पार्टीको नेतृत्व अब युवा पुस्ताले गर्छः कांग्रेस उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नेतृत्व अब युवा पुस्ताले गर्ने बताएका छन् । 

आइतबार धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ को नगराइनमा विजयादशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलामा बोल्दै उनले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवा पुस्ताले गर्ने दावी गरे । 

अब आउने महाधिवेशनमा विश्वप्रकाश शर्मा र गगन थापाको दावेदारी रहने भएकोले अबको पाँच वर्षपछि युवापुस्ताले कांग्रेसको नेतृत्व गर्ने बताए ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न समेत उनले आग्रह गरे । 

निधिले भने, ‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छु । सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा रहेकोले तपाईंहरुको साथ, सहयोग र समर्थन चाहेको छु ।’ 



१४ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेको र सभापति देउवाले आफूलाई सहयोग गर्ने वचन १३ औँ महाधिवेशनकै बेला दिएको उनले स्मरण गरे ।

सभापति देउवासँगको कुराकानीबारे उपसभापति निधिले कार्यकर्ताहरूलाई सुनाउँदै भने, ‘ उहाँले सबै नेताहरूका बीच यो मेरो अन्तिमपटक हो, अब तपाईं नै हो भन्नुभएको थियो । त्यसैले यसपाली उहाँले मलाई सहयोग गर्नु नै पर्छ ।’ 



उपसभापति निधिले वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गर्न जिल्लाका नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरेका छन् । 

कार्यक्रममा पूर्वमन्त्री रामकृष्ण यादव, प्रतिनिधिसभा सदस्य स्मृति नारायण चौधरी, प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादव, धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति कन्हैया लाल कर्ण, क्षेत्र नम्बर ३ (क) का सभापति दिनेश लाल कर्ण (दिपक), तरुण दलका अध्यक्ष संजय लाभ कर्णलगायतकको उपस्थिती रहेको थियो ।

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १९:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया