धनगढीमा सम्पन्न प्रथम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो ।
पहिलो सेट २५–२२ ले जितेको डोटीले दोस्रो सेट सजिलै २५–१३ ले जित्यो । त्यस्तै, तेस्रो सेटमा १७–१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कंदा डोटीले २५–२१ ले जित्दै च्याम्पियन भएको हो ।
उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ । यस्तै, प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिम कैलाली र कन्चनपुरले २५–२५ हजार नगदसहित ट्रफी पाएका छन् ।
विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु भए । त्यसैगरी कञ्चनपुरका सन्तोष महत्ता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरवहादुर विक उत्कृष्ट स्पाइकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक भए ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको समापन समारोहका सभापति परिषदका सदस्य सचिव दीपकवहादुर सिंह रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी थिइन् ।
सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार भएको प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमको सहभागिता थियो । सुदूरपश्चिममै पहिलोपटक म्याटमा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने भएको छ । ती खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।