रूपन्देहीको मोतीपुरमा लागेको कर्फ्‍यू आज मध्यरातबाट हट्ने
किरिया खर्च र राहत उपलब्ध गराउन सिफारिस

बुटवलको मोतीपुरमा लगाइएको कर्फ्यू आज राति १२ बजेदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले असोज २४ गते दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू  जारी गरेको थियो ।    

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै रातिको १२ पछि हटाइने जनाएका हुन् । 

मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच झडप हुँदा ४ जनाको ज्यान गएको थियो । ५० जना भन्दा बढी घाइते भएका थिए । मोतीपुर तनाबग्रस्त बनेपछि प्रशासनले कर्फ्यू लगाएको थियो ।  

कर्फ्यू लगाइएको तेस्रो दिनमा अवस्था सामान्य बन्न थालेपछि हटाउन लागिएको प्रजिअ तिवारीले बताए । उक्त क्षेत्रमा अतिक्रमण बढेपछि भदौ २८ गते प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो । पूर्वतर्फ तिनाउ नदी (बुटवल– १७ देखि वडा नम्बर १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल–१७), उत्तर शिवनगर रानीगञ्ज बस्ती (बुटवल उप महानगरपालिका वडा नम्बर १७) र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म) को क्षेत्रलाई चार किल्ला मानी निषेधाज्ञा लगाइएको थियो । 

यसैबीच जिल्ला प्रशासन कार्यालयले झडपमा ज्यान गुमाउनेको परिवारलाई राहत रकम र किरिया खर्च उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरेको छ । नेपाल सरकारको तर्फबाट मृतकको किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रति परिवार ५ लाख रूपैयाँ र प्रदेश सरकारका तर्फबाट प्रति परिवार १ लाख रूपैयाँ प्रदान गर्न सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले विज्ञप्ती मार्फत जानकारी दिएका छन् । 

साथै घाइतेहरुको उपचार बापत लाग्ने खर्चको लागि पनि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गरिएको छ । 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १७:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया