विश्वमा नेपालमा बाहेक अन्यत्र दुई पटक मिर्गौला फेरेको मान्छे प्रधानमन्त्री भएको छैनः ओली

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा राख्नका लागि अनेक रेकर्ड भएको बताएका छन् । अनि यी रेकर्ड सबै नेकपा एमालेले गरेका काम पनि हुनसक्ने बताएका छन् ।

उनले आफूले दुई पटक मिर्गौला प्रत्यारोपण गर्नु नै पनि एक रेकर्ड भएको बताएका छन् ।

बागमती प्रदेश महाधिवेशन आयोजक कमिटीको प्रथम भेलालाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘विश्वमा नेपालबाहेक अन्यत्र कुनै पनि देशमा दुई पटक मिर्गौला प्रत्यारोपण गरेको मानिस प्रधानमन्त्री भएको छैन, यही कुरा पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा राखे हुन्छ ।’

उनले यही विषयमा दोहोर्याएर आफू प्रधानमन्त्री हुनु नै रेकर्ड बनेको बताएका छन् ।

ओलीले एमाले सरकारले एकै दिनमा २ सय १० भन्दा बढी अस्पताल उद्घाटन गरेको, बाटो बनाएको पनि रेकर्ड हुने बताएका छन् ।

यही कार्यक्रममा ओलीले आफूले उपचारका लागि सधैं नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् ।



उनले नेपालमा उपचार नभएको खण्डमा मात्र आफू विदेशमा जाने गरेको उनले बताएका छन् ।

उनले पहिलो पटक नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने कुरा नभएकाले आफू विदेशमा गएको पनि बताएका छन् । दोस्रो पटक आफूले मिर्गौला प्रत्यारोपणका लागि विदेश जान बाध्य हुनु परेको पनि उनले बताएका छन् ।



‘यहाँ सम्भव भएसम्म म बाहिर गएको छैन,’ उनले भने, ‘नत्र म बाहिर गएको छैन ।’

यही कार्यक्रममा ओलीले आफूहरुले अबको निर्वाचनमा बहुमत ल्याउने पनि बताएका छन् । ‘हाम्रै केही साथीहरु पनि बेलाबेलामा कसैले पनि बहुमत नल्याउने भन्दै हुनुहुन्छ,’ ओलीले भनेका छन्, ‘तर, उहाँहरु गलत हुनुहुन्छ ।’

उनले अरु कुनै पार्टीले बहुमत ल्याउन नसके पनि आफूहरुले निकै धेरै मत ल्याउन सकिने बताएका हुन् । 

‘हामीले यति धेरै काम गरेका छौँ कि जता हेर्यो, त्यतै हामीले काम गरेको देखिन्छ,’ ओलीले भनेका छन् ।

कार्यक्रममा उनले माधवकुमार नेपालले सानो हिस्सा लिएर एमाले छाडेको र यसले आफूहरुलाई कुनै असर नपर्ने पनि बताएका छन् । उनले पहिले नेकपाबाट माओवादी केन्द्र बनाएर पुष्पकमल दाहाल प्रचण्ड पनि अलग भएको बताएका छन् । उनले एमालेबाट छुट्टिएर उनीहरु गए पनि एमाले झन् ठूलो भएको र झन् धेरै हाँगा हालेको बताएका छन् ।

‘उनीहरुले एमालेकै टुप्पो निमोठिदिएको भन्ने सोचेका छन्,’ उनले भने, ‘एमालेले झन् हाँगा हालेर झन् झाँगिएको छ ।’ 

उनले अहिले नेकपा एमालेका कार्यकर्ताहरु निकै खुसी भएको बताएका छन् ।

कार्यक्रममा ओलीले अहिलेको जस्तो बेहाल अवस्था यसअघि कहिल्यै नदेखिएको पनि बताएका छन् । ओलीले भने, ‘हाम्रो पार्टी मात्र हो जसले उडेको बेलामा मात्र होइन जमिनमा पनि साना साना कुराहरु देखिरहेको हुन्छ । त्यसलाई भन्छ दूरदृष्टि ।’ साथै, उनले नेकपा एमालेको कालमा धेरै गहन अभिभारा भएको बताए । 

‘नेकपा एमालेको कालमा धेरै गहन अभिभारा छ । लडेर ल्याएको लोकतन्त्रको रक्षा सधारण कुरा होइन् । अहिले पनि लोकतन्त्रको रक्षा सारै महत्वपूर्ण र चुनौतीपूर्ण रहेको छ ।’ ओलीले भने । 

साथै, उनले अहिले बनेका मन्त्री देख्यो भने पनि नमस्ते गर्नुपर्ला भने लाजले उता फर्कने गरेको बताए । 

‘यता मन्त्री देख्यो भने नमस्ते गर्नुपर्ला भनेर मान्छे उता फर्कन्छ लाजले । सरकारको त कुरा गर्नु नै लाजमर्दो छ । यति बेहाल त, यस्ता मान्छे मैले कुनै कालमा पनि देखिँन,’ ओलीको भनाई थियो, ‘यतिसारो बेहाल कुनै कालमा पनि देखिएन । ध्यान के मा छ ? देश बनाउने होइन, साँठगाँठ जोगाउने चुनावसम्म । साँठगाँठ नगरिकन त कुनै वडा जित्दैन कसैले ।’ 

जनतामा कुन पार्टीमा भोट हाल्ने भन्ने अन्यौल रहेको भन्दै ओलीले भने, ‘अहिले अरु त अरु कांग्रेस पनि पुर्पुरोमा हात लाएर बसेका छन् । के गर्नु उहिल्यैदेखि लागियो, भोट के मा हाल्ने ? पेनिसलमा हाल्ने कि ? डटपेनमा हाल्ने कि ? गोलाकारभित्रको हँसिया हथौडामा हाल्ने कि ? रुखमा हाल्ने कि ?’


  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १५:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया