सरकार लेनदेनमा बनेको देखियो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको टिप्पणी गरेका छन्। 

दसैं, दीपावली, छठ र नेपाल संवतको अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले वर्तमान सरकार लेनदेनका आधारमा बनेको देखिएको टिप्पणी गरे । 

उनले भने, 'तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ । अरु केके भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।'

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले ‘अर्ली इलेक्सन’को सम्भावनासमेत रहेको दाबी गरे । आफुले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उनले प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्रगतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गरे। 

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गरे ।

उनले दसैं, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गरे । 



विसं २०५० सालदेखि बडादसैंको महानवमीका दिन ओलीले गृहजिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आएका छन्। 

गत वर्ष कोभिड–१९ को कारण कार्यक्रम रोकिएको थियो । कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल,सांसद् कोमल वलीलगायत सहभागी थिए। 
 



  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १९:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया