कोरोनाले बनायो बैदेशिक रोजगारीमा गएका ५ लाख ७२ हजारभन्दा बढीलाई बेरोजगार, युएई र कतारबाट फर्किने सबैभन्दा बढी

विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले बैदेशिक रोजगारीमा गएका ५ लाख ७२ हजारभन्दा बढी नेपालीलाई बेरोजगार बनाएको छ । 

कोरोना महामारीका कारण असहज परिस्थितिमा बिदेशमा रोजगारी गुमाई अलपत्र परेका उनीहरुलाई उद्धार गरी स्वदेश फर्काइएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले जनाएको छ । 

सिसीएमसीका अनुसार २०७६ चैत ११ गतेदेखि २०७८ असोज २७ गतेसम्मको अवधिमा उनीहरुलाई उद्धार गरि नेपाल ल्याइएको हो । 

हालसम्म कोरोना महामारीका कारण बिदेशमा रोजगारी गुमाई अलपत्र परेका ५ लाख ७२ हजार ५७१ जनालाई स्वदेश फर्काइएका जानकारी सिसीएमसीले दिएको छ । विश्वका ६० देशमा अलपत्र परेका नेपाली कामदारको उद्धार गरिएको छ । 

कोरोना महामारीका कारण रोजगारी गुमाई अलपत्र पर्ने अधिकांश नेपाली खाडी राष्ट्र तथा मलेसियामा रहेका छन् । 

सिसीएमसीका अनुसार उक्त अवधिमा सबैभन्दा बढी नेपालीले युनाइटेड अरब इमिरेट्स (युएई), कतार, मलेसिया, साउदी अरेबिया र कुवेतमा रोजगारी गुमाएका छन् । 



सिसीएमसीको तथ्याङ्क अनुसार हालसम्म युएईमा रोजगारी गुमाई अलपत्र परेका १ लाख ६० हजार ४७० जनालाई सरकारले उद्धार गरी नेपाल ल्याएको छ । 

यस्तै, कतारमा कार्यरत १ लाख ४८ हजार ७९० जना नेपालीले रोजगारी गुमाएका छन् जसलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको सिसीएमसीले जनाएको छ । 



मलेसियामा ६१ हजार ९६१, साउदी अरबमा ५२ हजार ७८६, कुवेतमा २९ हजार ५८२ र बहराइनमा १ हजार ७०७ जना नेपालीले रोजगारी गुमाएका छन् । 

सरकारले ओमानबाट ७ हजार ३५१, अष्ट्रेलीयाबाट १ हजार २४४, सिङ्गापुरबाट ७ हजार १९६, बंगलादेशबाट २ हजार ६९८, माल्दिभ्सबाट १ हजार १८, चीनबाट ३ हजार ७९७, हङकङ र मकाउबाट ३ हजार ३९७, दक्षिण कोरियाबाट ३ हजार ९४५ र जापानबाट १४ हजार ५३ जना नेपालीलाई उद्धार गरि ल्याएको छ । 

यस्तै, भारतमा ४६ हजार ४६५, टर्कीमा २० हजार ८८९, अमेरिकामा ६१८, बेलायतमा २५८, सुडानमा ५०३, जोर्डनमा ७३९, दक्षिण सुडानमा २५०, फिलिपिन्समा २०१, थाइल्याण्डमा ५३०, अफगानिस्तानमा ३०५, श्रीलंकामा ८६७, पाकिस्तानमा १७४ जना नेपालीले रोजगारी गुमाएका थिए जसलाई सरकारले उद्धार गरेको थियो । 

कूल ४ हजार ९२ वटा हवाई उडानमा उनीहरुको उद्धार गरिएको सिसीएमसीले जनाएको छ । 

८८१ वटा शवको उद्धार 

कोरोना महामारीको समयमा सरकारले बिभिन्न देशमा मृत्यु भएका ८८१ जना नेपालीको शव उद्धार गरी स्वदेश ल्याएर सम्बन्धित परिवारलाई बुझाएको छ । 

यो अवधिमा सबैभन्दा बढी शव मलेसियाबाट उद्धार गरी ल्याइएको छ । मलेसियाबाट उक्त अवधिमा ३५४ वटा नेपालीको शव ल्याइएको छ । 

सिसीएमसीका अनुसार कोरोना महामारीबीच कतारबाट १७५, युएईबाट ८३, साउदी अरेबियाबाट १६५, बहराइनबाट १६, कुवेतबाट १२, टर्कीबाट ३६ र भारतबाट ८ जना नेपालीको शव ल्याइएको छ । 

  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार १८:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया