तीन दिनमा तीन नेताद्वारा जसपा परित्याग

जनता समाजवादी पार्टी (जसपा), नेपालका नेताहरुले धमाधम राजीनामा दिन थालेका छन् । तीन दिनको अन्तरालमा तीनजनाले पार्टीबाट राजीनामा दिइसकेका छन् । 

पार्टी अध्यक्ष उपेन्द्र यादव संगठन समायोजनका कार्यक्रम भन्दै जनकपुरधाम आएको बेला उनको पार्टीका नेताहरु धमाधम राजीनामा गरिरहेका छन् । 

शुक्रबार पार्टीका कार्यकारिणी सदस्य उमेश साहले सामाजिक सञ्जालमार्फत अबदेखि पार्टीमा नरहने भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । उनले जसपा परित्याग गर्दै तत्काललाई स्वतन्त्र रहने बताएका छन् । 

त्यस्तै, आइतबार पार्टीका प्रदेश २ का अध्यक्ष विजय यादव र मधेस प्रदेश समितिका मुख्यसचिव शम्भु झाले पनि राजीनामाको घोषणा गरेका छन् । पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले आजैको मितिबाट पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको मुख्यसचिव झाले जनाएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म जनता समाजवादी पार्टी मधेस प्रदेश समितिको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिना देखि काम गरें । मेरो योग्यता र क्षमता भन्दा ठुलो पद मैले पाएँ । म आफ्नो कार्यकालका प्रदेश अध्यक्षद्वय रेणु यादव र विजय यादव प्रति आभार ब्यक्त गर्दछु । म अन्य कुनै पनि राजनीतिक पार्टीमा जाँदिन । यस पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मितिदेखि म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसै मार्फत जानकारी गराउन चाहन्छु ।’ 

यता, प्रदेश समितिका अध्यक्ष विजय यादवले पनि राजीनामा दिएका छन् । पार्टीको एक व्यक्ति एक पद अवधारणा अन्तर्गत प्रदेश समितिको समायोजन हुनु अगावै अध्यक्ष यादवले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् । 



अध्यक्ष यादवले एक साताअघि नै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा पत्र बुझाइसकेका हुन् । 

राजीनामा सम्बन्धमा प्रदेश अध्यक्ष यादवले आफूले करीब एक साताअघि नै राजीनामा पत्र केन्द्रीय अध्यक्षलाई बुझाइसकेको बताए । उनले राजीनामाको कारण बारे केही खुलाएनन् । 



समायोजन हुन लागेको समितिमा अध्यक्ष र मुख्य सचिव दुवैले आफूलाई सोही पदमा निरन्तरता दिन माग गरेको र त्यसका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव सहमत नभएपछि उनीहरुले राजीनामा​ दिएको बुझिएको छ । जसपा नेपालको विधानमा एक व्यक्ति, एक पदको अवधारणा रहेको छ । 

प्रदेश अध्यक्ष यादव प्रदेश २ सरकारका भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री तथा  केन्द्रिय कार्यकारिणी सदस्य समेत हुन् । 

यादवले राजीनामा दिएपछि अब पार्टीको प्रदेश २ को अध्यक्ष जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य लालकिशोर साहलाई बनाइने स्रोतले जनाएको छ । 

प्रदेश अध्यक्षको आकांक्षीमा लालकिशोरसँगै महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बालकिशोर यादव, ज्ञानेन्द्र यादव, राजकिशोर यादव, शैलेन्द्र साहलगायत रहेका छन् । 

प्रदेश २ मा अध्यक्ष उपेन्द्र यादवप्रति उनका नेता कार्यकर्ताहरु आक्रोशित रहेको बेलामा पार्टी छाड्नेहरुको संख्या बढ्दै गएका हुन् । कतिपय ठाउँमा अध्यक्ष यादवको पुत्ला दहनसमेत गरिएको छ ।

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १८:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया