Mon, 19 Nov, 2018


गौचनका सुटरसहित ३ पक्राउ
फरक धार  |  कात्तिक १२, २०७५

काठमाडाैं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनजना पक्राउ परेका छन् । उनीहरूलाई महानगरीय अपराध महाशाखाले झापाको सीमावर्ती क्षेत्रबाट सोमबार पक्राउ गरेको हो । 

२३ असोज २०७४ मा बानेश्वरमा गोली हानी गौचनको हत्या गरेको आरोपमा महाशाखाले झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौंका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई पक्राउ गरेको हो । 

महाशाखाले सोमबार नै पत्रकार सम्मेलन गरी युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्नलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले गौचनको हत्याका सुटरको रूपमा अम्बरबहादुर राना र तिवारीको हत्याको सुटरका रूपमा लोप्साङ रहेको अनुसन्धानमा खुलेको जनाए ।

‘विसं २०७३ चैतमा काठमाडौं बौद्धस्थित दिव्य पार्टी प्यालेसको जिम क्लबअगाडि दावा लामालाई गोली प्रहार गर्नेसमेत अम्बरबहादुर राना नै रहेको अनुसन्धानमा खुलेको छ,’ उनले भने । 

महाशाखाका अनुसार लामा र गौचनका सुटर राना २०७२ सालमा इलामको कालीध्वज गणबाट भागेका नेपाली सेनाका भगौडा सिपाही हुन् । 

पक्राउ परेका तीनैजना कारागारमा रहेका समिरमानसिंह बस्नेत र प्रहरी मुठभेडमा मारिएका मनोज पुनको निर्देशनमा विभिन्न समयमा हत्या र ज्यान मार्ने उद्योगमा संलग्न रहेको महाशाखाले जनाएको छ । 

प्रहरीले यसअघि घटनामा संलग्न भन्दै ११ जनालाई पक्राउ गरे पनि मुख्य सुटर भने पक्राउ गर्न सकेको थिएन । पक्राउ परेका तीनैजनालाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेस गरिनेछ । 



यो पनि नछुटाउनुहोस्