गैरआवासीय नेपाली संघको कार्यकाल ६ महिना थप, मंसिर १४ गतेभित्र निर्वाचन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानकारी दिए । 

कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्बरभित्र गर्ने निर्णय समेत गरेको छ । 

यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो । 

मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोबरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो । 

बैठकले महाधिवेशन प्रतिनिधिहरूका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिब १०० भन्दाबढी सदस्यहरुले आ–आफ्ना भनाई राखेका थिए । 

अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।



संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार एक महिना अगावै सार्वजनिक भइसकेका छन् । 

संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरू चयन भइसकेका छन् । 



संघको विधान अनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।

  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १६:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया