आफ्नै पति धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरी रहेका छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको हत्या भएको खुल्न आएको थियो । त्यसपछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अमृता र विष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
आपत्तिजनक अवस्थामा भेटिएपछि रमेशले विष्णुमाथि कुटपिट गरेका थिए । त्यसपछि अमृता र विष्णुले उनको घाटी थिची हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरेपछि रमेशको शव बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।