एएफसी यू–२३ (अन्डर ट्वान्टी थ्री) एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली भोली ताजिकिस्तान प्रस्थान गर्दैछ ।
सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।
उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप खेलको छनोटको लागि राष्ट्रिय टोलीमा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका छन् ।
फिफा वरियतामा नेपाल भन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल्दै छ । टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता रहेको छ भने केही राष्ट्रिय टोलीबाट अनुभव लिएका खेलाडी पनि समावेश गरिएको छ ।
प्रशिक्षक बाल गोपाल महर्जन छोटो तयारीका बाबजुद पनि नेपाली टोली बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताए ।
प्रशिक्षक बालगोपाल महर्जनले नेपाली युवा खेलाडीमा जोश भएकाले बलिया देशविरुद्ध राम्रो नतिजाका लागि खेल्ने प्रतिक्रिया दिए । यस्तै युवा स्ट्राइकर अभिषेक रिजालले बलियो टोलीविरुद्ध शतप्रतिशत दिएर खेल्ने जनाए ।
छनोट अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान समावेश छन । ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।