अलमुताइरीले दिएको नेपाली फुटबलको उचाई

नेपाली फुटबलमा ७ महिनाको समयमा धेरै परिवर्तन आएका छन् । चाहे त्यो खेल शैलीमा आएको परिवर्तन होस् या खेलाडीमा आएको उत्साह । यी सबैमा महत्वपूर्ण भूमिका निर्वाह गरे प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले । 

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमअनुसार प्रत्येक देशले विश्वकप छनोटका प्रतियोगिता खेल्न ‘प्रो लाइसन्स्’ प्रशिक्षक राख्नुपर्ने व्यवस्था बनाएपश्चात् उनी नेपालका लागि प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । गत चैत्रमा उनले नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । 

कार्यभार सम्हाल्दै गर्दा नै उनले भनेका थिए, ‘मेरो प्रमुख लक्ष्य साफ च्याम्पियनसिप हुनेछ ।’ उनले मिडियामा अतरंगी किसिमका प्रतिक्रियाहरु दिने गदर्थे । 

उनले अन्तिम खेलपछि भने, ‘यसो गर्दा मिडियाको ध्यान म तिर हुन्छ खेलाडीतिर ध्यान जान पाउँदैन ।’ जसका कारण उनीहरु राम्रो खेल्न सक्छन् । यस्ता अनौठा तरिका अपनाएर खेलको हरेक जिम्मेवारी आफू लिएर खेलाडीलाई स्वतन्त्र रुपमा मैदान उत्रने वातावरण बनाउँथे प्रशिक्षक अलमुताइरी । 

उनले आफ्नो प्रशिक्षणमा हालसम्म १४ खेल खेलाएका छन् । जसमा नेपालले १७ गोल गरेको छ । उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालले गोल गर्न नसक्ने समस्या हटाएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसक्ने समस्या हटाउने काम गरे उनले । 

उनको प्रशिक्षणमा खेलेको ४ महिनामा नै नेपालले आफ्नो फिफा वरियतामा समेत सुधार गरेको थियो । १७१ औं स्थानमा रहेको नेपालले आफ्नो वरीयता सुधार गर्दै १६८औंं स्थानमा उक्लिएको छ । 



गत अगष्टमा फिफाले निकालेको वरीयताअनुसार १७१औंं स्थानबाट नेपाल १६८औं स्थानमा उक्लिएको हो । 

नेपालले गत जुनमा खेलेका वल्र्डकप क्वालिफायर्सका खेलहरुमा गरेको प्रदर्शनका आधारमा नेपालको फिफा वरियता सुधार भएको हो । 



उनको आगमनले धेरै नयाँ पुस्तामा नेपाली फुटबलमा पनि भविष्य छ है भन्ने वातावरण सिर्जना गरेका छन् । उनले नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलबाट खेलाडीको क्षमता हेरी उनीहरुलाई राष्ट्रिय टोलीमा स्थान दिए । 

नेपाली फुटबल विश्लेषकले पनि उनको आगमनलाई नेपाली फुटबलको विकासको उत्प्रेरक हुन सक्ने बताएका छन् । उनले गरेको कामको प्रशंसा हुँदै गर्दा छोटो समयमा आलोचनाको सिकार पनि भए । 

कहिले सामाजिक सञ्जालको माध्यमबाट आलोचित भए त कहिले आफ्नै अभिव्यक्तिबाट । उनले धेरै फुटबल समर्थकको मन जिते । मन जित्दै गर्दा केही भने उनका आलोचक पनि रहे । 

नवप्रतिभालाई राष्ट्रिय टोलीमा स्वागत गर्दै गर्दा केही पुराना खेलाडी उनीबाट रुष्ट नभएका भने होइनन् । तर पनि काममा निरन्तर लाग्दै २८ वर्ष लामो साफको यात्रामा आजसम्म फाइनल पुग्न नसकेको नेपाली फुटबललाई फाइनलको यात्रा भने तय गराए । 
 
अलमुताइरीको आगमनबाट नेपाली फुटबलको स्वरुप परिवर्तन भयो । उनले रक्षात्मक फुटबल शैलीलाई बदलेर नेपाली खेलाडीलाई जस्तै ठूलो प्रतिस्पर्धीसँग पनि आक्रमक फुटबल खेल्न सिकाए । उनको आगमनले हरेक खेलाडी खुसी मात्रै भएनन् उनलाई बाबा भन्ने दर्जा समेत दिए । उनले खेलाडीलाई उत्साह र प्रेरणा सधैं दिन्थे । 

खेल जिते जस जति खेलाडीलाई अनि हारेमा गल्ती आफ्नो टाउकोमा लिदैँ खेलाडीलाई खेलमा आफ्नो शतप्रतिशत दिन मौका दिन्थे । पूराना अनुभवी खेलाडीका साथसाथै उनले नवप्रतिभालाई राष्ट्रिय टोलीमा स्थान दिए । 

उनले छानेका खेलाडीले हरेक खेलमा उनलाई प्रमाणित पनि गरे । युवामा पनि प्रतिभा हुन्छ भन्ने कुरालाई उनले खेलाडीको खेल हेरेर विश्लेषण गरे । 

अब्दुल्लाह अलमुताइरीको रणनीतिले खेलाडी भने फुर्किदै खेल्न थालेका थिए । अन्य कोच भन्दा निकै फरक छन्, उनी । खेलाडीलाई भन्थे, ‘अट्याकिङ हुनु नै डिफेन्स खेल्नु हो ।’ 

यस्ता भनाइ सुन्दा खेलाडीलाई पनि छुट्टै उर्जा आउने गरेको बताउँछन्, डिफेन्डर विकास खवास । उनी भन्छन्, ‘अरु प्रशिक्षक भन्दा निकै फरक हुनुहुन्छ । उहाँको प्रशिक्षणशैली निकै फरक छ ।’

उनी मात्रै होइनन् उनको प्रशिक्षणमा खेलेका हरेक खेलाडीका प्रिय पात्र बने अलमुताइरी । कप्तान किरण चेम्जोङ, अञ्जन विष्ट जस्ता खेलाडीले हरेक पटक अन्तर्वार्तामा उनको प्रशंंशा गर्ने गर्छन् । कुन तरिकाले कसरी के गर्दा खेलाडीले सहज रुपमा खेल्न सक्छन् ती हरेक प्रावधान उनले अपनाउने गरेका छन् ।

उनी एक वर्षका लागि नेपाल आए । तर विवादमा धेरै समय तानिएपश्चात उनले राजीनामाको घोषणा समेत गरे । साफ च्याम्पियनसिपको फाइनल खेल अगावै उनले राजीनामा दिने बताएका थिए । 

तर फाइनल खेल सकिए पश्चात भने उनले २ हप्ता आराम लिएर नेपाल फेरि फर्कने नफर्कने निर्णय लिने बताए । 

अब अब्दुल्लाह नेपाल फर्कने नफर्कने टुंगो छैन । तर उनले नेपाली फुटबलका उत्थानका लागि गरेका प्रयास भने प्रशंशनीय छन् । नेपालका लागि छोटो समयमा नै राम्रो नतिजा पस्कने सक्ने प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले फेरि फर्काउन सक्ला नसक्ला अथवा उनी नेपाल आउलान् नआउलान् त्यो भने उनको निर्णयमा भर पर्नेछ । 

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १२:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया