दसैं

गाउँ रित्तिँदै गएपछि 
स्मृतिपटलमा
थन्किन बाध्य हुँदै छन् ती दसैंहरु 
धागोबाट छुटेको घँुयत्रोझैं
आँगनमा आइपुग्छ मात्र शरदीय याम
र, लाग्छ किनारा 
जसरी किनारा लाग्छ
सीमारेखा नाघेको धावक

उहिले
लाहुरेको बाटोसँगै आउँथ्यो 
कपडाका थानमा समेटिएर आउँथ्यो 
मेरो हाते मेसिनमा कटटकटट गर्दै आउँथ्यो 
मेरो दमाहा र सौनाइको धुनसँगै आउँथ्यो
र फुरुङ्ग हुन्थ्यो तिम्रो आँगनमा


भालेको डाकोसँगै 
गोरेटामा चलमलाउँदै आउँथ्यो
पँधेरोमा कानेखुसी गर्दै आउँथ्यो
गोरस भएकाको घरबाट
विस्तारै लस्किन्थ्यो
दूध–दहीका गिलासमा 
र, पुग्थ्यो 
गोरस नहुनेका घरमा

अचेल
सहरिया भएछ दसैं पनि
र त
आउँछ  टिभी, रेडियो र मोबाइलमा

गोसाईं
तर पनि
खोजिरहन्छु मैले गाउँमै दसैं
गाउँकै दसैं
खोज्न त तमी पनि के के 
खोजिरहेकै छौ रे सहरमा
तर पनि
तमी र मबीच यही छ फरक 
तमी दसैंभित्र जिन्दगी खोज्छौ
म जिन्दगीभित्र दसैं खोज्छु !!!
 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार ९:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया