काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ ।
सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमार्णको शिलान्यास गरेका हुन् ।
महानगरपालिकाले करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बनाउन लागेको हो ।
काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ ।
भवन भित्र नेवारी शैलीको चोकहरू रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन÷ कर्मचारी÷ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ ।
विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भर्याङ पनि भवनमा रहने बताइएको छ ।
भवनको शिलान्यास गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै केन्द्रिय भवनको शिलान्यास गरेको जानकारी दिए ।
महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन बिभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको उनले बताए ।
‘आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन्,’ महानगरपालिकाका प्रमुख शाक्यले भने ।
महानगरका सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको उनले जनाए ।
महानगरको केन्द्रिय भवन सँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिक संस्कृति झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण भइरहेको प्रमुख शाक्यले बताए ।
महानगरपालिकाको केन्द्रिय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुट क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सातौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने छ ।
भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।