मौसममा जलवायु परिवर्तनको असरः अन्तरदेशीय सूचनामा पहुँच बढाए क्षति कम गर्न सकिन्छ
फरकधार / १ कात्तिक, २०७८

आईतबार रातीदेखिको अविरल बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । 



मनसुन बाहिरिदै गर्दा बंगालको खाडीमा उत्पन्न भएको न्युन चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको हो । 

नेपालको पश्चिम क्षेत्रमा यस बर्षको वर्षायाममा भन्दा बढी बर्षा हुनुको साथै हावा हुरी पनि आएको छ । 



बर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ । एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरू वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् । 



उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सुदुरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकामा आईतवार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ । यो क्रम मंगलबारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ । 

मनसुन सकिने बेला बाढी पहिरो आउने गरि वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको असर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन् । 

जलवायु विज्ञ डा. धर्मराज उप्रेती मनसुन पछि हुने वर्षाले धेरै क्षती गर्ने बताउँछन् । उनले भने, ‘यो खतरनाक किन हुन्छ भने मान्छेले मनसुन गइसक्यो भनेर बुझ्छ । अनि मुभमेन्ट बढाउँछ । त्यो मुभमेन्ट बढ्दा यस्तो नयाँ सिस्टम विकसित हुन्छ । त्यो नयाँ सिस्टम को प्रभाव मान्छेको आँकलन भन्दा बाहिर गएर आउने भएकाले हानी नोक्सानी बढी गर्ने र बढी गरिरहेको अवस्था पनि छ ।’  

यस बर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरिएको थियो । सेप्टेम्बर २३ मा मन सुन बाहिरिनुपर्ने भएपनि केही बर्षदेखि यो तन्किरहेकोले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरिने मिति तोकेको छ । तर एक साता बढी ढिला गरि नेपालबाट मनसुन बाहिरिएको थियो । 

मनसुन बाहिरिने प्रक्रियासँगै बंगालको खाडीमा न्युन चापीय अवस्था श्रृजना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको विज्ञ उप्रेतीले बताए । 

मनसुन सकिएपछिको बर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढी र पहिरोको घटनाको समाचार आउन थालेको छ । 

‘नेपालमा मनसुन जुनमा भित्रिने र अक्टोबरमा बाहिरिने गरेको  अवस्था देखिएको छ । यस बर्ष ८ दिन ढिला गरि मनसुन बाहिरियो । मनसुन बाहिरिने प्रक्रिया नेपाल भारत हुँदै भारतको साउथमा गएर टुंगिएर समुद्रमा जान्छ । तर मनसुन बाहिरिदै गर्दा बंगालको खाडीमा एक खालको न्युन चापीय अवस्था उत्पन्न भयो र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भयो । दुवै वायु एकआपसमा ठोक्कियो र त्यसबाट नेपालको पश्चिमी क्षेत्र बढी प्रभावित भयो । अहिले पूर्वदेखि पश्चिम सम्म नै यो वायुले निम्त्याएको प्रभाव देखिएको छ । मेलम्चीमा पनि फेरी बाढी आएर अस्थायी पुलहरू बगाएको छ,’ जलवायु विज्ञ डा. उप्रेतीले बताए । 

छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा रेड अलर्ट जारी गरिसकेको छ । त्यहाँ २ सय मिलीमिटरभन्दा बढी बर्षा हुने आँकलन गरिएको छ । 

यस्तै नेपालको पश्चिम क्षेत्र डडेलधुरामा गत २४ घण्टामा १ सय ७९ मिलीमिटर वर्षा भईसकेको छ । यो भारतको आँकडा सँग मिल्दोजुल्दो छ । यो अवस्था जलवायु परिवर्तनको असरसँग जोडिने विज्ञ उप्रेती बताउँछन् । 

नेपाल सरकार सँग मौसम जन्य विपद्को पूर्वसूचना चुस्त दुरुस्त नभएका कारण यस्ता बेमौसमी बर्षा लगायतका विपद्को क्षति न्युनिकरण गर्न नसकिएको उनको भनाई छ । सुचना प्रणालीलाई सरकारले नै उच्च प्राथमिकतामा राख्नुपर्ने उनले जनाए ।

‘मौसम जन्य विपद्को पुर्व सुचना प्रणालीलाई देशले कति महत्व दियो र योजनामा राख्दा कति बजेट छुट्यायो भन्ने कुरा जहिले पनि बहस र गुनासोकै विषय बनेको छ । 

जल तथा मौसम विज्ञान विभागको संरचनागत अवस्था पनि सबै प्रदेशमा पुगेको अवस्था छैन । साथै विभागले अहिले तापक्रम र पानीको ३ दिन पूर्वको सुचना दिने गरेको छ । त्यो सुचना पनि समुदायसम्म पुराउने पद्धतिलाई विस्तार गर्न सकिएको छैन । त्यसैले यो सूचनालाई समुदायसम्म लैजाने व्यवस्था गरिनुपर्छ जुन अहिले भएको छैन,’ उनले भने । 

सरकारले उचित ध्यान नदिँदा हिमाली क्षेत्रमा कति हिउँ पर्दैछ, कहाँ कति पर्यो, कुन ठाउँमा कति हिउँ पग्लियो भन्ने हामीसँग रेकर्ड नभएको विज्ञ उप्रेती बताउँछन् । सबै नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार पनि हुन नसकेको उनले जनाए । 

‘केही नदी प्रणालीमा त पानीको तह नाप्ने स्टेशनहरु छन् तर कतिपय ठाउँमा खहरे खोलाहरू छन् । खहरे खोलाहरुमा आकस्मिक बाढी आउँछ । आकस्मिक बाढीको पुर्वसुचना त हामीसँग छदै छैन । त्यसको विस्तार र हिमाली नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार तथा त्यसको सुचना प्रणालीको विस्तार सबै क्षेत्रमा गर्नुपर्ने देखिन्छ,’ उनले भने । 

जलवायु जन्य विपद्का घटना र पूर्वतयारी तथा क्षति न्युनीकरणका लागि अपनाउनुपर्ने सर्तकता लगायत विषयमा अन्तरदेशीय सुचना सञ्चार बढी प्रभावकारी हुने अनुभव उनको छ । 

‘भोटेकोशीको माथि जलाधार क्षेत्रमा बाढी आयो भने चीनले एउटा चिठी दिन्छ र भन्छ– यहाँ धेरै पानी परेको छ, तपाईहरु सर्तक रहनुहोस् । भारतमा एकदमै कम्प्रिहेन्सीप सिस्टम छ । अहिलेको बर्षाबारे भारतले विभिन्न क्षेत्रमा रेड अलर्ट नै जारी गर्यो । तर त्यो सुचना नेपालले पाएको अवस्था छैन । त्यो सुचना नेपालले पनि पाएको भए नेपालले आफ्नो समुदायमा सञ्चार  तथा परिचालन गर्न सक्थ्यो । त्यो चुनौति हामीकहाँ छ । त्यसैले नेपालले भारत र चीनसँग अहिले राख्नुपर्ने विषय भनेको नै अन्तरदेशीय सूचना कसरी पाउने भन्ने नै हो । यो राजनीतिक तहबाटै गरिनुपर्छ,’ विज्ञ उप्रेतीले भने । 

 

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १६:३५:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया