दसैंमा मृत्युको सन्देश बोकी आउने एउटा गीतको सयौं कथा
फरकधार / २४ असोज, २०७८

दलिनको काँटीमा झुण्डिएको रेडियो सुनाइरहन्थ्यो जम्मु–काश्मिरको लडाइँको कथा । यता बुटवलमा काश्मिरको त्यही कथा सुन्थे र चोइटिन्थे लक्ष्मण रायामाझी । उनकै आँगनको बाटो भएर एकदिन पल्टनको लाहुरे घर फर्किंदै थिए । पिँढीको डिलमा बसेर करुवाको पानी खाँदै आफ्नै कथा सुनाए, साथीलाई । साथीको मनमा दौडिएका भावनाका छालहरुले तरंग पैदा गरेर गयो लक्ष्मणको मथिंगलमा । त्यही तरंगलाई कापीमा कोरे...



नमुछे आमा दहीमा टीका, नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर...

आफैंले लेखेका शब्दले आफैंलाई भावविह्वल बनायो । लक्ष्मणका भाइ नारायण रायमाझी त्यतिबेला चिनिएका संगीतकार तथा गायक भैसकेका थिए । उनले एकदिन भाइलाई सुनाए त्यही कथा । र, उनैलाई सुम्पिए आफूले कोरेका शब्द । लक्ष्मणले २०५३ सालमा नारायणलाई दिएको शब्द लामो समय रेकर्ड हुन पाएन । 

यो गीत रेकर्ड हुनुअघि नै एक वृत्तमा चर्चित भैसकेको थियो । गीतमा धुन भरे, नारायणलाई निकै छोयो । भावुक बनायो । त्यसपछि आफैंले गाए । गीत रेकर्ड नहुँदै उनले धेरैपटक गाए । नारायण साथीभाइको जमघट र विभिन्न स्टेज कार्यक्रममा गाउँथे । धेरैका आँखा रसाउँथे । कतिले गीत राम्रो भनेर प्रतिक्रिया दिन्थे । 



त्यसपछि २०५५ सालमा नारायण रायमाझीले पहिलो पटक गीतको अडियो रेकर्ड गरे । आमा–बुवालाई सुनाए । उनको घरमा लाहुरे त कोही थिएनन्, तैपनि उनका बुवा–आमाको मन थामिएन । गीतको अन्तरासँगै आँखाबाट बर्सिएका थिए बा–आमाका आँसु । अहो ! सबैभन्दा भयानक हुने रहेछ बुवाका आँखाबाट बगेका आँसु । गीत सुनेर थुप्रैले बगाएका आँसुपछि पहिलो पटक नारायणले छुट्टै देखे आँसुको कथा पनि ।

यो गीत नवलपरासीको एउटा बस्तीको कथा थियो । एकै परिवारका पाँच भाइछोरा पल्टनमा । तिनै पल्टने लाहुरे मध्येका एक थिए लक्ष्मणका साथी । रेकर्ड भएपछि नवलपरासीको यो कथा समग्र देशको कथा बन्यो । लक्ष्मण र नारायणलाई लागेकै थिएन गीत यति लोकप्रिय बन्ला भनेर ! 

दोस्रो पटक कृष्णभक्त राईको आवाजमा

गीत चर्चित हुँदै थियो । त्यसबेला एफएम त्यति धेरै थिएनन् । अहिलेजस्तो म्युजिक भिडियो निर्माणको समय पनि सुरु भएको थिएन । रेडियो नेपालबाट गीत धेरै बज्थ्यो । एक भेटमा गायक कृष्णभक्त राईले गीत गुनगुनाएर सुनाए । नारायणलाई लाग्यो ‘यो गीत त कृष्णले गाउँदा झन् मीठो सुनियो ।’ त्यसपछि कृष्णभक्तको आवाजमा रेकर्ड भएको गीतले झन् धेरै चर्चा कमायो । 

गीतले चर्चा कमाउँदै थियो । गीतकार लक्ष्मणको हाई प्रेसरले ‘नर्भसिस्टम’ ड्यामेज बनायो । उपचार सम्भव भएन । २०५७ सालमा उनको मृत्यु भयो । यतिबेलासम्म गीतको म्युजिक भिडियो निर्माण भएकै थिएन । भिडियो निर्माण गरेपछि गीत झनै लोकप्रिय बन्यो । नारायणको मनमा सधैं खड्किरहन्छ, ‘आफ्नो सिर्जना संसारले मन पराएको दाइले देख्न पाउनु भएन । यो सफलता देख्न पाउनु भएको भए कति खुसी मिल्थ्यो होला उहाँलाई । मैले भिडियो निर्माणमा ढिला गरेछु ।’

लक्ष्मण निकै भावुक मान्छे, हरेक पटक गीत लेख्दा भावनामा अधिक डुब्थे । दाजुले लेखेका भावनात्मक गीत उनको मृत्युपछि झन् मार्मिक लागे नारायणलाई । उनकी आमाले त्यसपछि यो गीत सुन्न सकिनन् । हिजोआज पनि गीत बज्न सुरु गरेपछि उनी रुन थाल्छिन् ।  

गीतमा आउने दाइको त्यो अनुहार...

यो गीत नारायणले थुप्रै स्टेजमा गाएका छन् । हरेकजसो ठाउँका फरकफरक अनुभूति छन् नारायणका । गीतको पहिलो लाइन, ‘नमुछे आमा दहीमा टीका...’ भन्दा वातावरण सुनसान हुन्थ्यो । यो हरेक ठाउँको अवस्थाको कथा हो । सबै ठाउँमा उस्तैउस्तै प्रकारको सन्नाटा छाउँथ्यो । यो क्रम अहिले पनि जारी छ । गीत गाउँदै जाँदा नारायणका गला कयौंपटक अवरुद्ध भएका छन् । दाजुको मृत्युपछि उनलाई झन् गाह्रो हुन्छ । गीत गाउँदै जाँदा गह्रांै हुन्छ, उनको आफ्नै मन । झल्झली देख्छन् दाजुलाई । दाजुसँगका हरेक पल आँखाभरि भएर आउँछन् । अनि फेरि सम्झन्छन्, ‘गीतको यो लोकप्रियता कहीँबाट दाइले हेर्न पाउनु भएको छ कि छैन होला ?’

गीतले बनाएको वातावरण सम्झँदै नारायण भन्छन्, ‘एकपटक इन्डियाको भाक्सु भन्ने ठाउँमा कार्यक्रम थियो । त्यहीँ नेपालीको बाहुल्य छ । धेरै त पल्टनमा गएका लाहुरे नै थिए । गीत सकिँदासम्म पनि सकिएका थिएनन् दर्शकका हिक्का ।’ 

पाल्पाको रिडीको घटना पनि कहिल्यै बिर्सन सक्दैनन् उनी । भन्छन्, ‘गुल्मी र पाल्पाको सिमानामा ठूलो मेला लागेको थियो । त्यहीँ मैले यो गीत गाएको थिएँ । मान्छेको ठूलो जमात, सबैका आँखामा आँसु । त्यो कार्यक्रमको भिडियो हेर्दा अहिले पनि मेरा आँखा थामिँदैनन् । आमालाई त्यो भिडियो देखाउने आँट जुटाउन अझै पनि सकेको छैन ।’ गीतसँग गाँसिएका यस्ता धेरै अनुभूति छन् उनीसँग । अनुभूति सुनाउँदै गर्दा नोस्टाल्जिक हुन्थे नारायण र भारी सुनिन्थ्यो उनको आवाज । 

भिडियो गर्दा झन् धेरै पीडा

गीतको म्युजिक भिडियो अलि पछिमात्रै निर्माण भएको थियो । सामान्य रुपमा निर्माण गरेको भिडियो नेपाल टेलिभिजनबाट केही पटक प्रसारण भयो । अहिलेजस्तो युट्युबले बजार तताएको थिएन । नारायणले भिडियो रिलिज गरेनन् । उनी कुनै समय सन्दर्भ मिलाएर रिलिज गर्ने पर्खाइमा थिए । तर, उनी आफैंलाई थाहा थिएन आफैंले मिलाउन चाहेको समय सन्दर्भ । त्यसैले त्यो भिडियो रिलिज हुन पाएन । 

पछि पुनः उनले आफ्नै निर्देशनमा गीतको नयाँ म्युजिक भिडियो निर्माण गरे । पहिले निर्माण गरेको भिडियोमा एक फौजीको कथा समावेश गरेका थिए । पछिल्लो भिडियोमा भने कथा परिवर्तन गरे । 

रोजगारीको सिलसिलामा अरब पुगेको नेपालीको कथा उतारे । परिबन्दले मृत्युदण्डको सजायँ पाएको एक निर्दोष नेपालीले घर सम्झिएर गाउँदै गरेको भिडियोले झन् धेरै मानिसको ध्यान खिच्यो । धेरै नेपालीले आफ्नै कथा सम्झेर हेरे । हेरेर रोए ।

भिडियोमा रमा थपलिया, देबेन्द्र बब्लु, अञ्जली अधिकारीलगायतका कलाकारले अभिनय गरे । छायांकन स्थलमा पनि नारायणलाई थुप्रै पटक आफूलाई सम्हाल्न गाह्रो भएको थियो । कलाकारलाई भावुक बनाउने थुप्रै प्लट थिए । नारायणका मनमा दाजु आउँथे । आँखामा आँसु । धेरैको भावना छोएर लोकप्रियताताको उकालो यात्रा गरेको गीतको कथालाई अर्को रुप दिनु निकै चुनौती थियो । गीतको लोकप्रियता र मर्मलाई भिडियोको कथाले समेट्न सक्ला कि नसक्ला उनी आफैंभित्र चिन्ता थियो । सबैभन्दा ठूलो चिन्ता थियो– ‘गीतको भिडियो आमालाई कसरी देखाउने ! भिडियो हेरेर आमाका आँखाबाट झर्ने आँसुको मूल्य मैले कसरी चुकाउनु !’ भिडियो हरेर झन् धेरै मानिसले आँसु खबर पठाए । 

गीतसँग गाँसिएका सुख दुःख सुनाउने क्रमको अन्त्यमा नारायणले भने, ‘मेरो जीवनको सबैभन्दा महत्वपूर्ण गीत हो यो । धेरै कारणले सबैभन्दा प्राथमिकतामा परिरहन्छ । यस्ता गीत सधैं जन्मिँदैनन् । यो गीत नसुन्ने नेपाली कमै होलान् । मेरो जिन्दगीको सफल सिर्जना हो जस्तो लाग्छ मलाई यो गीत ।’

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार ८:१७:१०,   अन्तिम अपडेट : असोज २४, २०७८ आइतबार ११:३३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया