आफ्नो सरकारलाई मान्यता दिन तालिबानद्वारा अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल

अफगानिस्तानको अन्तरिम तालिबान सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष मान्यता दिन अपिल गरेको छ ।

अन्तरिम सरकारका उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले मस्कोमा बुधबार भएको बैठकका क्रममा सो अपिल गरेका हुन् ।

अफगान न्युज एजेन्सी खामा प्रेसका अनुसार हनफीले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायसँग अफगानिस्तानको वतएनमा सरकारलाई मान्यता दिने अपिल गर्दछौं । हाम्रो पहिलो समावेशी सरकार हो । अन्तर्राष्ट्रिय समुदाय आधिकारिक रुपमा सरकारका मन्त्रीहरुलाई सहयोग प्राप्त होस भन्ने चाहन्छौं । एक्लिएको अफगानिस्तान कसैको हितमा हुँदैन । यो विगतले पनि साबित गरिसकेको छ ।’ 

‘अहिलेको अफगान सरकार ४० वर्षभन्दा लामो युद्ध र बिनासपछि पहिलो पटक देशका हरेक कुनामा शासनको स्थिरताको रक्षा गर्न सक्षम छ’, उनले भने । 

हनिफले भने, ‘अफगान सरकार अन्तर्राष्ट्रिय समुदायका कुनै पनि सवालको हरसम्भव स्पष्टता, पारदर्शिता र खुलापनका साथ जवाफ दिनका लागि तयार छ । अफगानिस्तानको अवस्था स्थिर छ र हामीसँग सीमा जोडिएका र टाढा देशलाई पनि कुनै खतरा नरहेको हामी पुष्टि गर्छौं ।’ 

हनफीले एकपटक फेरि अमेरिकालाई अफगानिस्तानको केन्द्रीय बैंकको करिब ९.४ अर्ब डलरको भण्डार खुला गर्न आग्रह गरे । 



उनले भने, ‘यो सबै अफगानिस्तानको सम्पत्ति हो र समस्या झेलिरहेका हाम्रा जनताले राजनीतिक असहमतिको मूल्य चुकाउनु हुँदैन । जस्तो कि पछिल्ला घटनाबाट पनि हामीमाथि दबाब दिएर कुनै परिणाम निस्किदैन भन्ने प्रष्ट हुन्छ ।’

अफगानिस्तानका विषयलाई लिएर रुसको राजधानीमा ‘मस्को फर्मेट’ नाम दिएको वार्ता आयोजना गरिएको छ ।



जसमा रुस, अफगानिस्तान, भारत, इरान, चीन र पाकिस्तान सहभागी थिए । यसमा अमेरिकालाई पनि बोलाइएको भएपनि उसले बैठकमा सहभागी हुन अस्वीकार गरेको थियो । 

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार ८:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया