माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि शनिबार नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।
फाइनल खेल मालेस्थित नेशनल फुटबल मैदानमा नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ ।
अक्टोबर १ देखि सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालित लिगमा भारत शीर्ष तथा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका हुन् ।
पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल्न लागेको नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने दाउमा छ ।
नेपाललाई साफको सर्वाधिक सफल टोली भारतविरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन ।
भारत जारी प्रतियोगितामा अपराजित रहँदै फाइनल पुग्दा नेपालले एक मात्र पराजय भारतसँगै बेहोरेको थियो ।
फाइनलमा भारतसँग भिड्दा नेपाल केही दबाबमा हुनेछ । यी दुईले २८ वर्षपछि कुनै पनि प्रतियोगिताको फाइनलमा एक अर्काको सामना गर्दैछन् ।
नेपाल र भारतले पछिल्लोपटक सन् १९९३ मा बंगलादेशमा भएको छैटौं दक्षिण एसियाली महासंघिय खेलकुद (साफ, हालको सागमा) स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाल टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो ।
२–२ को बराबरीपछि टाइब्रेकरमा नेपालले बाजी मारेको थियो । त्यसयता नेपाली राष्ट्रिय सिनियर टोलीले दक्षिण एसियाली क्षेत्रीय स्तरको प्रतियोगिता जितेको छैन । सागमा पहिला सिनियर टोलीकै सहभागिता हुन्थ्यो तर नवौं साग देखि भने यू २३ टोलीले खेल्दै आएका छन् ।
इतिहास हेर्ने हो भने पनि नेपालमाथि भारत हाबी देखिन्छ । यी दुई टोलीबीच हालसम्म २२ खेलमा प्रतिस्पर्धा हुँदा भारतले १५ र नेपालले मात्र २ खेल आफ्नो पक्षमा पारेका छन् । ५ खेल बराबरीमा सकिएको छ ।
यी दुईले सन् १९८५ मा पहिलोपटक एक अर्काको सामना गरेका थिए । जसमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।
नेपालले भारतविरुद्ध पछिल्लोपटक सन् २०१३ को साफ च्याम्पियनसिपमा २–१ को जित निकालेको थियो । त्यसयता भएका ८ खेलमा भारत ६ मा विजयी हुँदा ३ खेल बराबरीमा सकिएको छ ।
जारी साफको सुरुवाती २ खेलमा लय गुमाएको भारतले पछिल्ला २ खेलमा भने लय समातेको थियो । भारत नेपालविरुद्ध फाइनलमा पनि त्यसलाई कायम राख्न चाहन्छ ।
नेपाल पनि समूह चरणमा बेहोरेको हारको बदला लिँदै पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्ने दाउमा छ ।
नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुग्दा भारत भने १२ औँ पटक फाइनल खेल्दैछ ।
यसअघिका ११ फाइनलमा भारतले ७ पटक जित र ४ पटक हारको सामना गरेका छ ।
साफ च्याम्पियनसिप १३ औँ सँस्करणसम्म आइपुग्दा भारत सन् २००३ मा मात्र फाइनल पुग्न सेकेको थिएन ।
यसअघि फाइनल पुग्न नसकेपनि नेपालले ६ पटक दोस्रो चरणको यात्रा भने तय गरेको थियो ।
फाइनल खेलमा नेपालका मुख्य फरवार्ड अन्जन विष्ट उपलब्ध हुने छैनन् । लगातार दोस्रो खेलमा पहेँलो कार्ड बेहोरेकाले उनले फाइनल खेल गुमाउने भएका हुन् ।
अन्जनले समूह चरणका अन्तिम २ खेलमा भारत र बङ्गलादेशविरुद्ध पहेँलो कार्डको सामना गरेका थिए ।
माल्दिभ्ससँगको खेलमा रातो कार्ड बेहोरेका सुवासिस बोसले पनि नेपालविरुद्धको फाइनल खेल गुमाउने छन् ।
भारतका प्रशिक्षक इगोर स्टिमाचले माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएका कारण फाइनलमा टच लाईन सम्हाल्न पाउने छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।