बलिउड अभिनेता सुनिल सेट्टी अब नेपाली चलचित्रमा देखिने भएका छन् । उनी मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स नाइन’ मार्फत् नेपाली चलचित्रमा देखिन लागेका हुन् ।
चलचित्रका निर्देशक भट्टले सामाजिक सञ्जालमा सेट्टीलाई ‘एक्स नाइन’ टिममा स्वागत गरेका छन् । उनले यो खुसी चाँडै नै बृहत रूपमा घोषणा गर्ने समेत बताएका छन् । उनले लेखेका छन्, ‘तपाईंसँग निर्देशकको रूपमा काम गर्न पाउँदा खुसी छु । स्वागत छ नेपालमा ।’
निर्देशक भट्टको निर्देशनमा निर्माण तयारी गरेको यो चलचित्र आगामी वर्षको दसैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ । चलचित्रका लागि सुनिलले १० दिन सुटिङमा समय दिनेछन् । उनको पार्टको केही अंश नेपालमा र केही अंश स्कटल्याण्डमा छायांकन हुने बताइएको छ ।
चलचित्रमा अनमोल केसी, अनुपविक्रम शाही, नविन लम्साल, राज कटवाल, प्रियंका थापा, पुष्प खड्का लगायतका कलाकारले अभिनय गर्नेछन् । एक्सन जनरामा बन्न लागेको यो चलचित्रमा अनमोल एक्सन स्टारका रूपमा देखिने छन् ।
चलचित्रको छायांकन तिहारपछि सुरु हुने छ । यो चलचित्रमा सुनिल खलनायकको भूमिकामा देखिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।