माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आइतबार हुने खेलमा नेपालले भारतको सामना गर्दैछ ।
खेल मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।
सुरुवाती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासका साथ मैदान उत्रनेछ । तर नेपाललाई सातपटकको विजेता भारतविरुद्ध जित निकाल्न त्यती सहज भने हुने छैन ।
भारतविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै एक खेल अगाबै फाइनल पुग्न चाहन्छ ।
नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो ।
अघिल्ला दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कका साथ चौथो स्थानमा छ । भारत फाइनलको सम्भवना कायमै राख्न नेपालविरुद्ध जित्नै पर्ने दबाबमा छ ।
भारतले पहिलो खेलमा बंगलादेशसँग १–१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।
इतिहासलाई हेर्ने हो भने हालसम्म नेपाल र भारतले २२ खेलमा एक अर्काको समाना गरेका छन् । जसमा भारतले १४ खेल आफ्नो पक्षमा पार्दा नेपालले मात्र ३ खेल जित्न सकेको छ । ५ खेल बराबरीमा सकिएको छ ।
भारत आजको खेलमा पनि यही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । तर प्रतियोगितामा खराब लयबाट गुज्रिरहेको उसका लागि उच्चलयमा रहेको नेपालविरुद्ध जित निकाल्न त्यती सहज भने हुने छैन ।
नेपाल पनि इतिहास भुलाउँदै भारतलाई पराजित गरेर पहिलोपटक साफको फाइनलमा पुग्ने दाउमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।