मिटू अभियान
मैले त्यतिबेला झापड हानेर प्रतिकार गरेँ, अब #MeToo भनौँ, दुव्र्यवहारविरुद्ध बोलौँः बेनिशा हमाल
तस्वीर: बेनिशा हमालकाे फेसबुकबाट ।

म करिअरको सुरुवाती चरणमा थिएँ । मोडलिङमा केही गर्छु भन्ने अठोट बोकेकी थिएँ ।

आठ वर्षअघिको कुरा हो । विज्ञापनका लागि कसले मोडलिङ गर्ने भन्ने पहिले नै निर्धारण हुँदैनथ्यो । धेरै मोडलहरुको फोटोसुट गरिन्थ्यो र सबैभन्दा राम्रो लागेकालाई कम्पनीले लिने गथ्र्यो । 

त्यो पनि सम्बन्धित कम्पनीले नभएर विज्ञापन एजेन्सीले । त्यो समयमा हामीजस्ता नयाँ काम गर्न खोज्नेहरुलाई यो क्षेत्रमा निकै समस्या थियो । खासमा यस्ता विज्ञापनहरुमा चान्स पहिलेदेखि चलिआएका मोडलहरुले पाउनुहुन्थ्यो ।

एकदिन म पुतलीसडकस्थित एउटा मिडिया हाउसमा पुगेँ । त्यहाँ आफूले मोडलिङ गर्न चाहेको कुरा राखेँ । मेरो फोटो सुट भयो ।

त्यसको केही दिनमा मलाई त्यो मिडिया हाउसबाट फोन आयो । त्यहाँका दुई जनाले मलाई पारिश्रमिकको कुरा गर्नुछ, आउनुहोस् भने । उहाँहरुले मलाई एउटा क्याफेमा बोलाउनु भएको थियो । म गएँ ।

म त्यो दिन खुसी थिएँ । खुसी यस अर्थमा कि मैले आफूले रोजेको बाटोमा पहिलो पटकमा नै छानिएकी थिएँ । त्यो मेरो फोटोसुट एउटा बैंकको विज्ञापनका लागि गरिएको रहेछ । 



म त्यो दिन क्याफे पुगेँ । उहाँहरु दुवैजना म पुगेको केहीबेरमा क्याफेमा आउनुभयो ।

म त खुसी भएर विज्ञापनका लागि छानिएँ भनेर क्याफेमा पुगेकी थिएँ । तर, त्यहाँ जे भयो, त्यो मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो । 



ती दुई जनाले भनेको कुरा सुन्ने वित्तिकै मलाई आकाशबाट खसेको जस्तो भयो, मैले चारैतिर अन्धकारमात्र देखेँ । 

म काप्न थालेँ, के गर्ने र कसो गर्ने भयो ।

मलाई त्यहाँ ती दुईजनामध्ये एकले भनेका थिए– अब फोटोसुटको काम पनि सकियो, हाम्रा सिइओले तपाईंसँग नगरकोट घुम्न जान मन गर्नुभा’छ । 

यतिमात्र के सुनेकी थिएँ, मलाई मेरो शरीर गलेको जस्तो आभास भयो । मैले आफूलाई काबुमा राख्न सकिनँ । म त्यहाँ जुरुक् उठेँ । त्यो मान्छेनजिक पुगेँ र उसको गालामा एक चड्कन लगाइदिएँ । 

अनि चिच्याएर भनेँ– मलाई तपाईंको विज्ञापन खेल्नु छैन, मेरा सबै फोटो डिलिट गर्नुस्, अहिले नै गर्नुस् । 

त्यति बेला मेरो स्वर निकै चर्को भएको थियो । क्याफेमा भएका सबैले हामीतिर हेरे । मलाई अब झन् असहज लाग्न थाल्यो । यति बेला म आफू पूर्णरुपमा स्तब्ध भइसकेकी थिएँ । 

मलाई असहज लागिरहेको थियो । त्यसैले म त्यहाँबाट बाहिर निस्किएँ । मलाई आफ्नो अस्मितामाथि उनीहरुको प्रहारले निकै समस्यामा पारिरहेको थियो ।

बाटोमा पनि म काप्दै हिँडिरहेकी थिएँ, अत्यन्त अप्ठ्यारो मान्दै । केही समयमा नै हिँड्न नसक्ने भएँ म । एकजना साथीलाई फोन गरेर बोलाएँ, उसलाई त्यहाँ भएका कुरा सबै सुनाएँ । 

उसलाई ती कुरा सुनाउँदा म रोइरहेकी थिएँ । उसले ढाडस दिइ– तिमी नरोउ, तिमीले जे गर्यौ, त्यो ठिक गरेकी छौ, तिमी रुनु त त्यतिबेला पथ्र्यो यदि तिमी उनीहरुको प्रस्ताव मानेर नगरकोट गएकी थियौै ।

साथीले त मलाई त्यहाँ सम्झाएकी थिइ । तर, मेरो मन अझै मानेको थिएन । मैले आफूसँग भएको त्यो कुरा कसरी घरपरिवारसँग सेयर गर्ने होला भन्ने सोचिरहेकी थिएँ, म अप्ठ्यारोमा परिरहेकी थिएँ । घरमा भनौँ भने कसरी भन्ने, नभनौँ भने पनि कसरी नभन्ने भन्ने लागिरहेको थियो । घरमा भन्दा मेरो मोडलिङ करिअरमा पूर्णविराम लाग्न सक्थ्यो । 

बाबाआमालाई निकै कन्भिन्स गरेर मात्र यो क्षेत्रमा आएकी थिएँ । उहाँहरुले यो क्षेत्रलाई त्यति राम्रो मान्नु हुँदैनथ्यो । 

केही साथीहरुसँग यो कुरा त मैले सेयर गरेकी थिएँ तर मनमा पीडा बाँकी नै थियो । मैले सोचेकोभन्दा निकै फरक पाएकी थिएँ मोडलिङ क्षेत्र तर पनि सहन बाध्य भएकी थिएँ ।

अहिले पनि म त्यतिबेलाको त्यो घटना र ती दिन सम्झिएर दुखी हुन्छु । त्यति बेला मैले आफूमाथि भएको त्यो दुव्र्यवहारको कडा रुपमा प्रतिवाद गर्न सकिनँ । 

म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । मजस्ता दुव्र्यवहारमा परेका यहाँ धेरै छन् । कतिले त चाहेर पनि बोल्न सकेका छैनन् । 

अब त ‘मिटू’ भनेर सामाजिक सन्जालमा लेख्न सकिने भएको छ । जीवनको जुनसुकै कालखण्डमा समस्या परेको किन नहोस्, अब आफूमाथिको दुव्र्यवहारबारे बोल्न सकिने भएको छ । अब सबै यो अभियानमा आउनु पर्छ । आफूमाथि भएका दुव्र्यवहारविरुद्ध बोल्न थाल्नुपर्छ ।

कुनै डर नमानेर खुलस्त रुपमा सबैजना यो अभियानमा सरिक हुनुपर्छ । आफूमाथि भएका दुव्र्यवहारबारे खुलस्त रुपमा भन्न सके भोलि हामीसँग हुने अरु अन्यायविरुद्ध बोल्ने साहस प्राप्त हुन्छ । आज हुने अथवा पहिले आफूसँग भएका दुव्र्यवहारविरुद्ध बोल्न सकेनौ वा बोल्न हिच्किचायौ भने हामीलाई सहने बानी पर्दै जान्छ । मैले त आफुसँग भएको त्यो घटना सबै सामु ल्याउने हिम्मत गरेँ, अरु सबैलाई पनि अगाडि आउन अनुरोध गर्छु ।

मलाई कुनै दिन यही कुरा बाहिर भन्दा अप्ठ्यारो लागेको थियो । अब सबैसँग यो कुरा भन्न सक्ने भएकी छु । यसले ममा आत्मबल बढाएको छ, हिम्मत जुरेको छ । जीवन पश्चातापमा बाँच्ने होइन । जीवन आफ्नो आत्मसम्मान र आफूलाई सम्मान गरेर बाँच्नु पर्छ । मैले यही कुरा सिकेकी छु र सबैलाई एकजुट भएर दुव्र्यवहारविरुद्ध बोल्न अनुरोध गर्छु । 

  • प्रकाशित मिति : कात्तिक १३, २०७५ मंगलबार १४:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया