हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । चार वर्षअघि पहिलो श्रीमती मीना ढकालसँग सम्बन्धविच्छेद गरेको गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग दोस्रो विवाह गरेका हुन् ।
आज बिहान डोलेश्वर महादेव मन्दिरमा गएर विवाह गरेका हुन् । परिवारको उपस्थितिमा गजुरेलले सिन्दुर हालेका हुन् । विवाहपछि सपरिवार कौशलटारमा रहेको मानव सेवा आश्रममा रहेका बृद्धबृद्धालाई खाना खुवाएका थिए ।
दोस्रो विवाह गरेकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले केही समयअगाडि नै आफु अर्को विवाह गर्न लागेको खुलासा गरेका थिए ।पोखरेलसँग चिनजान हुँदै उक्त सम्बन्ध विवाहमा परिणत हुन पुगेको गजुरेलले बताएका छन् ।
विवाहपछि एक अर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले लेखेका छन्, 'अगाडि आइपर्ने सुःख/दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गर्यो ।'
आफ्नो व्यक्तिगत जीवनबारे काल्पनिक समाचार नबनाउन मिडियाकर्मीलाई उनले अनुरोध समेत गरेका छन् । सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाई दिन समेत अनुरोध गरेका छन् ।
विगतमा भएका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप र अभद्र व्यवहारका कारण आफु र आफ्नो छोरा छोरीले ठूलो क्षति बेहोर्नु परेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।