तपाई हाम्रो घर आँगनमा दशैं भित्रिसकेको छ । परदेश तथा टाढा रहेका आफन्त घर फर्किने क्रम जारी छ । हरेकको चाहना दशैं दशा नबनोस् भन्ने हुन्छ । तर, रूपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रका सुकुम्बासीलाई भने दशा जस्तै बनेको छ । त्यो पनि राज्यको तर्फबाट ।
औद्योगिक क्षेत्रमा बसोबास गर्दै सुकुम्बासीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाले ज्यान गुमाएका छन् । दुई दर्जन भन्दा बढी घाइते भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला समेत रहेको रुपन्देहीमा दशैंको मुखमै सुरक्षाकर्मीले गोली प्रहार गरेर नागरिकको ज्यान लिएको हो ।
सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था आए घुडामुनी मात्रै चलाउनुपर्छ । तर, गोली लागेकाहरूको कसैको छातीमा समेत लागेको छ । सशस्त्र प्रहरी बलले आफुहरुमाथि ताकिताकी गोली प्रहार गरेको स्थानीयको भनाइ छ ।
सशस्त्र प्रहरीको गोली लागेर कपिलवस्तुको वाणगंगा १० का ४८ वर्षीय रमेश परियारसहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्य तीन जनाको सनाखत हुन सकेको छैन् । परियारको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । भने अन्यको उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । मृतक चारै जनाको शव मेडिकल कलेजको शवगृहमा राखिएको छ ।
मोतीपुर घटनाः ४७ जना घाइते, प्रशासनले लगायो कर्फ्यू
औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्न खोज्दा स्थानीय प्रशासनले डोजर चलाइरहेको थियो । राति राति डोजर चलाउने गरेको भन्दै सुकुम्बासी आक्रोशित हुँदै विरोध प्रदर्शनमा उत्रिएका थिए । त्यही क्रममा उनीहरुले सुरक्षाकर्मीमाथि ढुंगा मुढा प्रहार गर्न थाले ।
सडकमा टायर बाल्ने, लाठी तथा भाटा प्रहार गर्ने लगायतका गतिविधि सुकुम्बासीको तर्फबाट भयो । यति मात्र नभएर उनीहरुले पेट्रोल बम समेत प्रहार गरेको सुरक्षा निकायको दाबी छ । स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार र हवाई फायर गरिएको रुपन्देही प्रहरी कार्यालयका प्रमुख मनोज केसीले बताए ।
झडपमा परी स्थानीय तर्फ १६ जना, नेपाल प्रहरी तर्फ १६ र सशस्त्र प्रहरीतर्फ १५ जना घाइते भएका छन् । घाइतेमध्ये सुरक्षाकर्मीलाई ढुंगामुढा लागेको छ भने स्थानीयलाई सुरक्षाकर्मीले चलाएको गोली लागेको छ ।
बुटवलको मोतीपुरमा सशस्त्र प्रहरीको गोली लागेर ४ जनाको मृत्यु, ९ जनाको उपचार हुँदै
प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बम नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीहरूलाई पनि लागेको छ । दुवै जना समेत घाइते भएका छन् । २०७२ चैत १ मा रुपन्देहीको मोतीपुर मा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिका सित जोडिएको तिनाउ नदी क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरिएको थियो । त्यसका लागि सबै दलबीच सहमति भएको थियो ।
केही महिना अगाडि तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । त्यो बेला पनि उनीमाथि आक्रमण भएको थियो । तत्कालिन समयमा राजनीतिक रुप लिँदै कांग्रेस र तत्कालिन एमालेका माधव नेपाल पक्षीय नेताहरुले शिलान्यास रोक्न अल्टिमेटम नै दिएका थिए । शिलान्यास नरोकिएपछि उनीमाथि भौतिक आक्रमण नै भएको थियो ।
सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गर्ने काम भएको भन्दै सरकारले सशस्त्र प्रहरीलाई सुरक्षाको जिम्मेवारी दिएको थियो । सशस्त्र प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । त्यही क्रममा झडप भएर यस्तो स्थिति बनेको हो ।
बालाजु औद्योगिक क्षेत्रको नाममा रहेको सो क्षेत्रको जग्गा अतिक्रमण गरेर बस्ने क्रम बढेपछि स्थानीय प्रशासनले भदौँ २८ गते निषेधित क्षेत्र घोषणा गरेको थियो ।
२०० बिघा भन्दा बढी क्षेत्रफल अतिक्रमण परेपछि सशस्त्र प्रहरीले उनीहरुलाई हटाउन खोजेको बुटवल उपमहानगरपालिका १७ का वडाअध्यक्ष सन्तबहादुर रानाले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षा निकायले धैर्यता अपनाउँदा अपनाउँदै दुखद् घटना हुन पुगेको बताए । निषेधित क्षेत्र घोषणा गरेर अतिक्रमित क्षेत्र डोजर लगाएर खाली गरिदै थियो । आज बिहानैदेखि एकाएक ठूलो संख्यामा जम्मा भएको भीड उग्र बन्दा यस्तो परिस्थिति आइलागेको प्रजिअ तिवारीले बताए ।
गृहमन्त्री खाँण तथा नेकपा एमाले नेता विष्णु पौडेल तथा अर्का नेता घनश्याम भुसालले समेत प्रतिनिधित्व गर्दै आएको जिल्लामा सुरक्षा निकायको गोली प्रहारबाट चार जना नागरिक अनाहकमा ज्यान गुमाउन पुगे । सुरक्षा निकायले गोली चलाएर नागरिक मारेको विषयमा चौतर्फी आलोचना भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।