८ वर्षीया नन्कुन्नी धोबीले आफ्नो ज्यान खतरामा रहेको भन्दै ०७८ असार ७ गते राष्ट्रिय महिला अधिकार मञ्च बाँकेमा उजुरी दिइन् । दाइजोको विषयमा परिवारबाट शारीरिक र मानसिक यातना भोग्दै आएको भन्दै उनले पीडकमाथि कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् । 

आफूमाथि जुनसुकै बेला पनि हमला हुनसक्ने भन्दै त्यसका लागि उनले सुरक्षाको माग गरेकी थिइन् । यसरी ज्यान सुरक्षा माग गर्दै उजुरी दिएको एक महिना पनि नपुग्दै उनको मृत्युको खबर आयो । आफ्नो ज्यानमाथि गम्भीर खेलबाड भइरहेको उजुरी दिँदादिँदै उनको शंकास्पद मृत्यु भयो । दाइजोको विषयलाई लिएर श्रीमान् रामकुमार धोबी, जेठाजु एतवारी धोबीलगायत पूरै परिवारले उनलाई यातना दिँदै आएको पीडित पक्षको दाबी छ । 

दाइजोको विषयमा निरन्तर कुटपिट गर्ने, गाली गलौज गर्ने, घरनिकाला गर्नेजस्ता क्रियाकलाप उनीमाथि दिनहुँजसो भइरहन्थ्यो । सोही घटनापछि उनले आफ्नो ज्यानमाथि नै खतरा महसुस गरेकी थिइन् ।  

मृतकका भाइ माता प्रसादका अनुसार मृतक नन्कुन्नीका श्रीमान् र जेठाजुले उनलाई इन्ड्रिन र सल्फासको ट्याब्लेट दिएर ‘ल यो खाएर मरिहाल्, फाँसी लगाएर मरिहाल् नत्र म आफैँ तलाई मारिदिन्छु भन्दै धम्क्याएका थिए । तर, जति धम्क्याए पनि उनी न सल्फास खाने स्थितिमा पुगेकी थिइन्, न त फाँसी लगाएर आत्महत्या गर्ने मनसायमा थिइन् । 

उनी अन्तिम समयसम्म श्रीमान्, जेठाजु तथा घर–परिवारसँग संघर्ष गर्ने सोचमा थिइन् । आर्थिक अवस्था निकै कमजोर रहेकाले माइती पक्षलाई दाइजोको कुरा गर्ने हिम्मत पनि उनमा थिएन । न त उनी आफैँ कतैबाट व्यवस्थापन गरेर दाइजोका भोका श्रीमान्, जेठाजु तथा परिवारको प्यास मेटाउन सक्ने अवस्थामा थिइन् । 



जति मानसिक तथा शारीरिक यातना पाए पनि उनी सहेर बसिरहेकी थिइन् । अति नै गर्न थालेपछि तथा आफ्नो ज्यान नै तलमाथि हुने अवस्थामा पुगेपछि उनी महिला अधिकार मञ्चको शरणमा पुगेकी थिइन् । 

असार ७ गतेको उजुरीपछि मञ्चले बेलभर प्रहरी चौकीका प्रमुख तथा जोगागाउँ प्रहरी चौकीका प्रमुखसँग छलफल गरेको थियो । छलफलपछि प्रहरीले उनको घरमै गएर घर–परिवारलाई सम्झाई–बुझाई गरेको थियो । तर, जसरी पनि दाइजो चाहिने भन्दै परिवारले उनीमाथि हिंसाको क्रम झनै बढायो ।  



हिंसाको शृंखला नरोकिएपछि नन्कुन्नी साउन ५ गते मञ्चको शरणमा पुगिन् । श्रीमान्, जेठाजुलगायतले फेरि कुटपिट गर्ने, गालीगलौज गर्ने, ज्यान मार्ने धम्की दिन थालेको भन्दै उनले न्याय दिलाइदिन अनुरोध गर्दै महिला अधिकार मञ्चको ढोका ढकढक्याइन् ।  

साउन ६ गते बकर इदको सार्वजनिक बिदा भएकाले साउन ७ गते अफिसमा आउन अनुरोध गरियो । तर, साउन ६ गते नै उनका भाइ माताप्रसाद धोबीले फोन गरी दिदीलाई उनका श्रीमान् लगायतले फासी लगाएर मारिदिएको भन्ने जानकारी गराए । 

साउन ५ गते राति १० बजेतिर उनले आत्महत्या गरेको भन्दै रामकुमारले नन्कुन्नीका भाइ मातालाई फोनमार्फत जानकारी दिएका थिए । साउन ६ गते बिहान ६ बजेतिर दिदीले आत्महत्या गरेको भन्ने जानकारी रामकुमारबाट पाएपछि माइती पक्ष घटनास्थल पुग्यो । जहाँ आत्महत्या गरेको जस्तो देखिने कुनै पनि आधार नभेटिएको मृतकका भाइ माताप्रसाद बताउँछन् ।  

शव हेर्दा जिउभरि कुटपिट गरेको घाउ थियो, शरीरका विभिन्न भागमा धारिलो हतियारले चिरेको जस्तो देखिएको थियो । शवको प्रकृति हेर्दा मारेपछि झुण्ड्याएको जस्तो देखिएपछि माताले ज्यानसम्बन्धी कसुरको लिखित जाहेरी प्रहरीलाई दिन खोजे । श्रीमान्सहित घर–परिवारका सदस्य मिलेर दिदीको हत्या गरेको भन्दै जाहेरी दिन खोज्दा प्रहरी जाहेरी लिन तयार भएन ।

प्रहरीले उक्त घटनालाई आत्महत्या देखाएर घटनास्थलको मुचुल्का उठाउँदा नन्कुन्नीका बुबालाई जबरजस्ती ल्याप्चे लगाउन लगायो । ल्याप्चे लगाउन नमाने थुनिदिने धम्की दिएपछि उनका बुबा मुचुल्कामा ल्याप्चे लगाउन तयार भए । 

खिलित जाहेरी दिँदा पनि प्रहरीले उनका श्रीमान्माथि अनुसन्धान नै नगरी छाडिदियो । यति मात्र नभएर प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी तथा डिएसपी मधुसूदन न्यौपानेले जाहेरी दिन जाँदा उल्टै माइतीपक्षलाई धम्क्याउन थाले । 

यतिसम्म कि प्रहरी उपरीक्षक अधिकारी र प्रहरी नायव उपरीक्षक न्यौपानेले जाहेरी दर्ता नगरी फाइल नै फ्याँकिदिए । जाहेरी दर्ता गर्नुको साटो जाहेरी लिएर जाने पीडित परिवारलाई नै उल्टै थुनिदिन्छु, मुद्दा लगाइदिन्छु भनेर एसपी न्यौपानेले धम्की दिन थाले । त्यसपछि जाहेरी दर्ता गर्न माग गर्दै महिला अधिकारकर्मीसहितका पीडित जिल्ला प्रशासन कार्यालयमा १९ दिन धर्नामा बसे । 

धर्ना दिएको आठौँ दिन अर्थात् भदौ २० गते प्रहरीले जाहेरी दर्ता त गर्यो, तर मृतक नन्कुनीका श्रीमान् रामकुमार र जेठाजु एतवारीविरुद्धको मात्र । घटनामा ससुराली पक्षका ६ जनाको संलग्नता रहेको दाबीसहित जाहेरी परेको थियो । प्रहरीले दुईजनाको मात्र जाहेरी दर्ता गर्न तयार भयो । पूरै परिवार नै मिलेर दिदीको हत्या गरेको, तर प्रहरीले दुईजनाविरुद्ध मात्र जाहेरी दर्ता गरेको मृतकका भाइ माताप्रसादले बताए । प्रहरीले नन्कुन्नीको शंकास्पद मृत्युलाई आत्महत्या बनाएर सामान्य बनाएको आरोप माताप्रसादको छ । 

‘प्रहरीले पैसा खाएर केसलाई नै मिलाएर आत्महत्या देखाएको छ । आत्महत्या गरेको भए शरीरका अंग–अंगमा चिरेको हुन्छ ? झुण्डिएको भनिएको ठाउँमा केही त सपोर्ट हुनुपर्ने होइन र ? त्यहाँ त केही पनि छैन, अनि कसरी आत्महत्या गर्न सकिन् ? यावत प्रश्नको जवाफ प्रहरीसँग छैन,’ माता प्रसादले भने । दाइजोको नाममा रात–दिन चरम यातना दिँदा पनि आफ्नो दिदीले आत्महत्याबारे सोच्न समेत नसोचेको भन्दै उनले भने, ‘जसरी भएपछि उनीहरूविरुद्ध कानुनी लडाइँ लड्छु भन्दै हिँडेकी मेरो दिदीले त्यस्तो काम गर्न सक्दिनन् ।’

रामकुमारको परिवारले पैसा खुवाएर पोस्टमार्टम गर्ने ठाउँदेखि प्रहरी प्रशासन सबैलाई मिलाइसकेको उनको दाबी छ । उनको न्यायका लागि भन्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको टोली काठमाडौं आएको छ । असोज १ गते नेपालगन्जबाट हिँडेर २० दिनमा काठमाडौं आइपुगेको टोलीमाथि प्रहरीले धरपकड गरिरहेको छ । 

सत्यतथ्य छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दा आफूहरूमाथि राज्यले दमन गर्न लागेको मञ्चकी अध्यक्ष रुबी खानले बताइन् । 

न्याय माग्न ५०० किलोमिटर हिँडेर काठमाडौंमा

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १८:१५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया