प्रधानन्यायाधीशप्रति एमाले नेता नेम्वाङको कटाक्ष– सत्ता गठबन्धनमा एक दल थपिएको प्रमाणित

नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धनमा एक दल थपिएको बताएका छन् । सत्तारुढ दलहरुले पाँच दलको गठबन्धन भन्ने गरेपनि सरकारमा छैटौं दल थपिएको दाबी उनले गरेका हुन् । 

सोमवार काठमाडौंमा तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवस कार्यक्रममा बोल्दै नेम्वाङले सरकारमा छैटौं दल थपिएको प्रमाणित भएको बताए । 

‘होइन अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ,  त्यो छैटौँ पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो,  भनेपछि त्यो कुरा त साँच्चै रहेछ,’ नेम्वाङले भने । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क उनले गरेका हुन् । 

उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलहरुले छलफल गर्नुपर्ने बताए । 

‘यस्ता इस्युहरु उठेको सन्दर्भमा राजनीतिक दलहरुले र नागरिक समाजले व्यापक छलफल गर्नुपर्छ । सिंगो देश यो सन्दर्भमा छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया त्यो नै प्रजातन्त्र हो । समसामयिक विषय थुप्रै छन् जसको हामीले छलफल गर्नुपर्छ,’ नेम्वाङले भने । 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १७:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया