भारतबाट आयात गरेको एलपी ग्यास कम्पनीमा आइनपुग्दै बाटैमा झ्याप !
ड्राइभरसहित तीन पक्राउ

पटक–पटक राजमार्गमा खाना पकाउने एलपी ग्यास लुटिनुको रहस्य प्रहरीले फेलापारेको छ । भारतीय  ग्यास बुलेटका चालकको मिलेमतोमा नेपालमा आयात गर्ने कम्पनीमै नपुगी जोखिमपूर्ण ढंगले ग्यास चोरी हुने गरेको तथ्य इलाका प्रहरी कार्यालय मनहरीले फेलापारेको हो । 

बुधबार अनाधिकृत रूपमा बाटोमै बुलेटबाट ग्यास चोरी गरी सिलिन्डरमा भरेर बेच्ने तीनजनालाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीमा स्थानीय ४३ वर्षीय भरत कार्कीले सञ्चालन गरेको होटलबाट विभिन्न कम्पनीका १८ थान खाली सिलिन्डर र ग्यास भरेको १३ थान गरी जम्मा ३१ थान सिलिन्डरसहित सञ्चालक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले एनएल ०१ एन ०१३१ नम्बरको बुलेटका चालक भारत घर भएका चुनु कुमार र युपी ७० बिटी ९९९६ का बुलेट चालक भारतै घर भएका विपिन कुमारलाई पनि पक्राउ गरेको छ ।

सस्तोमै ग्यास पाएपछि अनुसन्धान सुरु 

कार्कीले अन्य पसलको तुलनामा सस्तोमै खाना पकाउने ग्यास बिक्री गरेको तथ्य पाएपछि अन्य पसलको तुलनामा उक्त ग्यास पसलमा ग्राहक बढ्दै गएका थिए । प्रतिसिलिण्डर १५ सय रुपैयाँ पर्ने एलपी ग्यासलाई कार्कीको पसलमा १३ सयको हाराहारीमा पाइन थालेपछि प्रहरीले ग्यास कहाँबाट ल्याएको भन्दै प्रश्न गरेर सोधपुछ गरेको थियो । 

प्रहरीको केरकारपछि कार्कीले भारतबाट खाना पकाउने ग्यास बोकेर आउने बुलेट ट्यांकीका चालकसँगको मिलेमतोमा अनाधिकृत रूपमा जोखिमपूर्ण तरिकाले बुलेटबाट सिलिन्डरमा ग्यास भरेर गाउँघरमा बेच्ने गरेको तथ्य फेलापरेको हो । 



सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले ग्यास बुलेटसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 



  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २०:१०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया