दशैंको मुखमा दशाः जीर्ण र मापदण्ड विपरितका सडक, तीन दिनमा ५८ जनाले गुमाए ज्यान

नेपालीहरुको महान चाड दशैं मनाउन अहिले सर्वसाधारण आ–आफ्नो गाउँ फर्किरहेका छन् । कोरोना महामारीले गर्दा लामो समयदेखि काठमाडौंका थुनिएकाहरु खुला हावामा रमाउन पनि गाउँ फर्किरहेका छन् । 

तर, सिमित बसका कारण यात्रुहरु कोचिएर बसमा यात्रा बाध्य छन् । बस सञ्चालकहरूले बसको क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटना बढेका छन् । अनाहकमा सर्वसाधारणले ज्यान गुमाएका छन् । 

यस्तो यस पटक मात्र भएको होइन । प्रत्येक वर्षको दशैं अघि यस्तै हुन्छ । सयौंले ज्यान गुमाउँछन् । छानविन समिति बन्छ । प्रतिवेदन पनि बुझाइन्छ । त्यो त्यसै थन्क्याइन्छ । फेरी अर्को साल सुरु हुन्छ । पुनः सोही दोहोरिन्छ । जनता मरेको मर्यै । नेताहरु समाजिक सञ्जालका भित्तामा गोहीको आँशु चुहाउँछन्, अनि जिम्मेवारी सकिएको अनुभुति गर्छन् । 

जनताले यस्तो सास्ती कहिलेसम्म खेप्नु पर्ने हो र अनाहकमा ज्यान कहिलेसम्म गुमाउनु पर्ने हो– यसप्रति न त केन्द्र सरकारले ध्यान दिएको छ न स्थानीय । 

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो तीन दिनमा अर्थात असोज २४ गतेदेखि २६ गते साँझसम्म सडक दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ । दशैंको अगाडि भएको यस्तो विभत्स घटनाहरूले सम्बन्धित परिवार मात्र होइन पुरै गाउँ नै शोकमा डुबेका छन् । 

सरकारले सडकको मर्मत सम्हार नगर्दा, मापदण्ड अनुसार सडक निर्माण नगरिँदा र सार्वजनिक यातायातको अनुगमन प्रभावकारी रुपमा नगर्दा दशैं अगाडि सडक दशा बनेर नेपाली जनताको सामु आउने गरेका छन् । 



आज मंगलबार मात्र मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना तपने खोलास्थित जुम्ला मुगुसडकमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट मुगु गमगढीतर्फ जाँदै गरेको भे.१ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेको थियो । 

दुर्घटनामा २४ जनाको घटनास्थलमै, ४ जनाको उपचारको लागि लैजाने क्रममा तथा ३ जनाको नर्सिङहोम नेपालगन्ज र १ जनाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १० जनाको  नर्सिङहोम नेपालगन्जमा, २ जनाको मेडिकल कलेज कोहलपुरमा र १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 



प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटना क्षमताभन्दा बढी यात्रु चढाउँदा र सडकका कारण भएको हो । 

सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका–१० हुदुमा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । यसको चौबिस घण्टा बित्न नपाउँदै मुगुमा अर्को दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाएका थिए । 

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० हुदुस्थित नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग.१ ज ६९०० नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । 

अछामको पन्चदेवल विनायक नगरपालिका–१ जाल्पेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा ब्याक गर्ने क्रममा से.१च १७६३ नम्बरको विवाहको गाडी आइतबार करिब २ सय ५० मिटर तल खेतमा खस्दा ४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाइते भएका थिए । 

आइतबार नै स्याङजाको वालिङ नगरपालिका–१० मोदीखोलास्थित सडकमा ग.१ ज ४९१८ नम्बरको जिप सडकदेखि करिब ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १५ जना घाइते भएका थिए । 

यी पछिल्लो तीन दिनमा भएका प्रमुख सडक दुर्घटना हुन् । दशै मनाउन घर फर्कने क्रम जारी छ । क्षमताभन्दा बढी यात्रु राख्न बस सञ्चालकले छोडेका छैनन् । नियमन निकाय पनि यसमा मौन बसेको छ । अझै कतिले अनाहकमा ज्यान गुमाउन पर्ने हो यसै भन्नसक्ने अवस्था छैन । 

  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १९:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया