ओलीको पालामा भएको भ्रष्टाचारको छानबिन गर्न माधव नेपालको माग

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको भ्रष्टाचारको छानबिन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेका छन् । 

एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

केपी शर्मा ओली सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिदलगायत धेरै मुद्दाको ढाकछोप गर्ने कोसिस भएको बताउँदै उनले राज्यको सम्पत्तिको दुरुपयोग गर्नेलाई एक–एक छानबिन गर्ने काम गर्न आग्रह गरे । ‘संसारका देशमा प्रधानमन्त्रीदेखि जुनसुकै ओहोदाका व्यक्तिलाई पनि राज्यको सम्पत्तिको दुरुपयोग गर्छ र भ्रष्टाचार गर्छ भने त्यसमाथि छानबिन हुन्छ,’ उनले भने, ‘तर यहाँ कुनै पनि छानबिन भएन, त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री र वर्तमान सरकारलई म आग्रह गर्न चाहन्छु ।’ 

सो क्रममा उनले आफ्नो पार्टी लोकतान्त्रिक विधि र तरिका अवलम्बन गर्न चाहेको बताउँदै पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन आग्रह गर्दै उनले गलत काम गरेको खण्डमा मन्त्रीबाट हटाइने प्रस्ट पारे । 

‘यदि भनेजस्तो काम गरेन भने कारबाही गर्दै मन्त्रीबाट हटाइनेछ,’ उनले भने, ‘भ्रष्टाचार, अनुचित काम गर्ने र देशलाई आँच पुर्याउने खालका काम गर्नेलाई छुट दिन सकिँदैन ।’ 

उनले आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार थप निर्देशन दिने बताए ।



अब बागमती प्रदेश र प्रदेश नं १ मा छिट्टै नै आफू नेतृत्वको पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको उनले बताए । त्यससँगै सुदूरपश्चिम प्रदेशमा आफू नेतृत्वको पार्टी एक नम्बरको भएको र प्रदेश २ मा एकीकृत समाजदावी पार्टी एमालेभन्दा अगाडि रहेको दाबी गरे । 

पार्टी विस्तारै मजबुद हुँदै गएको दाबी गर्दै उनले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिए । पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरु दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न उनले निर्देशन दिए । 



  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १९:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया