अब त बुवा–आमा हुनुहुन्न के दसैं, के तिहार
लोकराज अधिकारी
फरकधार / २७ असोज, २०७८

समय र उमेरको नदीले थुप्रै कुरा बगाएर लग्यो जीवनबाट । समयको पोल्टामा बाल्यकाल सुम्पिएर केबल स्मृतिमा रमाएर बाँचेको थुप्रै साल भयो । समयकै नदीमा बहेर गए तन्नेरी वयका सपना, रहर र उपद्रोहरु । आफैंलाई जन्म दिने आमाको मुखमा दागबत्ती दिएर फर्किएको एक–दुई वर्ष बित्न लाग्यो । आमासँगै आधा खुसी धुवाँमा मिसियो । बुवा बित्नु भयो, बाँकी खुसी पनि सकियो । 



माया तलतिर बग्छ भन्छन् । मेरा बुवा–आमा सकिए पनि मेरा सन्तानका लागि खुसीको वातावरण बनाउनु छ । आफन्तहरु पनि आउँछन् । सबैसँग खुल्नै पर्ला । सबै जम्मा भएको भीडमा बुवा–आमालाई नदेख्दा मन कति आत्तिँदो हो ! आफैंसँग जवाफ छैन । 

चाडपर्वको रमाइलो भन्नु पनि बालापनमै पो रहेछ । उमेर र जिम्मेवारीले थिचेपछि कहाँ रसिलो हुँदो रहेछ र दसैं ! आज पनि बाल्यकालका ती दसैं सम्झन्छु र मुस्कुराउँछु आफैंसँग । लाग्छ, सानो छँदा हामीले किन गर्‍यौं होला ठूलो हुने रहर ? आज हरेक कुरा सानाकै राम्रा र रमाइला लाग्छन् । 

मेरो घर दाङ । मामा घर पनि दाङमा नै थियो । त्यसैले मेरो बाल्यकालको दसैं दाङबाहिर भएन । आफ्ना साथीहरु टाढा–टाढा मामाघर जाँदा कहिलेकाहीँ मलाई पनि टाढा जाने रहर लाग्थ्यो । बुवालाई मेरो मामा घर अन्त छैन भनेर सोध्थेँ । बुवा जुँगा मिलाउनुहुन्थ्यो र हाँस्नुहुन्थ्यो । त्यो बाल्यकालको दसैंको रहर थियो । 



नजिक हुनुको फाइदा पनि थियो । घरमा टीका लगाएपछि कसैलाई कुर्नु नपर्ने । म दौडिएर मामाघर जान्थँे । त्यतिबेला टीका, जमरा र आशिर्वाद के बुझिन्थ्यो र ! मामाघरमा टीका लगाएर दिने दक्षिणाको खुब लोभ लाग्थ्यो । घरमा छोरालाई टीका लगाएर दक्षिणा दिने चलन थिएन । त्यसैले पनि कतिबेला घरको टीका सकिन्छ र मामाघर जानु भन्ने ध्यान हुन्थ्यो । 

दसैं आउनै लाग्दा मन यसै फुरुङ्ग हुन्थ्यो । मन रमाएको दसैं आउन लागेर होइन, अब नयाँ लुगा लगाउन पाइन्छ भनेर हो । त्यो बेला नयाँ लुगा र दसैंसँगै आउँथ्यो । त्यो नयाँ लुगाको महत्व अहिले केही कुरासँग पनि तुलना हुन सक्दैन । दसैं आउनै लाग्दा आफूलाई मन पर्ने लुगाको लिस्ट बनाएर बुवालाई बुझाइन्थ्यो । बुवाले पनि आफ्नो क्षमताले धान्नेसम्म ल्याइदिनु हुन्थ्यो  । दसैंको लुगा लगाएर गाउँभरि देखाउँदै हिँडिन्थ्यो । 

दसैं सुुरु भएपछि ठूलाबडाहरु पासा, कौडा खेल्थे । उनीहरुले खेलेको ठाउँमा गएर ‘जितौरी जितौरी’ भन्दै एकोहोरो चिच्याउँथेँ म । मेरो स्वरमा साथीहरुले पनि हो मा हो मिसाउँथे । त्यतिबेला ठूलाहरुलाई हाम्रो माया लाथ्यो या झिँजो, थाहा छैन । तर, हातमा एक रुपैयाँदेखि ५ रुपैयाँसम्म राखिदिन्थे । हामी भुराहरु गुरुरु दौडेर पसलमा जान्थ्यौं । आफूलाई मन लागेको कुरा किन्थ्यौं । बाँडेर खान्थ्यौं । त्यतिबेला लाग्थ्यो, यो दसैं किन सधैं आउँदैन ? सधैं आए पनि त यसैगरी जितौरी मागेर मन लागेको कुरा किनेर खान पाइन्थ्यो ।  

अष्टमीको दिन गाउँमा खसी काट्थे । त्यो बेला मासु खाने भनेकै दसैंमा हो । गाउँमा कसको घरमा कस्तो, कत्रो खसी काटेका छन् भनेर हेर्न हिँडिन्थ्यो । वल्लापल्ला घरमा पाकेको भए चाखेर फर्किन्थ्यौं । आफ्नै घरमा खसी काटेको दिन के–के न भएको जस्तो खुसी लाग्थ्यो । खुसीले उफ्रन्थ्यौं, साथीहरुसँग मिलेर दौडन्थ्यांै । मासु अनुसारको परिकार पाक्थ्यो घरमा । त्यो मासुको स्वाद, त्यो मिठास आज उसैगरी पकाउँदा पनि खै किन हो भेटिँदैन ! 

दसैंमा टीका लगाएर जम्मा गरेको पैसा कसको कति भयो हिसाब निकाल्थ्यौं । त्यो पैसाले के गर्ने योजना बनाउथ्यौं । साथीहरुसँग छिनछिने पैसा पाँच पैसा, दस पैसा, २५ पैसा र ५० पैसाको साल चिन्ने गेम खेलिन्थ्यो । जसले साल चिन्छ उसले त्यो पैसा लाने गेम थियो त्यो । कहिले हारिन्थ्यो । कहिले जितिन्थ्यो । पैसा हारेको दिन आफ्नो पैसा सम्झिएर निकैबेर नरमाइलो लाग्थ्यो । कहिलेकाहिीँ दौडँदादौडँदै सबै पैसा हराउँथ्यो । त्यसपछि सबै योजना चकनाचुर ! 

पछि गएर सबै थाहा पाउने र बुझ्ने हुँदै गएपछि भने दसैं पनि महँगो हुँदै गयो । बाल्यकालको खुसी र रमाइलो जिम्मेवारीमा बदलिन थाल्यो । सञ्चारकर्ममा जोडिएपछि त दसैं पनि कर्ममै बित्न थाल्यो । टाइमटेबुलमा चल्ने दसैं हुन थाल्यो ।

जागिरको सिलसिलामा काठमाडौं आएपछि पहिलो पल्ट दसैंमा आफन्तमाझ हुन नपाउँदा भने मन कटक्क काटिएको थियो । सुनसान काठमाडौं अनि खाली निधार । त्यसपछि भने बानी लाग्न थाल्यो कहिले दसैंमा निधार खाली, कहिले तिहारमा गला खाली । 

अब त बुवा–आमा हुनुहुन्न चाडपर्वको रौनक नै सकियो ।

(राधिका अधिकारीसँगको कुराकानीमा आधारित) 
 

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार ११:४१:१४,   अन्तिम अपडेट : असोज २७, २०७८ बुधबार १३:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया