मौसमबारेको सूचना किसानसम्म किन पुग्न सकेन ?

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीका कृषक घुम्मन चौधरीले केही दिन अगाडि झण्डै डेढ बिघामा धान काटे । सुकाउनका लागि राखिएको धान उठाउन नपाउँदै राति पानी पर्‍याे । 

तीन दिनको अविरल वर्षाका कारण धान खेतमै कुहिन थाल्यो । यतिमात्र नभएर लगातारको वर्षाका कारण पूरै खेत डुबानमा परेपछि धानसमेत बगाएर लग्यो । अहिले उनीसँग एक मुरी जति आउने धानसमेत छैन । सबै बाढीले बगायो । अब उनलाई एकातिर धान लगाउन निकालेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ भने अर्कोतिर वर्षभरि आफ्नो परिवारले कसरी गुजारा गर्ने भन्ने पिरलाे परेकाे छ ।

चाैधरीले असोजको अन्तिमतिर भारी वर्षा भएर पूरै बाली सखाप पार्न सक्छ भन्ने कल्पनासमेत गरेका थिएनन् । वर्षा हुनेबारे जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो । विभागले गरेको पूर्वानुमानबारे चौधरी जानकार भए सायद धान नै काट्ने थिएनन् । न उनले पानी पर्न सक्छ भन्ने कल्पना गर्न सके, न त विभागले गरेको पूर्वानुमानबारे जानकारी पाए । जसले गर्दा उनले ठूलो क्षति व्यहाेर्नुपर्‍‍याे ।

यसरी वर्षा हुनेबारे पूर्व जानकारी नपाउँदा देशभर ठूलो धनजनको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार अहिलेसम्म १०१ जनाको मृत्यु भइसकेको छ । अझै ४१ जना बेपत्ता भएका छन् भने करोडौं बराबरको क्षति पुगेको छ । किसानले लगाएको धानबाली नष्ट भएको छ । 
किसानहरूले वर्षाबारे पूर्व जानकारी नपाउँदा ठूलो क्षति हुन पुग्यो । 

मौसम पूर्वानुमान महाशाखाले वर्षाबारे पूर्व जानकारी गराएको थियो । महाशाखाले असोज २४ गते जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको थियो । त्यही आधारमा सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको थियो । 

भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको प्रभावले नेपालमा भारी वर्षा भएको थियो । जसबारे महाशाखाले पहिला नै सचेत गराइसकेको थियो । तर, महाशाखाले गराएको सचेतना न लक्षित किसानसम्म पुग्न सक्यो, न त राज्यले त्यसबाट जोगिने उपाय नै अबलम्बन नै गर्न सक्यो । 



नेपालमा प्राकृतिक प्रकोपजन्य क्रियाकलापबारे काम गर्ने विभिन्न सरकारी निकाय छन् । त्यसमा गैरसरकारी निकायहरू पनि सक्रिय छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, नेपाल विपद् व्यवस्थापन पोर्टल छन् । त्यस्तै प्रत्येक प्रदेशमा प्रदेश विपद् व्यवस्थापन परिषद्, प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति लगायतका सरकारी निकाय सक्रिय छन् । 



अहिले संघीय संरचनाअनुसार वडा तहमा समेत विपद् व्यवस्थापन तथा पूर्वतयारी गर्ने निकाय पनि सक्रिय छन् । तर, कुनै पनि निकायले न अहिलेको वर्षाबारे जानकारी पाए, न त किसानलाई नै सचेत गराउन सके । 

त्यस्तै सुरक्षा निकायमा पनि विपद् व्यवस्थापनबारे छुट्टाछुट्टै संयन्त्रको विकास भएको छ । यस्तै नेपाल रेडक्रस, युनिसेफ, निड्स जस्ता गैरसरकारी संघ संस्थाहरू पनि विपद् व्यवस्थापन तथा न्यूनीकरणमा सक्रिय छन् । 

विपद् व्यवस्थापनको क्षेत्रमा खानी तथा भूगर्भ विभाग, बाढीबारे सूचना दिने नेपाल बाढी सूचना जस्ता निकाय पनि सक्रिय छन् । अहिलेसम्म पहिरोबारे पूर्व सूचना दिने संयन्त्रको मात्र विकास हुन सकेको छैन । 

यतिमात्र नभएर सरकारले समग्र विपद्लाई एकद्वार प्रणालीमार्फत काम गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नै बनाएको छ । जसको अध्यक्ष नै प्रधानमन्त्री हुने कानुनी व्यवस्था छ । २०७६ सालमा स्थापना भएको प्राधिकरण अहिले आफैं शिशु अवस्थामा छ । 

यसरी प्राकृतिक विपद्का क्षेत्रमा काम गर्ने धेरै निकाय छन् । तर पनि हरेक वर्ष धेरै जनाले ज्यान गुमाउने गरेका छन् भने करोडौं बराबरको भौतिक क्षति हुने गरेको छ ।
 
यसको पछाडि थुप्रै कारण हुनसक्ने वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटा बताउँछन् । सम्बन्धित निकायले जारी गरेको सूचना लक्षित वर्गसम्म नपुग्दा ठूलो क्षति पुगेको उनको भनाइ छ ।

‘महाशाखाले वर्षाबारे त सूचना दिइसकेको थियो । तर, त्यो सूचना किसानसम्म समयमै पुग्न नसकेको देखियो’, उनले भने,‘समयमै सूचना किसानसम्म पुगेको भए किसानले धान काट्ने थिएनन् होला, काटे पनि समयमै व्यवस्थापन गरिसक्थे ।’

त्यसका लागि लक्षित समूह पनि अलि चनाखो भएर बस्नुपर्ने उनको भनाइ छ । ‘मौसमबारे आम नागरिक पनि अलि चनाखो भएर बस्नुपर्छ । सरोकारवाला निकायले पनि समयमै सूचना दिनुपर्छ’, उनले भने । 

प्राकृतिक विपद्सम्बन्धि काम गर्ने निकायले पनि केन्द्रदेखि स्थानीय तहसम्मका सबै सक्रिय भएर सही समयमा सही सूचना दिन सकियो भने यस्तो प्रकारको क्षति कम गर्न सकिनेमा उनी जाेड दिन्छन् । 

प्राकृतिक विपद्को अन्त्य गर्न नसकिने तर, कम भने गर्न सकिने उनको भनाइ छ । आम नागरिक पनि यस्तो विषयमा गम्भीर नदेखिएकोमा उनले चिन्ता व्यक्त गरे । वडा स्तरबाट नै यसबारे सचेतना फैलाउन सकियो भने मात्र जोखिम न्यूनीकरण गर्न सकिने बाँस्कोटाकाे भनाइ छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले प्राकृतिक विपदबारेका सबै सूचना समयमै सार्वजनिक भइरहेको बताए । 

उनी भन्छन्, ‘हाम्रा निकायबाट सबै सूचना समयमै सार्वजनिक भइरहेका छन् । हामीले पटक-पटक सचेत गराउँदै आएका छौं । तर, आम नागरिक नै सचेत हुँदैनन् । आफैं सचेत र चनाखो नहुँदा त्यसको असर स्वयमले भोग्नुपरेको छ ।’ 

राज्यले प्राकृतिक विपद्जन्य घटना न्यूनीकरण गर्न नयाँ-नयाँ प्रविधिको प्रयोग गरिरहेको पाेखरेलकाे भनाइ छ । 
 

  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार ६:४२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया