प्रदेश २ को राजधानी जनकपुरधाम नै रहन्छ : कांग्रेस उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नम्बर २ को नामाकरणमा विवाद रहे पनि राजधानी भने जनकपुरधाम नै रहने दाबी गरेका छन् ।
 
शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति निधिले प्रदेशको राजधानीको सवालमा दुईमत नरहेको भन्दै जनकपुरधाम सबै दृष्टिकोणले उपयुक्त रहेको प्रस्ट गरे । 

उनले भने, ‘प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै रहन्छ, यसमा कुनै शंका नगर्नुस् । जचुकालिको भवन पनि प्रदेश सरकारका लागि उपयुक्त रहेकाले यो भन्दा अर्को कुनै उत्तम विकल्प नै छैन ।’

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले प्रदेशको राजधानी जनकपुरधामबाट सार्ने उद्देश्यले केही पार्टीका नेताले जचुकालि पुनः सञ्चालन गर्ने कुरा गरेर जचुकालिको सबै सम्पत्ति बेच्ने षड्यन्त्र गर्न लागिपरेको आरोप समेत लगाए । 

उपसभापति निधिले जनसंख्याका आधारमा मैथिली भाषा नेपालको दोस्रो र प्रदेश २ को पहिलो भाषा रहेकोले मैथिली सरकारी कामकाजको भाषा बन्नेमा दुई मत नरहेको प्रस्ट्याए । उनले मैथिली भाषालाई प्राथमिकतामा पार्नका लागि आवश्यक दबाब दिइरहन प्रदेशवासीलाई आग्रह समेत गरे ।  

अर्को प्रसंगमा बोल्दै नेता निधिले आफू कांग्रेसको आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेकोले पार्टीका नेता– कार्यकर्तालाई आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढाएको उनले बताए ।

लामो समय सभापति शेरबहादुर देउवानिकट रहेर काम गरेका निधिले आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरी महाधिवेशनकेन्द्रित गतिविधि अगाडि बढाएका छन् ।





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १९:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया