आफू अनुकूल प्रश्न नसोध्ने पत्रकारसँग जङ्गिए विमलेन्द्र निधि, भने– तपाईंको मिडिया चीनबाट सञ्चालित छ
फरकधार / १ कात्तिक, २०७८

नेपाली कांग्रेसका उपसभापति तथा १४औं महाधिवेशनमा सभापतिका आकांक्षी उम्मेदवार विमलेन्द्र निधि आफ्नो ‘फेवर’मा प्रश्न नगर्ने पत्रकारहरुसँग जङ्गिएका छन् । यतिसम्म की उनले मिडियालाई चीनबाट सञ्चालित रहेको आरोप समेत लगाए ।  



कार्यकर्ता फकाउन दशैंको पूर्व सन्ध्यामा निधि काठमाडौंबाट आफ्नो गृहनगर जनकपुरधाम आइपुगेका थिए । देशैभर उनले धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा सभा सम्मेलन र कार्यकर्ता भेलाको आयोजना गरेका थिए । नेता कार्यकर्तालाई आफूतर्फ तान्ने भरपूर प्रयास गरे । करिव १२ दिनसम्म दिनरात खटिरहे । 

काठमाडौं फर्किनुअघि सोमबार बिहान जनकपुरधामस्थित आफ्नो निवासमा उनले पत्रकार सम्मेलनको आयोजना गरे । उनका एक कार्यकर्ताले पत्रकारहरुलाई फोन गरेर बिहान १० बजे निधि निवासमा आउन आग्रह गरेका थिए । 

पत्रकार सम्मेलनमा सहभागी हुनका लागि केही सञ्चारकर्मीहरु निर्धारित समयमै उनको निवास पुगेका थिए । तर नेता निधि भने घरमा थिएनन् । निर्धारित समयभन्दा करिव डेढ घण्टा ढिलो उनी आफ्नो निवास आइपुगे । त्यहाँ धेरै पहिलादेखि नै पार्टीका सयौँ नेता कार्यकर्ताहरूको भीड लागेको थियो । सबै उनको प्रतिक्षामा थिए । 



निधि आँगनमा प्रवेश गरेलगत्तै कार्यकर्ताहरूले उनलाई घेरिसकेका थिए । कार्यकर्ताहरूले नै केही सञ्चारकर्मीहरु पत्रकार सम्मेलनका लागि आएको उनलाई जानकारी दिए । सामान्यतः आफ्ना कुरा राखिसकेपछि पत्रकारलाई प्रश्न राख्न दिने अभ्यास हुन्छ । तर आजको पत्रकार सम्मेलनमा नेता निधिले सुरुमै पत्रकारहरुलाई आफ्ना जिज्ञासा राख्न भने । 

लगत्तै रातोपाटी अनलाइनका प्रदेश २ प्रमुख किरण कर्णले समसामयिक राजनीतिक अवस्था, दुई साता लामो गृहनगर बसाई तथा नेपालका लागि पूर्व भारतिय राजदूत रञ्जित रेले आफ्नो पुस्तकमा नेता निधिलाई लक्षित गरी समावेश गरेका कुराको विषयमा धारणा राख्न आग्रह गरे । 

कर्णले आफ्नो प्रश्न टुङ्ग्याउन नपाउँदै नेता निधिले आँखा रातो पार्दै उनलाई हेरे । नेता निधिले पत्रकार कर्ण तर्फ हेर्दै भने, ‘तपाईले मेरो ट्विट हेर्नु भएको छ ?’ 

रेको पुस्तक 'काठमाडौं डेलिम्माः रिसेटिङ इण्डिया–नेपाल टाइज्' मा लेखिएको कुरालाई खण्डन गर्दै पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ट्विटरमा लेखेका थिए, ‘म गृहमन्त्री हुँदा आईजीपी नियुक्तिका लागि भारतीय राजदूत वा कुनै राजदूतसँग राय सुझाव मागेको थिइनँ, माग्ने कुरा पनि होइन । यस्तो निराधार लेखाइ प्रति घोर आपत्ति व्यक्त गर्दछु ।’ 

पत्रकार कर्णले आफूले त्यो ट्विट देखेको र तैपनि केही बोलिदिन नम्र भएर आग्रह गरे । त्यसपछि निधि पत्रकारहरुसँग आक्रोशित मुद्रामा प्रस्तुत भए, ‘तपाईं कसबाट परिचालित हुनु हुन्छ ? कसले यो प्रश्न सोध्न भन्यो ? तपाई कुन मिडियाका लागि काम गर्नु हुन्छ ?’ उनले प्रश्नहरुको वर्षा नै गरे । 

पत्रकार कर्णले आफू रातोपाटी अनलाइनका लागि काम गर्दै आइरहेको जवाफ फर्काए । रातोपाटी नाम सुन्ने वित्तिकै नेता निधिले झन् आँखा रातोपिरो पार्दै चर्को स्वरमा भने, ‘रातोपाटी चिनबाट संचालित रहेको कुरो थाहा छैन ?’ 

निधिले अनर्गल टिप्पणी पत्रकारहरुको अगाडी नै गरिरहे । सो क्रममा नेता निधिलाई रोक्ने हिम्मत उनका कुनै नेता कार्यकर्ताहरूले गरेनन् । बरु उल्टै उनीहरुबीच पत्रकारको खिल्ली निधिले उडाई रहँदा त्यही माहौलमा रमाइरहे । 

सोही बिचमा एक पत्रकारले अर्को प्रश्न तेर्स्याएर तातिएको माहौल शान्त पार्ने प्रयास गरे । त्यसपछि निधि समान्य अवस्थामा फर्किए । २÷३ वटा प्रश्नहरु मात्रै सोधेर पत्रकारहरू उनको निवासबाट बाहिरिए ।  

नेता निधि मोफसलका पत्रकारहरू प्रति पटक पटक यसरी नै प्रस्तुत हुँदै आएका छन् । काठमाडौँमा पत्रकाहरुप्रति नरम देखिने नेता निधिको मोफसलका पत्रकारहरुप्रतिको यस्तो रूखो व्यवहारकै कारण पटक पटक आलोचित हुँदै आइरहेका छन् । 

यसअघि प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारको क्रममा पनि उनको यस्तै व्यवहार देखिएको थियो । सो समयमा सञ्चारकर्मी सुमित मिश्रलाई लक्षित गरी उनले अनर्गल टिप्पणी गरेका थिए । 

रञ्जित रे को पुस्तकमा निधिमाथि के लेखिएको छ ?

२०७३ सालमा ४ जना डीआईजीहरू प्रकाश अर्याल, जयबहादुर चन्द, बमबहादुर भण्डारी र नवराज सिलवाल प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने दौडमा थिए । उनीहरूमध्ये कसलाई आईजीपी बनाउने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिबीच फरक मत थियो । 

त्यतिबेला रञ्जित रे भारतीय राजदूतका रूपमा काठमाडौंमा थिए । हो, त्यति वेलाका गृहमन्त्रीले  कसलाई आईजीपी बनाउने भनेर राय मागेको रेले आफ्नो पुस्तकमा दाबी गरेका छन् । 

तत्कालिन गृहमन्त्रीको नाम उल्लेख नगरी रेले ‘भारतले नेपालमाथि गर्ने सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट)मा नेपाली नेताहरू जिम्मेवार छन्’ भन्ने दाबी प्रस्तुत गर्न यो सन्दर्भ राखेको देखिन्छ । 

रञ्जित रेले आफ्नो पुस्तकमा लेखेका छन्ः

दुई देशका राजनीतिकर्मी माझ धेरै कम व्यक्तिगत साँठगाँठ (इन्गेजमेन्ट) हुन्छ । नेपालको आन्तरिक मामिलामा भारतीय कुटनीतिज्ञ र गुप्तचर निकायहरूले सूक्ष्म व्यवस्थापन गर्छन् भन्ने लागेर कतिपय नेपाली राजनीतिकर्मीहरू यस प्रति गुनासो गर्छन् । यद्यपि, सधैं भारतकै अग्रसरतामा यस्तो भएको हुँदैन । 

आफ्नै अनुभवमा आधारित दुई वटा किस्सा सुनाउँछु । तत्कालीन आईजीपीले अवकाश पाउन लागेपछि नयाँ आईजीपी छान्नुपर्ने थियो । उम्मेदवारहरूका विषयमा गृहमन्त्रीले मेरो धारणा मागेका थिए । भारतीय समकक्षीसँग मित्रवत व्यवहार गर्ने आईजीपी हुनु महत्त्वपूर्ण हुने भएकाले यसबारे मैले मेरा सहकर्मीसँग बुझी हेरेँ ।

सबैभन्दा वरिष्ठ उम्मेदवार सबैभन्दा उत्तम छन् भन्ने सुझाव पाएपछि मैले वरिष्ठता र योग्यताको मापदण्ड पालना गर्नुस् भनी गृहमन्त्रीलाई आफ्नो विचार सुनाएँ । 

अर्को सन्दर्भ, जब अर्को नयाँ आईजीपी छानिनुपर्ने थियो, त्यो वेला सूचीमा चार जना थिए । चारैजना प्रत्यासी भारतीय समीक्षकसँगको सहकार्य बलियो बनाउने आफ्नो रुचि सुनाउन इन्डिया हाउसस्थित मकहाँ आउनुभयो । मैले उहाँहरूलाई बोलाएको थिइनँ। 

छुट्टाछुट्टै उम्मेदवारलाई समर्थन गरेको हुनाले यस पटक गृहमन्त्री र उनको पार्टी अध्यक्षबीच असामान्य रूपमा मत बाझिएको थियो । पार्टी अध्यक्षकै उम्मेदवार आईजीपी नियुक्त भए पनि सर्वोच्च अदालतले नियुक्ति बदर गरिदियो र अर्का उम्मेदवार नेपालका आईजीपी बने । गृहमन्त्रीका उम्मेदवार नेकपा (एमाले) प्रवेश गरेर सांसद बने । 

भारतले आफ्नै खुशीले माइक्रो म्यानेजमेन्ट गर्दैन भन्ने देखाउन मैले माथिका प्रसङ्ग उल्लेख गरेको हुँ । नेपाल–भारत सहकार्य हाम्रो प्रमुख उद्देश्य भएको ध्यानमा राखी शायद हामी यस्ता विषयमा तटस्थ खेलाडीका रूपमा देखिएका छौं । पक्कै पनि, राजनीतिमा यदि तपाईं एक पक्षलाई फाइदा पुग्ने गरी विचार राख्नुहुन्छ भने अर्को पक्ष तपाईं विरुद्ध लाग्छ र भारतले पक्षपाती खेल खेलेको आरोप लगाइन्छ ।    

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १९:२७:६,   अन्तिम अपडेट : कात्तिक २, २०७८ मंगलबार ०:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया