बागमती प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले) सहभागी हुने भएको छ ।
यस अघि वडा अधिवेशन देखाउँदै नेकपा एमाले बागमती प्रदेश संसदीय दलले सभामुखलाई पार्टीको कात्तिक ६ गते हुने वडास्तरीय र ९ गते हुने स्थानीय तहको अधिवेशनका कारण प्रदेशसभा बैठकमा सांसदहरू उपस्थित हुन नसक्ने भन्दै चिठी दिएको थियो ।
तर आजको बैठकमा एमाले सहभागी हुने सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार मन्त्री केशव राज पाण्डेले जानकारी दिएका हुन् ।
उनले भने ‘हामी बैठकमा सहभागी हुन्छौं । प्रदेश सभाको बैठक बोलाएपछि जानुपर्ने भएकोले सहभागी नहुने कुरै छैन ।’
एमालेका मुख्य सचेतक दीपक निरौलाले भने पार्टीको अधिवेशन भएका कारण प्रदेशसभाको बैठक सार्न सभामुखलाई आधिकारिक पत्र बुझाइसकेका कारण बैठकमा आफूसहित धेरै सांसदहरु उपस्थित हुन नसक्ने बताए ।
उनले भने ‘हाम्रो पार्टीको वडा अधिवेशन हुँदैछ । हामीले बैठक सार्न माग गरेका छौं । तर प्रदेश सभाको बैठकको पूर्ण अधिकार सभामुखको विवेकमा भर पर्छ । हामी सहभागी हुने अवस्था निकै कम हुन्छ ।’
सभामुख सानुकुमार श्रेष्ठले आजको बैठकको कार्यसुची परिवर्तन नभएको बताएका छन् । उनले आजै विश्वासको मतको प्रस्तावबारे छलफल हुने समेत बताए । श्रेष्ठका अनुसार विश्वासको मतको छलफल सुरु भएता पनि नटुङ्गिने भएको छ । नेकपा एमाले बैठकमा सहभागी हुनेको संख्या कम भएको र चिठी समेत दिइसकेको कारणले गर्दा आज छलफल प्रारम्भ भएता पनि टुंगो भने नलाग्ने उनले बताए ।
मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको बैठकमा संविधानको धारा १८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गरेकी थिइन् । तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलगाउँदा दलहरूबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।