प्रदेश १ खेलकुद सदस्य सचिवमा पर्शुराम बस्नेत नियुक्त, भन्छन्– खेलकुद क्षेत्रकाे उचाइ बढाउँछु

प्रदेश १ सरकारले प्रदेश १ खेलकुद विकास बाेर्डको सदस्य सचिवमा नेकपा एमालेका नेता तथा नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतलाई नियुक्त गरेको छ । 

आज बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले बस्नेतले सदस्य सचिवमा नियुक्त गरेको हो ।

पछिल्लो समय खेलकुद र अन्य सामाजिक कार्यमा सक्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतले अब आफूले खेलकुदको उचाइ बढाउन काम गर्ने बताएका छन् ।

‘खेलकुद कुनै पनि देशका लागि सबैभन्दा महत्वपूर्ण अंग हो, नेपाली खेलाडीहरुले हाम्रो देशको झन्डा विदेशी भूमीमा फहराइरहेका हुन्छन्,’ उनले भने, ‘तर, देशमा समयसमयमा खेलाडीहरु पलायन भएका समाचार आइरहेका हुन्छन्, उनीहरुको अवस्थाबारे एउटा विशिष्ट कार्यदिशा बनाएर यो क्षेत्रले राम्रोसँग काम गर्न सकेको छैन, त्यसका लागि म पहल गर्नेछु ।’

उनले आफूले खेलकुद महासंघको वरिष्ठ उपाध्यक्ष भए पछि नेपालमा खेलकुद क्षेत्र र खेलाडीको अवस्थाबारे थप गहिराइमा बुझ्न पाएकाले अब प्रदेश सरकारले दिएको जिम्मेवारी गम्भीर, उत्तरदायी र पारदर्शी भएर निर्वाह गर्ने पनि बताए ।

तर, प्रदेश एकको सरकार अल्पमतमा परिसकेको छ ।



यस्तो अवस्थामा तपाईं कति लामो समय सदस्य सचिव हुनुहुन्छ होला भन्ने प्रश्नमा बस्नेतले भने, ‘काम गर्नका लागि लामो समय र छोटो समय भन्ने हुँदैन, एउटा विशिष्ट कार्यदिशा बनाएर र नीतिगत रुपमा त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि म जति दिन यो जिम्मेवारीमा हुन्छु, त्यति दिन त्यसको विशिष्टतालाई ख्याल गर्छु र काम गर्नका लागि वातावरण बनाउँछु ।’

बस्नेतले आफूले जतिसक्दो छिटो नेपाली खेलकुद र प्रदेश १ को खेलकुदको उचाइ बढाउनका लागि आफू निरन्तर लाग्ने पनि बताएका छन् ।



‘खेलकुदले एउटा ठाउँ मात्र होइन, हाम्रो राष्ट्रको चिनारी उँचो बनाइरहेको हुन्छ,’ उनले भने, ‘त्यसैले विश्वमा नेपाली खेलकुदलाई थप बलियो बनाउन के गर्नु पर्छ भन्ने विषयमा खेलाडी, यो क्षेत्रका विज्ञहरुसँगको परामर्श गरेर तत्काल काम सुरु गर्नेछु ।’

बस्नेतले साेमबार दिउँसाे सदस्य सचिवकाे सपथ लिँदैछन् ।

आजकै मन्त्रिपरिषद् बैठकले प्रदेश १ खेलकुद बोर्डको उपाध्यक्षमा बाबा मोन्याङ्गोलाई पनि नियुक्त गरेको छ ।

त्यस्तै, बोर्डका सदस्यहरुमा सन्तोष वान्तवा, शम्भु पौडेल, सन्तोषी श्रेष्ठ, थलुराज भण्डारी, भेषराज कार्की, विप्लव घोष, घनश्याम दाहाल नियुक्त भएका छन् ।
 

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार २१:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया